|

सल्लेरी : पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ। गत माघ २२ गतेको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् ठप्प भएको हो। 

अहिले यो क्षेत्रमा सञ्चार सेवा ठप्प छ। एटीएम सेवासमेत प्रभावित बनेको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक कविन राईले बताए। अधिकांश विदेशी नगदका लागि एटीमएममा निर्भर हुने भएकाले समस्या भएको पर्यटन व्यवसायी बताउँछन् ।

नाम्चेमा विद्युत सेवा नभएपछि सो क्षेत्रमा पुगेका आफूहरूसमेत समस्यामा परेको प्रहरी निरीक्षक राईले जानकारी दिए। ‘हाम्रो सञ्चार सेवा पनि अहिले अवरुद्ध छ। विद्युत् नभएर मोबाइल चार्ज गर्न नपाएर सबै ठप्प छ’, उनले भने, ‘जिल्लामा रिपोर्टिङ गर्नका लागि अहिले एक दिनको पैदल दूरीमा पर्ने लुक्ला झर्नुपर्ने बाध्यता छ।’

विद्युतको यो समस्या समाधान गर्न अझै ८-१० दिन लाग्ने खुम्बु बिजुली कम्पनीका कर्मचारी सोनाम दोर्जी शेर्पाले बताए। जमिनमाथिको भागको लाइन मर्मतमा समस्या नरहे पनि जमिनमुनिको तारमा समस्या देखिएको उनले बताए। चिसोका कारण जमिन जमेकाले तार फुट्ने तथा भाँचिने गरेकाले समस्या भएको उनले जानकारी दिए।

‘हामी प्रयासरत छौँ। हावाहुरीले रुख ढाल्दा खुम्बु भ्याली र नाम्चे भ्याली क्षेत्रको छ-सात ठाउँको लाइनमा क्षति पुगेको थियो’, उनले भने, ‘जमिनमाथिको तारको समस्या समाधान भयो। तर जमिनमुनिको तारमा देखिएको समस्या हल हुन समय लाग्यो। समस्या समाधान हुन अझै करिब ८-१० दिन लाग्छ।’ 

जमिनमुनिको करिब ७५० मिटर तार फेर्नुपर्ने कम्पनीले जनाएको छ। काठमाडौँबाट खुम्बु तार ढुवानी गर्न लैजान सिलिङ उडानका लागि नेपाल नागरिक उड्डययन प्राधिकरणसँग समन्वय गरिरहेको कम्पनी कर्मचारी शेर्पाले जानकारी दिए। विद्युत् अवरुद्ध हुनेबित्तिकै टेलिफोन सेवासमेत अवरुद्ध हुँदा खुम्बु–काठमाडौँ सम्पर्कमा समस्या भएको उनको भनाइ छ।

सन् १९९३ मा निर्माण गरिएको ९३० किलोवाट क्षमताको उक्त खुम्बु बिजुली कम्पनीको नौ सय ४० घरधुरी उपभोक्ता छन्। 

अहिले दैनिक १०० को हाराहारीमा विदेशी पर्यटक खुम्बु पुग्ने गरेको पर्यटक प्रहरी कार्यालय नाम्चेको तथ्यांक छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.