|
प्रतीकात्मक तस्विर

काठमाडौं : राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टी घाटामा चलेको देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको आयव्ययको विवरणमा मात्रै नाफा देखाइएको छ। 

मंगलवारको गोरखापत्र दैनिकमा समाचार छ, घाटामा चलेको विवरण देखाएका दलले मोटो रकम मुद्दती निक्षेपमा राखेका छन्। कांग्रेस र  माओवादी केन्द्र ले समेत सञ्चित राखे पनि बचतमा घाटा देखाएको छ।

निर्वाचन आयोगमा राजनीतिक दलले बुझाएको आव २०७९\८० को वार्षिक आयव्ययको विवरण अनुसार सङ्घीय संसद्को दोस्रो ठूलो दल एमालेले मुद्दती निक्षेपमा १० करोड रुपैयाँ जम्मा गरेको छ। त्यसबाहेक एमालेले चार वटा कोषमा करिब पाँच करोड १३ लाख २२ हजार रुपैयाँ रहेको जनाएको छ। तर आयभन्दा खर्च बढी भएको विवरणमा उल्लेख गरेको छ।

आयोगमा बुझाइएको विवरणमा नेकपा एमालेले जम्मा आय करिब आठ करोड ९७ लाख २२ हजार रहेको जनाएको छ। सो दलले आव २०७९र८० मा ११ करोड ६० लाख खर्च भएको उल्लेख गरेको छ।  आव २०७८\७९ मा भने सो दलको कुल आय २२ करोड ८० लाख रहेको थियो। जम्मा खर्च २१ करोड ७९ लाख थियो। 

नेपाली कांग्रेस र माओवादी केन्द्रले समेत सञ्चित राखे पनि बचतमा घाटा देखाएको छ। सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले २०७९\८० मा तीन करोड ६४ लाख ७६ हजार आम्दानी देखाएको छ। अघिल्लो आवको कांग्रेसको आम्दानी ११ करोडले घटेको छ। कांग्रेसको कुल खर्च सात करोड ९९ लाख छ। अघिल्लो आवमा कांग्रेसको कुल खर्च करिब १८ करोड थियो। कांग्रेसले चार करोड ३५ लाख घाटामा रहेको जनाएको छ। तर अल्पकालीन लगानी शीर्षकमा दुई करोड छ। 

आव २०७९\८० मा सबैभन्दा बढी आम्दानी गर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि हो। पहिलो निर्वाचनबाटै राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सफल रास्वपाले २०८० असारसम्म छ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ।  सो दलको जम्मा खर्च करिब पाँच करोड आठ लाख छ। कर्जासहितको खुद बचत एक करोड ४५ लाख ४७ हजार रहेको रास्वापाले बुझाएको विवरणमा उल्लेख छ।  

सत्ता नेतृत्व गरेको माओवादी केन्द्रले भने आव २०७९\८० मा तीन करोड ४८ लाख ४१ हजार आम्दानी गरेकोमा तीन करोड ८१ लाख खर्च गरेको छ। सो दलले बुझाएको विवरण अनुसार करिब ११ करोड रुपैयाँ विभिन्न कोष र सञ्चय शीर्षकमा राखिएको छ। माओवादी केन्द्रले विशेष तथा कर्मचारी कोषमा एक करोड ६७ लाख तथा सञ्चित शीर्षकमा नौ करोड ५५ लाख राखेको छ। राप्रपाले आव २०७९\८० मा आठ करोड ४९ लाख ६९ हजार आम्दानी गरेको छ। पार्टीले बुझाएको विवरण अनुसार करिब सात करोड ६५ लाख रुपैयाँ सोही अवधिमा खर्च भएको छ। 

आव २०७८\७९ मा भने राप्रपाको आम्दानी तीन करोड २१ लाख थियो। सोही अवधिमा खर्च भने दुई करोड ५७ लाख थियो। जसपा नेपालले आव २०७९\८० सम्म जम्मा आम्दानी मौज्दात विवरणमा एक करोड तीन लाख रुपैयाँ उल्लेख गरेको छ।

आयव्ययको विवरण बुझाएका दलमध्ये जनमत पार्टीको हिसाबकिताब रोचक देखिन्छ। आव २०७८\७९ मा एक करोड ७० लाख व्यक्तिविशेषबाट लिएर कर्जा देखाएको जनमत पार्टीको आव २०७९\८० मा समेत एक करोड २० लाख व्यक्तिगत सापटीका आधारमा कर्जा देखाएको छ। सो पार्टी करिब दुई करोड ८३ लाख ७१ हजार रुपैयाँ घाटामा रहेको जनाएको छ। अघिल्लो वर्ष जनमतको घाटा एक करोड ६१ लाख थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.