|

गौर : पछिल्लो समय रौतहटमा कुष्ठरोगीको संख्या बढ्दो छ। रौतहटमा १३७ जना कुष्ठरोगी उपचारत रहेको र सबैभन्दा बढी गुजरा नगरपालिकामा रहेका छन्।

रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार स्वास्थ्य कार्यालय रौतहटको आयोजना र तथा लेप्रोसी मिसन नेपाल र आइरिस एडको आर्थिक सहयोगमा कुष्ठरोगसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी गराइएको हो।

अन्तरसंवादमा कुष्ठरोग निवारणबारे बताउँदै जिल्ला स्वास्थ्य कार्यालय रौतहटका कुष्ठरोग शाखा प्रमुख महेश साहले उक्त जानकारी दिएका हुन्। उनले अहिले कुष्ठरोग निको हुने रोग भएको पनि बताए।

उनले भने, ‘कुष्ठरोग सरुवा भए पनि रोग प्रतिरोधात्मक क्षमता कमजोर व्यक्तिमा मात्र सर्छ।’ अरू सँगै बसे पनि केही फरक नपर्ने उनले बताए। २०६६ माघ ५ गते नै नेपालबाट कुष्ठरोग निवारण भइसकेको घोषणा भए पनि मधेश प्रदेशमा अझै पनि कुष्ठरोगको जोखिम छ।

रौतहटमा मात्रै अहिले १५० जना नयाँ र १५३ जना पुरानो रोगी रहेको उनले जानकारी दिए। जसमा १३७ जना विरामी अझै उपचाररत रहेको शाखा प्रमुख साहको भनाइ छ।

रौतहटका १८ वटै स्थानीय तहको तथ्यांकअनुसार सबैभन्दा बढी गुजरा नगरपालिकामा २३ जना र सबैभन्दा कम दुर्गा भगवती गाउँपालिकामा ३ जना कुष्ठरोगी फेला परेको र उनीहरूको औषधी उपचार भइरहेको पनि उनले बताए। शाखा प्रमुख साहले कुष्ठरोग निवारण अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरे।

कुष्ठरोगी फेला परे पनि नाम गोप्य राखी समाजमा अपहेलित नहुने हिसाबले उपचार गर्नुपर्ने समेत उनले बताए।

बजेट अभावले कुष्ठरोगबारे सचेत गराउन कठिन भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका कुष्ठरोग शाखा प्रमुख महेश साहको गुनासो छ। तैपनि आफूलाई कुष्ठरोग लागेको शंका लागेमा हरेक नागरिकले आफ्नो नजिकैको स्वास्थ्यचौकीमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गराउन साहले आग्रह गरेका छन्।

रौतहटमा कुष्ठरोगीका ८ वटा समूह सक्रिय रहेको उनले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.