|

सोलुखुम्बु : अधिक चिसो भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका बस्ती रित्तिएका छन्। ​पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो छल्न बाहिरिन थालेका छन्।  

स्थानीय दामु शेर्पाका अनुसार सो क्षेत्रका करिब ७० प्रतिशत व्यवसायी तथा सर्वसाधरणले खुम्बु छाडिसकेका छन्। उनीहरु बढीजसो काठमाडौं र कतिपय तीर्थयात्रामा भारतको बुद्धगैयालगायतका क्षेत्रमा जाने गरेका छन्। अधिकांश व्यवसायी तथा स्थानीय बाहिरिएसँगै खुम्बु क्षेत्र सुनसान बनेको लुक्लाका तोया श्रेष्ठले बताए।
 
उनका अनुसार पर्यटकीय याम चलिरहँदा पर्यटकले खचाखच हुने खुम्बुको विमानस्थल, होटल लज, क्याम्पिङ साइट तथा दृश्यावलोकन गर्ने स्थल अहिले सुनसान बनेका छन्। नाम्चेका लामाकाजी शेर्पाले सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चे, गोक्यो, कालापत्थर, एभरेष्ट बेस क्याम्पलगायतका ठाउँ सुनसान बनेपछि व्यवसायी घरेलु कामदारलाई होटल छाडेर अन्यत्र गएको बताए। 

केही होटल पसल खुला भए पनि व्यवसायीको जनजीवन कष्टकर बनेको छ। यामको बेला दैनिक १०० भन्दा बढी हवाइ उडान हुने लुक्लामा अहिले दैनिक पाँच–छवटा मात्रै उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय लुक्लाको तथ्याङ्क छ। भौगोलिक विकटता तथा उच्च हिमाली क्षेत्र भएकाले जाडो महिनामा यस भेगमा एकछिन पनि बस्न नसकिने र वर्षमा छ महिनामात्र बसोबास गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन्। उच्च हिमाली क्षेत्र भएकाले पर्यटकीय याममा मात्र बस्ने गरेको होटल व्यवसायीको भनाइ छ।

चिसो अत्यधिक बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सर्वसाधरण आगो तापेर समय बिताउने क्रम बढेको छ। चिसोबाट बच्न बालबालिकादेखि वृद्धवृद्धासम्म सडकमा आगो तापेर बस्न थालेका हुन्। चिसोले विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेको सल्लेरीका दावा शेर्पाले बताए। हावापानी मापन केन्द्र सल्लेरीका नवराज पराजुलीका अनुसार पछिल्लो एक सातायता सल्लेरीको तापक्रम निरन्तर माइनसमा गएको छ। 

मंगलबार सल्लेरीको तापक्रम माइनस दुई डिग्री सेल्सियस मापन गरिएको उनले बताए। उनका अनुसार उक्त तापक्रम जिल्लामा यस वर्षकै कम हो। सल्लेरी बजार क्षेत्रसहित आसपासका धेरैजसो स्थानमा मानिसले आगो तापेर समय बिताउने गरेका छन्। घरभित्र बस्दासमेत चिसोले कठ्याङ्ग्रिन थालेपछि सडकमा आगो बालेर बस्न थालेको नयाँ बजारकी सूर्यकुमारी राजभण्डारीले बताइन्।

‘वृद्धवृद्धालाई झन् धेरै गाह्रो भयो, अरु उमेरका मानिसले त चिसो पचाउला तर अलिक बूढापाकालाई समस्या भयो’, उनले भनिन्, ‘चिसोले राति सुत्दासमेत कठ्याङ्ग्रिन थालेको छ, खै सल्लेरीमै यस्तो छ झन् माथिल्लो क्षेत्रमा त के होला अवस्था, यो वर्ष धेरै चिसो भयो।’ अधिक चिसोका कारण व्यवसाय सञ्चालन गर्नसमेत कठिन भएको सल्लेरीमा टेलरिङ व्यवसाय गर्ने खड्गबहादुर हिङ्माङले बताए।

जिल्लाको माथिल्लो क्षेत्रको जनजीवन चिसोले अझ धेरै प्रभावित बनेको छ। हिमाली क्षेत्र नाम्चे, लुक्ला, फाक्दिङलगायतका स्थानमा चिसोले दैनिकी कष्टकर बनेको स्थानीय आङफुर्वा शेर्पाले जानकारी दिए। यसका कारण अन्य काम वस्तुभाउको स्याहार गर्न, घाँसपात गर्नसमेत समस्या भएको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.