|

काठमाडौं : नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नेकपा (माओवादी केन्द्र)सँग एकता गर्न लागेको बताएका छन्। शनिबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सहअध्यक्ष श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नै नेकपा (माओवादी केन्द्र)सँग एकता गर्न लागेको बताएका हुन्।

उनले कुनै एक पक्षमात्रै एकता गर्न लागेको भन्ने कुरा सत्य नभएको बताए। उनले नेसपाले गत मंसिर ६ गते नै केन्द्रीय समिति बैठकबाट पार्टी एकता गर्नका लागि संयोजन समिति बनाएको भन्दै सोही समितिको बैठक बसेर एकता गर्ने निर्णय गरिएको बताए।

उनले दुई पार्टीका बीचमा एकता गर्ने भनेर चुनाव अगाडि नै सहमति भएको र पार्टी एकताको शर्तसहित आफूहरुले माओवादी केन्द्रको चुनाव चिन्हमा चुनाव लडेको बताए।

उनले आफूहरु पार्टी एकता गर्ने डेढ वर्ष अगाडिको सहमतिअनुरूप अगाडि बढेको र चाँडोभन्दा चाँडो पार्टी एकता हुने बताए।

उनले भने, ‘अहिले त हामीले नेपाल समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र)को पार्टी एकता संयोजन समितिको बैठक बसेको हो। यहाँ नेपाल समाजवादी पार्टीको फलानो गुटको बैठक बसेको त होइन नि  नेपाल समाजवादी पार्टीको बैठक बसेको हो। त्यसो भएको हुनाले यहाँ अल्पमतको कुरा, बहुमतको कुरा, यो पक्ष त्यो पक्ष होइन। नेपाल समाजवादी पार्टी । सिंगो नेपाल समाजवादी पार्टी एकतामा जाने हो।'

सहअध्यक्ष श्रेष्ठले आफूहरुले नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह लिएर चुनाव लडेकाले कानुनी रुपमा आफुहरु माओवादी केन्द्रको सांसद भएको बताए। आफूहरुले कुनै सत्ता स्वार्थको लागि पार्टी एकता गर्न नलागेको भन्दै उनले विगतको पार्टी एकता गर्ने निर्णयमा इमान्दार र प्रतिवद्ध भएर लागेको बताए।

उनले पार्टी अध्यक्ष महिन्द्र राय यादवको मन्त्री पद नरहेको र आफू हालसम्म बागमती प्रदेश सरकारको मन्त्री भए पनि त्यो विगतमै भएको बताए।

सत्ताको लागि एकता गर्न लागिएको भन्नेहरु पार्टी एकताको विरोधी भएका उनको भनाइ छ।

उनले भने, ‘हामी चुनाव जितेर माओवादी केन्द्रको संसदीय दलको सदस्य भइसके पछाडि महेन्द्रजी यहाँ मन्त्री हुनुभयो। अहिले पुर्नगठनमा पर्नुभएन । म आजको दिनसम्म बागमती प्रदेश सरकारको मन्त्री छु। मैले मन्त्री पद जोगाइदेउ बाबा भनेर म माओवादी केन्द्रसँग हारगुहार गर्न गएको त छैन। सत्य कुरा त्यो हो। दुई पार्टी सँगसँगै अरु पार्टीहरुलाई पनि एकताको निम्ति तयार गर्दै लैजानुपर्छ भनेर पनि हाम्रो बीचमा छलफल चलेको छ। तिथिमिति नै घोषणा गर्ने खालको अवस्था त नहोला। छिटोभन्दा छिटो पार्टी एकता टुंग्याउँछौँ।’

सहअध्यक्ष श्रेष्ठले नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी सँगसँगै अन्य पार्टीहरुलाई पनि एकता गर्दै लैजाने तयारी भएको बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.