डेढ घण्टाअघि मारिएका थिए रणबहादुर

|

  • विकास डाँगी-

दाङः दाङको तुलसीपुरबाट अपहरणमा परेका व्यापारी राजकुमार श्रेष्ठको शव २१ दिनपछि असार १६ गते सल्यान छत्रेश्वरी गाउँपालिका– ४, झिम्पेरेन्जको लेक भञ्ज्याङस्थित जंगलमा फेला पर्‍यो। अपहरणपछि हत्या भएको खुलेपछि सुरुमा पक्राउ परेका अभियुक्तहरूको बयान लिइसकेपछि उनीहरूलाई सार्वजनिक गर्दै प्रहरीले व्यापारी श्रेष्ठको अपहरणमा युवतीको प्रयोग गरेको निष्कर्षमा प्रहरी पुगेको बताएको थियो। 

प्रहरीले सुरुमा तुलसीपुर उपमहानगरपालिका– ६, स्याउली बजारकी १८ वर्षकी युवती पूजा घर्ती र उनका बाबु ४० वर्षका टीकाराम घर्तीको योजनाअनुसार व्यापारी श्रेष्ठको अपहरण र त्यसपछि हत्या भएको बताएको थियो। तर मंगलबार प्रहरीले घटनाका मुख्य योजनाकार तुलसीपुर– ८ का २८ वर्षका भूपेन्द्र भण्डारी र तुलसीपुर– ११ कटाहाका ३० वर्षका खुमबहादुर केसी, टीकाराम र उनकी छोरी पूजा तथा सल्यान झिम्पे– ४ का ३५ वर्षका मानबहादुर भण्डारीलाई पक्राउ गरेर सार्वजनिक गरेपछि व्यापारी श्रेष्ठको अपहरण र हत्याकाण्डको यथार्थ पर्दाफास भयो।

को हुन् राजकुमार श्रेष्ठ?
तुलसीपुरमा कपडा व्यापार गर्दै आएका ६० वर्षका व्यापारी तथा समाजसेवी राजकुमार श्रेष्ठ जेठ २६ गते अपहरणमा परेका थिए। लामो समयदेखि तुलसीपुरमा कपडा पसल गर्दै आएका व्यापारी श्रेष्ठका एक श्रीमती, दुई छोरा र दुई छोरी छन्। 

श्रेष्ठ तुलसीपुरमा व्यापारसँगै विभिन्न संघसंस्था तथा समाजिक कार्यमा पनि अग्रसर थिए। उनी तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष र रोटरी क्लब तुलसीपुरका संस्थापक अध्यक्षसमेत हुन्। श्रेष्ठले तुलसीपुर क लाइन वि.पी. चोकस्थित बुटवल बस्त्रालय र बसपार्क जाने बाटोमा आफ्नै निवासमा अर्काे पसल संचालन गर्दै आएका थिए।

यसरी भयो श्रेष्ठको अपहरण
२०७४ जेठ २६ गते साँझ श्रेष्ठ रोटरी क्लब तुलसीपुरको बैठकमा सहभागी हुन भनी घरबाट हिँडेका पारिवारिक स्रोतले बताएको थियो। सोही दिन साँझ पूजाले श्रेष्ठलाई सल्यान घुम्न जाऊँ भनेर प्रस्ताव राखेको र त्यो प्रस्ताव उनले सजिलै स्वीकार गरेको प्रहरीसँगको बयानमा पूजाले बताएकी छन्। 

व्यापारी श्रेष्ठसँग फेसबुकमार्फत् चिनजान भएको र त्यसपछि उनको बुटवल बस्त्रालयमा कपडा किन्न जाँदा भेट हुने गरेको बताएकी छन्। प्रहरीसँगको बयानका क्रममा पूजाले आफैँले नै व्यापारी श्रेष्ठलाई डेटिङ जाऊँ भनेर बोलाएर लिएर गएर अपहरण गराएको प्रहरीले बताएको छ। 

‘झण्डै डेढ महिनाअघिदेखि कुराकानी हुन्थ्यो, पछि मैले आज सल्यान घुम्न जाऊँ न भनेर प्रस्ताव राखेँ’, बयानमा पूजाले भनेकी छन्, ‘श्रेष्ठले हुन्छ भनेपछि हामी तुलसीपुरबाट सल्यानतर्फ हिँडेका हौँ। योजनाअनुसार बीच बाटोबाटै अपहरण गरिएको हो।’ 

