|

 चर्चित गायिका टेलर स्विफ्टको सांगीतिक यात्रा 'द इरास टुर' ले गर्दा अस्ट्रेलियाका स्टेज मात्र नभएर अर्थतन्त्र पनि तताउन थालेको छ। फेब्रुअरी १६ देखि २६ तारिखसम्म अस्ट्रेलियामा रहने गायिका स्विफ्टका सांगीतिक कार्यक्रमले अस्ट्रेलियामा १ अर्ब २५ करोड डलर (झन्डै डेढ खर्ब नेपाली रुपैयाँ) बराबरका आर्थिक गतिविधि हुने अनुमान गरिएको छ। 

गायिका स्विफ्ट आफ्नै निजी जहाजमा आफ्नो सांगीतिक टोली लिएर अस्ट्रेलिया आएकी हुन्। हालै फेब्रुअरी १६ मा मेलबर्नको एमसीजीमा गायिका स्विफ्टलाई सुन्न १ लाख दर्शक रंगशाला पुगेका थिए। अस्ट्रेलियामा रहँदा उनले थुप्रै स्थानमा कन्सर्टहरू गर्ने तालिका तय भएको छ। एक जना दर्शकले सरदर ९ सय अस्ट्रेलियाली डलर खर्च गर्ने अनुमान गरिएको आरएमआईटी युनिभर्सिटीमा फाइनान्स विषयका प्रोफेसर एन्जेल झोङले अनुमान गरेका छन्। 

द इरास टुर नाम दिइएको स्विफ्टको सांगितिक यात्राका क्रममा पाँच महादेशमा ६० स्थानमा कन्सर्ट आयोजना गरिनेछ। अमेरिकी गायिका स्विफ्टको सांगितिक यात्रा केही महिना अघि अमेरिकाबाट सुरु भएको हो। 

अस्ट्रेलियामा स्विफ्टको कन्सर्टका लागि टिकट पाउन हम्मे छ। यद्यपि उनको कार्यक्रममा सहभागी हुन चाहनेहरूको संख्या उल्लेख्य छ। अस्ट्रेलियन राज्य न्यु साउथ वेल्समा मात्र टेलर कन्सर्टका कारण झन्डै १४ करोड डलरको आर्थिक कारोबार हुने अनुमान छ। कन्सर्टमा सहभागी हुन नजिकका राज्यहरूबाट पनि हजारौंको संख्यामा मानिसहरू पुग्ने गरेका छन्। यसले होटल र खानेकुरामा पनि उनीहरूले खर्च गर्नुपर्नेछ। 

अस्ट्रेलियामा बसोबास गरिरहेकाहरूले टिकट महँगोमा बिक्री हुने गरेको छ। अत्यधिक मागका कारण प्रारम्भिक बिक्रीमा छुटेकाहरूका लागि लास्ट मिनेट टिकट रिलीज र रिसेलका विकल्प छन्। तर यसरी टिकट किन्दा महँगो हुने गरेको छ। 

अस्ट्रेलियामा स्विफ्टको पहिलो कन्सर्ट मेलबर्नमा १६ तारिकमा भएको थियो। पहिलो कन्सर्टको एक दिन अगाडि टिकट किन्नेहरूको भिड लागेको छ। महँगोमा टिकट किनेरै भएपनि अस्ट्रेलियाबासीहरू टेलर स्विफ्टलाई सुन्न लालायित छन्। 

मेलबर्न कन्सर्टमा अस्ट्रेलियाका वृद्धवृद्धाहरूलाई पनि उत्साहित गरेको थियो। कार्यक्रममा स्विफ्टले टिकटकर ओलिभर मिल्सलाई आश्चर्यचकित पारेकी थिइन्। मिल्सलाई भीडबाट निकालेर स्विफ्टले अँगालो हालिन्। उनले बनाएका भिडियोको प्रशंशा गरिन्। मिल्सले उक्त भेटलाई 'जीवनको सबैभन्दा ठूलो क्षण' भनी उल्लेख गरेका छन्। अप्रत्याशित अन्तरक्रियाले स्विफ्टको प्रशंसकहरूको समर्थन र रचनात्मकताको लागि उनको प्रशंसा भएको थियो। 

फेब्रुअरी १६, १७ र १८ मा मेलबर्नस्थित मलबर्न क्रिकेट ग्राउन्ड तताएकी स्विफ्टले फेब्रुअरी २३, २४, २५, २५ मा सिड्नी तताउनेछिन्। अस्ट्रेलियाका कन्सर्टमा उनलाई साब्रिना कार्पेन्टरले साथ दिइरहेकी छन्। उनका प्रत्येक कन्सर्टमा १ लाख जनाभन्दा बढीले सहभागिता जनाउने अनुमान गरिएको छ। 

स्विफ्ट कन्सर्टका थुप्रै उत्साहजनक कुरा भए पनि दुखद् घटना पनि भएको छ। बिहीबार मेलबर्न कन्सर्टमा सहभागी हुन  जाँदै गरेकी एक जना १६ वर्षिया किशोरीको दुर्घटनामा परी मृत्यु भएको छ। कन्सर्टमा सहभागी हुन आमाले चलाएको गाडीमा बसेकी मिका पोकारिअरको मृत्यु भएको हो। उनकी १० वर्षीया बहिनीको गम्भीर घाइते अवस्थामा उपचाररत छिन्। चालक आमालाई पनि सामान्य चोट लागेको थियो। 

गायिका स्विफ्टको सांगितिक यात्राले अमेरिकी राजनीतिसम्म प्रभाव पारेको विश्लेषण हुन थालेको छ। टुरपछि स्विफ्टको आर्थिक अवस्था थप मजबुत बन्ने आकलन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.