|
file photo

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफ्नो पार्टी संसदलाई बन्धक बनाएर राख्ने पक्षमा नरहेको बताएका छन्। सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै कांग्रेसले संसद अवरुद्ध पारिरहेका बेला सांसद खतिवडाले यस्तो अभिव्यक्ति दिएका हुन्।

ढुवानी व्यवसायी महासंघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा सांसद खतिवडाले कानुन निर्माण गर्ने थलो संसदलाई बन्धक बनाएर, तर्साएर, थर्काएर नराखि अघि बढाउनका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अवस्था आएको समेत बताए।

उनले समानुपातिक प्रतिनिधित्वको व्यवस्था राष्ट्रिय सभामा गरेर प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नसके मुलुकलाई स्थिर सरकार दिनसक्ने भएकाले त्यसका लागि पनि कांग्रेस र एमाले मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए।

सांसद खतिवडाले भने, ‘अहिले संसदमा अलिकति खच्याकखुचुक भएको तपाईहरुले देख्नुभएको छ।  हामी संसदलाई बन्धक बनाएर राख्‍ने पक्षमा छैनौँ। जनताको कानून निर्माण गर्ने ठाउँलाई बन्धक बनाएर, तर्साएर, थर्काएर होइन। एउटा संसदीय पद्धतिअनुसार मुलुकलाई नयाँ बाटोमा लैजाऔं। केही कुराहरुमा कांग्रेस-एमाले हामी मिलौँ। देश निर्माण गर्ने कुरामा अघि पनि भने–पार्टीभन्दा माथि उठौँ। संविधानमा केही कुरामा संशोधन गरौं। समानुपातिकलाई राष्ट्रियसभामा लैजाऔं।'

कांग्रेस सांसद खतिवडाले मुलुकलाई अघि बढाउनका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने हुनाले त्यस क्षेत्रमा देखिएका समस्या समाधान गरेर अघि बढन आफ्नो पार्टी सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.