जेठ २६ गते राती राजकुमार श्रेष्ठलाई अपहरण गर्ने योजनाअनुसार अपहरणकारीको समूह सल्यानको कपुरकोटभन्दा केही किलोमिटर माथि बाटोमा कुरेर बसिररहेको थियो। तुलसीपुरबाट व्यापारी श्रेष्ठ र तुलसीपुर उपमहानगरपालिका– ६, स्याउली बजारकी १८ वर्षकी पूजा घर्ती मगर चढेको कार सल्यानतिर आइरहेको थियो। अपहरणकारी कुरेर बसिरहेको ठाउँ नजिकै कार आइपुगेको सूचना आयो। अपहरणकारीको समूह बाटोमा झर्‍यो र आइरहेको कारलाई रोक्यो। त्यो थियो, भारतीय नम्बर प्लेटको एचपी ११८६४८ नम्बरको कार। 

अपहरणकारीले व्यापारी श्रेष्ठ चढेको कार नै भएको भन्ने ठानेर रोके। सोही गाडीमा सवार थिए, घोराही हापुरका रणबहादुर घर्तीमगर। कार रोक्ने समूहमा आफूसँगै घोराहीको कारागारमा बसेका साथी नरेन्द्र विक र जयप्रकाश भनिने पूर्णबहादुर वलीलाई देखेपछि ओर्लिएर ‘हामी त सँगै जेल बसेका साथी हौँ नि चिन्नु भएन?’ भन्दै बाटो छोडिदिन आग्रह गरेका थिए। रणबहादुर सवार कारमा भारतीय नागरिकहरू थिए। 

रणबहादुर भारतीय नागरिकहरूसहित ठेक्काको काममा रुकुमतर्फ जाँदै थिए। रणबहादुर सवार कारलाई रोकेको केहीबेरमा आइपुग्यो– अपहरणका योजनाकार टीकाराम घर्ती मगरकी छोरी पूजा र व्यापारी श्रेष्ठ सवार बा११च १०७१ नम्बरको कार। व्यापारी श्रेष्ठ र पूजा सवार कार आइपुगेपछि उनीहरूले भारतीय नागरिकहरूलाई छोडे पनि रणबहादुरलाई भने छोडेनन्। रणबहादुरलाई छोड्दा व्यापारीको अपहरणको घटनाको पोल खुल्ने भएकाले उनीहरूले व्यापारी श्रेष्ठसँगै रणबहादुरलाई पनि लिएर गएको अभियुक्तहरूले प्रहरीलाई बयान दिएका छन्। प्रहरीका अनुसार श्रेष्ठ र घर्ती सवार दुईवटा गाडी सल्यानकोे रिममा फेला परेका थिए।

यी हुन् घटनाका मुख्य अभियुक्त
प्रहरीले अपहरण र हत्यामा १० जनाभन्दा बढीको संलग्नता भएको जनाएको छ। प्रहरीले मंगलबार हत्याका मुख्य अभियुक्त सल्यान झिम्पे कोरबाङ– ५ घर भई हाल दाङको हेकुली– ६ बालापुर बस्ने ३७ वर्षका मानबहादुर भण्डारी, तुलसीपुर उपमहानगरपालिका– ६ स्याउली बजारका ३९ वर्षका टीकाराम घर्ती, उनकी १८ वर्षकी छोरी पूजा घर्ती (प्रहरीले यसअघि १७ वर्ष बताएको थियो) लाई पक्राउ गरी सार्वजनिक गरेको छ।

उनीहरूलाई दाङबाट खटिएको प्रहरीको विशेष टोलीले बाँके डुरुवा गाउँपालिका– ६ स्थित नेपाल–भारत सिमानामा पर्ने हिरामोनिया भन्ने स्थानमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ। 

यस्तै, घटनाका मुख्य योजनाकार भनेर तुलसीपुर उपमहानगरपालिका– ८ का २८ वर्षका भूपेन्द्र भण्डारीलाई तुलसीपुर बजारबाटै र सोही उपमहानगरपालिका– ११ कटाहा का ३० वर्षका खुमबहादुर केसीलाई काठमाडौँबाट पक्राउ गरेको प्रहरीले बताएको छ। 

