|

सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका मुक्लीमा स्थित ऐतिहासिक ओगानेम (दरबार) क्षेत्रको अध्ययन अनुसन्धान सुरु भएको छ। गाउँपालिकाको वडा नम्बर ६ मुक्लीमा रहेको उक्त ऐतिहासिक ओगानेम दरबार क्षेत्रको आधिकारिक रुपमा अध्ययन सुरु भएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए। 

गाउँपालिकाको सभाहलमा सोमबार एक कार्यक्रमबीच उक्त दरबार क्षेत्रको अध्ययन अनुसन्धान तथा पर्यटन विकास विषयक अन्तरक्रियासमेत गरिएको थियो।

पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृत विद् तथा राष्ट्रिय नाच घरका अध्यक्ष डा चन्द्र हतुवाली र पर्यटनविद् तथा लुम्बिनी विकास समितिका सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राईले सहजीकरण गरेका थिए।

थुलुङहरुको उद्गम थलोको रुपमा लिइने मुक्लीमा ऐतिहासिक ओगानेम दरबारको भग्नावशेष रहे पनि यसको विस्तृत अध्ययन नहुँदा ओझेलमा परेको स्थानीय अगुवा जगत बहादुर राईले बताए।

खनजोत गर्ने क्रममा दरबार निर्माणमा प्रयोग भएका ढुंगा तथा केही महत्वपुर्ण भग्नावशेष फेला परेपनि यसबारे अध्ययन नभएको अर्का स्थानीयवासी अगुवा तथा पूर्व शिक्षक धनकुमार राईले बताए। “हामीले नै दरबारको गाह्रो देखेका हौँ, खनजोत गर्दा कुँदिएका ठूला ठूला ढुंगाहरु भेटियो, अन्य सामाग्रीसमेत पाइन्थ्यो।” अगुवा तथा पूर्वशिक्षक धनकुमार राईले भने, “रामलीहाङ राजा र ओगानेम दरबारको बारेमा धेरै सुनेको भएपनि आधिकारीक अध्ययन थिएन अब सुरु भयो हामी सबै एक भएर लागौँ।”

समाजसेवी, पूर्व शिक्षक तथा थुलुङ अगुवा धन्दीराम राईले दरबार क्षेत्र र त्यस आसपासको जग्गाको अवस्था हेर्दा र पुर्खाको कुराहरु सुन्दा मिल्दोजुल्दो पाइएको बताए। उनले भने, “त्यो बेलाका सेनाहरुले परेट खेल्ने लगायतको ठाउँहरु देखिएको भएपनि पछिल्लो सयम यसको संरक्षण अभावमा नष्ट हुँदै गयो।”

थुलुङ राई संस्कृति प्रतिष्ठानका अध्यक्ष निर्कुधन राईले विभिन्न शब्दाबली देखि अन्य धेरै क्षेत्रहरुमा अपभ्रंस हुँदै गएकाले अध्ययनको पाटोलाई फराकीलो बनाउनुपर्ने सुझाव दिए।  

पाँचौँ शताब्दीसम्म रामलिहाङ राजाले सत्ता सञ्चालन गरेको भन्ने सुनेको थुलुङ अगुवा अचम्म सिं राईले बताए।

यस्तै थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले लुम्बिनीमा बुद्धिष्ठहरु, पसुपतिक्षेत्रमा हिन्दुहरुको केन्द्र भएजस्तै थुलुङराईहरुको केन्द्र थुलुङ दुधकोशीको मुक्ली हुने विश्वास व्यक्त गरे। ऐतिहासिक ओगानेम दरबार क्षेत्रको अध्ययनले इतिहासको दस्ताबेजीकरण संगै राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटक भित्र्याउन मद्दत गर्ने  भन्दै अध्यक्ष राईले यसको विकासमा सबैको भूमिका सकारात्मक हुनुपर्नेमा जोड दिए।

पर्यटन मन्त्रालयको पहिलो नजर

यसअघि पनि ओगानेम दरबारसम्बन्धी केही अध्ययनहरु सार्वजनिक भए पनि सरकारी तवरबाट अध्ययन सुरु गरिएको यो पहिलो हो । थुलुङ दुधकोशी गाउँपालिकाले चालु आर्थिक वर्षमा रु २० लाख बजेट नै व्यवस्था गरि यसको खोज तथा अनुशन्धान गर्ने कार्यक्रम निर्माण गरेको थियो।

यस्तै गाउँपालिका अध्यक्ष असिम राईले स्थानीय सरकारसंगै संघीय सरकारको समेत ध्यानदृष्टि पुग्नुपर्ने भन्दै मन्त्रालयको ढोका ढक्ढक्याएको बताए। जसको फलस्वरुप यस वर्ष पर्यटन मन्त्रालयले १० लाख बजेट व्यवस्था गरेर अध्ययन सुरु गरेको छ।

पुरातत्व विभागसँगको सहकार्यमा मन्त्रालयले समेत काम सुरु गरिसकेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए। एक टोलीले केही दिनअघि मात्रै स्थलगत अध्ययन गरेको पनि उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.