|

सल्यान : सल्यान बागचौर नगरपालिका–९ कुइयापानीस्थित सूर्यप्रकाश आधारभूत विद्यालयका विद्यार्थी पढाइसँगै परम्परा र संस्कृति संरक्षणमा जुटेका छन्। कक्षा ६ देखि ८ सम्मका विद्यार्थी समाजमा हराउँदै गएको मयूर (स्यरिंगे) नाच संरक्षणमा जुटेका हुन्।

मयूर नाच लोप हुन लागेको संस्कृति हो। यसको महत्त्व बुझेर साना बालबालिकाबाटै संस्कृति संरक्षणमा अग्रसर गराउनुपर्छ भनेर जगेर्नामा जुटेको विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर वलीले बताए। उनले भने, ‘आधुनिकताले हाम्रा लोक संस्कार र संस्कृति मासिदै गएको छ। कुनै फाइदा नहुँदा त त बाबुबाजेको संस्कृति बचाएर हामीलाई नासोको रूपमा दिनुभयो। आधुनिकताले च्यापेका वेला संस्कृति संरक्षणमा हामी जुटेका छौँ।’ 

पढाइसँगै मयूर नाचलाई पनि निरन्तरता दिइरहेको विद्यार्थी संगीता वलीको भनाइ छ। पढाइसँगै संस्कृति जोगाउन अग्रसर भएको उनको भनाइ छ। उनले भनिन्, ‘मयूर नाच देखाउँदा सबैले सम्मान गर्नुहुन्छ। परम्परागत पोशाकसँगै आफ्नो प्रतिभा देखाउन पाउँदा निकै खुसी लाग्छ।’

चोली, गुन्यु, पटुकी, गर्वा लगाएर नाच्दा संस्कृतिको संरक्षणसँगै आफ्नो कलाले देखाउन पाइने प्रेमा डाँगीको भनाइ छ।

संस्कृति जोगाउनुपर्छ भनेर कक्षा ६ देखि ८ सम्मका सबै विद्यार्थीलाई मयूर नाच सिकाएको शिक्षक तथा मयूर नाचका अगुवा चेतबहादुर बुढाथोकीले बताए। युवा पिढीलाई नाच सिकाउन नसके पुराना परम्परागत संस्कृति हराएर जाने भएपछि विद्यालय स्तरबाटै संस्कृति संरक्षण गर्न सिकाउनुपर्छ भनेर एक वर्ष अघिदेखि सबै विद्यार्थीलाई सिकाउन थालिएको उनको भनाइ छ।

उनले भने, ‘पुरानो संस्कृति युवा पिढीमा पुस्तान्तरण पनि हुने विद्यालयलाई आम्दानीको स्रोत पनि हुने गरेको छ।’

गाउँघरमा मयूर नाच देखाउन ४–५ हजार रुपैयाँ लिने र अलि टाढा जानु परे ७–८ हजार लिने गरेको उनले बताए। उनले भने, ‘हामीले यति नै हो भनेर तोकेर पैसा लिँदैनौँ, सामान्यतया ४ हजारदेखि ८ हजारसम्म दिने गर्नु भएको छ।’

मयूरको प्वाँख पछाडि राखेर नाचिने नाच समाजमा निकै आकर्षक नाचका रूपमा परिचित छ। मयूरका प्वाँख पछाडि राखेर नाचिने भएकाले यसलाई कतिपयले गर्वा नाच पनि भन्छन्। गीतबाट नभई मादल र अगुवाको तालमा नाचिने यो नाच विस्तारै हराउँदै जान थालेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.