सोही घटनामा संलग्न भएको भन्दै प्रहरीले तुलसीपुर उपमहानगरपालिका– ९ बेलुवा शिवज्योति टोलका ४१ वर्षका नारायण वलीलाई समेत पक्राउ गरिएको जनाएको छ। 

यसअघि प्रहरीले अपहरणपछि व्यापारी श्रेष्ठको हत्यामा संलग्न रहेको अभियोगमा तुलसीपुर– १२ का २५ वर्षका कमल भनिने अविरल महतारा, दाङ घोराही उपमहानगरपालिका– १४ नयाँ बजारकी ३८ वर्षकी जमा पुन, तुलसीपुर उपमहानगरपालिका–६ का २३ वर्षका रुगत थापा मगर र रोल्पा जङकोट– १ घर भई हाल घोराही उपमहानगरपालिका– ४ बस्ने ४० वर्षका रमेश भनिने मनबहादुर पुनलाई पक्राउ गरेको थियो।

किन गरियो श्रेष्ठको अपहरण?
प्रारम्भिक बयानका क्रममा मुख्य योजनाकार भनिएका टीकारामले रकम असुलीका लागि अपहरण गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। टीकारामले आफूलाई ऋणले च्यापेपछि रकम असुली गर्ने योजनाका साथ व्यापारी श्रेष्ठको अपहरण गरेको बयान दिएका छन्। 

प्रमुख योजनाकार टीकाराम व्यापारी श्रेष्ठको अपहरण गर्नुभन्दा एक दिन अगाडि घरबाट काठमाडौँ जान्छु भनेर निस्किएको बताइएको छ। टीकारामले आफू जापान जाने भनेर दलाललाई बुझाएको १० लाख रुपैयाँ उठाउन काठमाडौँ जान लागेको र केही दिनमा फर्किने भनेर व्यापारी श्रेष्ठको अपहरण गर्नुभन्दा एक दिनअघि घरबाट निस्किएका थिए।

टीकारामकी श्रीमती तारा घर्तीले प्रहरी सोधपुछका क्रममा आफूलाई घटनाबारे प्रहरीले पत्रकार सम्मेलन गरेपछि मात्रै थाहा भएको बताएकी छन्। गत जेठ २६ गते साँझ अपहरणमा परेका व्यापारी श्रेष्ठको शव असार १६ गते सल्यानको छत्रेश्वरी गाउँपालिका– ४ झिम्पेरेन्जको लेक भञ्ज्याङस्थित जंगलमा ढुंगाले पुरिएको अवस्थामा प्रहरीले फेला पारेको थियो।

अभिुयुक्तहरूलाई अपहरण र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ।

यसरी भएको थियो श्रेष्ठका हत्या
प्रहरीका अनुसार सल्यानको जंगलसम्म अपहरणकारीले श्रेष्ठको गाडी प्रयोग गरेका थिए। अपहरण भएको तीन दिनसम्म उनलाई निरन्तर जंगलमा हिँडाएका थिए। अपहरकारीले दिनभर लुकाउने र रातभर हिँडाउने गरेका थिए। अपहरणकारीले खानका लागि १० किलो चिउरासमेत लिएर गएका थिए।

समयमा खान नपाएका व्यापारी श्रेष्ठ सुगर र प्रेसरका बिरामीसमेत भएकाले कमजोर हुँदै गए र तीन दिनपछि २९ जेठमा ढले। अपहरणकारीले उपचार गर्नुको साटो ढुंगाले किचेर  हत्या गरेको प्रहरीले बताएको छ। सल्यानको छत्रेश्वरी गाउँपालिका– ४ झिम्पेको लेकमा उनको हत्या भएको प्रहरीको भनाइ छ। 

यसरी अपराध कबोले बाबुछोरीले
१८ वर्षकी  पूजाले प्रहरीलाई सुरुमा बयान दिँदा व्यापारी श्रेष्ठ र आफू घुम्न सल्यान निस्किएको र बीच बाटोमा अपहरणमा परेको बताएकी थिइन्। आफूले अपहरण गर्न कुनै भूमिका नखेलेको र अपहरणपछि हत्या भएको थाहा पनि नभएको भनेर प्रहरीलाई बयान दिएकी पूजाले आफ्नो बयान पछि फेरिन्। 

