|

पर्वत : महिलामा हुने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबाट प्रभावित हुनेहरूको सङ्ख्या बढ्दै गएको चिकित्सकहरूले बताइरहेको बेला जिल्लाको फलेवास नगरपालिकाले क्यान्सरको पहिचान गर्ने भएको छ। नगरपालिकामा रहेका ११ वटै वडाका स्वास्थ्य संस्थाहरूमा क्यान्सरको पहिचान गर्नका लागि फरक फरक मितिमा अस्थायी ‘स्क्रिनिङ’ शिविरको आयोजना गरिएको हो।

नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत रुद्र शर्मा सापकोटाका अनुसार लक्षित कार्यक्रम अन्तर्गत रहेर यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। पाठेघरको मुख र स्तनमा भएको वा हुन लागेको क्यान्सरको बारेमा समयमा नै शङ्का समेत नपाउँदा सङ्क्रमणले च्याप्दै लगेका उदाहरणहरू धेरै देखिएका छन्। जसले गर्दा सङ्क्रमण गहिरिसकेको हुने तथा त्यसको उपचार गर्न धेरै खर्च लाग्ने अवस्था आउने भएकाले समयमा नै यसको पहिचानका लागि ‘स्क्रिनिङ’ गर्न लागिएको अधिकृत सापकोटाले बताए।

‘नगरपालिकाको आन्तरिक बजेटबाट यो काम थालिएको हो। महिलामा पाठेघरको मुखको, स्तनको क्यान्सरको सङ्क्रमणहरू बढिरहेको अवस्थामा हाम्रा आमा दिदीबहिनीहरू पनि यसको जोखिममा त हुनुहुन्छ नै’, उनले भने,   ‘समयमा नै परीक्षण गरेर त्यस्तो सङ्क्रमण वा जोखिम रहेको भएमा समयमा नै थाहा पाएर उपचारको लागि प्रक्रिया सुरु हुन्छ। पहिचान भएमा आवश्यक परामर्श दिएर आवश्यक परेको अवस्थामा सहयोग पनि हुन्छ। आङ खस्ने समस्याको उपचार निःशुल्क रूपमा हुने गरेको छ।’

यो शिविरमा गर्ने परीक्षणबाट महिलामा आगामी १० वर्षभित्रमा क्यान्सरको जोखिम रहेको भए त्यो पनि थाहा हुने भएकोले यो परीक्षण अभियान महिलाका लागि महत्त्वपूर्ण रहेको नगरपालिकाका प्रमुख गंगाधर तिवारी बताउँछन्। अहिले गर्ने परीक्षणले महिलामा क्यान्सरको सङ्क्रमणको पूरै यकिन नगर्ने भए पनि सम्भावना र शंकाको बारेमा स्पष्ट पार्ने भएकोले यो आधारभूत अवस्थाको परीक्षण रहेको उनको भनाइ छ।

‘यो क्यान्सर नै हो भन्ने पूर्ण यकिन त यो परीक्षणबाट हुँदैन तर क्यान्सर शङ्कास्पद अवस्थाबारेमा हाम्रा स्वास्थ्यकर्मीहरूलाई थाहा हुने छ। थप परीक्षण गर्नुपर्ने अवस्थामा हामीले यहाँबाट रिफर गरेर पठाउने हो’, नगर प्रमुख तिवारीले भने, ‘यसमा पनि नेपाल सरकारले निःशुल्क उपचार सेवा प्रदान गर्दै आइरहेको छ। सरकारले उपलब्ध गराउने सेवा त भइहाले। त्यो बाहेक केही घरको आर्थिक अवस्थाका कारण हामीले पनि केही सहयोग गर्ने अवस्थामा उपचारको लागि हामी पनि सहयोग गर्ने छौँ।’

‘स्क्रिनिङ’ शिविर सञ्चालन गर्नको लागि फलेवास नगरपालिकाले बि.पी कोइराला मेमोरियल क्यान्सर हस्पिटल चितवनबाट चिकित्सकहरू ल्याएर वडाका स्वास्थयकर्मीहरुलाई प्रशिक्षण दिएको थियो। प्रत्येक स्वास्थ्य संस्थाबाट २÷२ जनाका दरले सहभागी ‘नर्सिङ स्टाफ’ हरूलाई तालिम दिएर तयार पारिएको हो। शिविरमा उनीहरूले परीक्षणको काम गर्ने र थप जनशक्ति वा सीप आवश्यक परेको अवस्थामा पर्वत अस्पताल जिल्लाका अन्य स्थानीय तहहरूसँगको सहकार्यमा आफूहरू तयार रहेको स्वास्थ्य अधिकृत सापकोटाले बताए। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने शिविरहरू चैत ४ गतेदेखि सुरु गरेर चैत २६ गतेसम्ममा पूरा गर्ने लक्ष्य नगरपालिकाले राखेको छ।

अध्ययन अनुसार नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मानिसको मृत्यु क्यान्सरले हुने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत माघमा विश्व क्यान्सर दिवसको अवसरमा सार्वजनिक गरेको कार्यपत्रमा उल्लेख छ। नेपालमा ४० प्रतिशत भन्दा बढी मृत्यु फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा हुन्छन् भने प्रत्येक वर्ष करिब २० हजार भन्दा बढी क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन्।

नेपालमा फोक्सो, पाठेघरको मुख, स्तन, आमाशय (पेट) र आन्द्राको क्यान्सर सबैभन्दा बढी सङ्क्रमण भइरहेका क्यान्सर हुन्। फोक्सोको क्यान्सर १२, पाठेघरको मुखको क्यान्सर ११, स्तन क्यान्सर १०, आमाशयमा हुने क्यान्सर ८, आन्द्रामा हुने क्यान्सर ५ र अन्य क्यान्सर ५४ प्रतिशत रहेको तथ्याङ्क छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.