पूजाले पहिले झूठो कुरा गरे पनि दोस्रो बयानका क्रममा भने व्यापारी श्रेष्ठको अपहरण गराउन आफूले भूमिका खेलेको स्वीकार गरेको राप्ती अञ्चल प्रहरी प्रमुख एसएसपी ज्ञानविक्रम शाहले बताए। पूजाले व्यापारी श्रेष्ठको अपहरण पैसा असुली गर्नकै लागि भएको र पछि जंगलमा बिरामी परेपछि हत्या गरिएको पनि प्रहरीलाई बयान दिने क्रममा भनेकी छन्। 

व्यापारी श्रेष्ठसँगै अपहरणमा परेका घोराही हापुरका ठेकेदार रणबहादुर घर्ती मगरको पनि ढुंगाले हानेरै सोही दिन हत्या गरिएको पूजाले बयान दिएकी छन्। पूजाले व्यापारी श्रेष्ठ र ठेकेदार रणबहादुरको हत्यापछि आफूहरू त्यहाँबाट भारत गएको पनि बताएकी छन्। भारत पुगेपछि मात्रै रकम फिरौतीका लागि व्यापारी श्रेष्ठको हत्या गर्नुअघि रेकर्ड गराइएको आवाज उनका परिवारलाई फोन गरेर सुनाइएको पूजाका बाबु टीकारामले पनि स्वीकार गरेका छन्। 

टीकारामले प्रहरीलाई दिएको बयानमा आफूले नै व्यापारी श्रेष्ठको हत्या गरेको स्वीकार गरेका छन्। उनले ठेकेदार रणबहादुरको पहिले हत्या गरिएको र त्यसको डेढ घण्टापछि व्यापारी श्रेष्ठको हत्या गरिएको स्वीकार गरेका छन्। 

टीकारामले व्यापारी श्रेष्ठको हत्या भएको १० र १२ दिनपछि मात्र भारतबाट श्रेष्ठका परिवारलाई भ्वाइस रेकर्ड सुनाएर रकम फिरौती मागेको बयान प्रहरीलाई दिएका छन्। भारतबाट व्यापारी श्रेष्ठका परिवारलाई आएको फोन नम्बरलाई ट्र्याक गरेर अनुसन्धान अघि बढाएको र घटनाका मुख्य अभियुक्तसँगै टीकाराम र उनकी छोरी पूजालाई पनि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। उनीहरूले जेठ २९ गते श्रेष्ठको हत्यापछि तीन करोड रुपैयाँ फिरौती मागेका थिए। 

किन गरे रणबहादुरको हत्या?
व्यापारी श्रेष्ठसँगै अपहरणमा परेका रणबहादुर घर्तीको पनि हत्या गरेको प्रहरीलाई बयान दिएका छन्। हत्याको अभियोगमा पक्राउ परेका अभियुक्तहरूले रणबहादुरसँगै जेलमा बसेका नरेन्द्र विकलाई चिनेकाले रणबहादुरलाई पनि अपहरण गरेको र त्यसपछि हत्या गरेको बयान दिएका छन्। 

बयानकै क्रममा रणबहादुरको पनि हत्या भएको खुलेको थियो। हत्या भएको खुलेलगत्तै खटिएको प्रहरीले बुधबार रणबहादुरको शव पनि सडेको अवस्थामा फेला पारिसकेको छ। राप्ती अञ्चल प्रहरी प्रमुख ज्ञानविक्रम शाहले सँगै जेल बस्दा चिनेका साथी भेटिएपछि व्यापारी श्रेष्ठको अपहरणको पोल खुल्ने डरले रणबहादुरलाई अपहरण गरेर हत्या गरेको खुल्न आएको बताए।

‘रणबहादुरलाई छोड्दा उसले व्यापारी श्रेष्ठको अपहरणको घटना बाहिर भन्ने डरले उनको हत्या गरेको बयान दिएका छन्’, शाहले भने, ‘रणबहादुरको हत्याको कारण जेलमा सँगै बसेका साथी चिन्नु नै बन्यो।’ 

टीकारामले रणबहादुरलाई उनीसँगै २/३ वर्षअघि घोराही कारागारमा जेल बस्दा चिनेका नरेन्द्र विक र जयप्रकाश भनिने पूर्णबहादुर वलीले ढुंगाले हानेर हत्या गरेको बयान दिएका छन्। 

व्यापारी श्रेष्ठको अपहरण र हत्यामा संलग्नमध्ये १० जना पक्राउ परे पनि नरेन्द्र र पूर्णबहादुर भने अझै फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको तीब्र खोजी भइरहेको पनि प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.