|

पर्वत : आजभोलि कोही पनि कृषकलाई ‘तपाईँको समस्या के छ?’ भनेर सोध्ने हो भने उसको पहिलो उत्तर नै ‘बाँदरले बाली त खायो खायो घरमा पाकेको अन्न पनि बाँकी छाडेन’ भन्ने छ। देशभर नै बाँदर आतङ्कले सताएको बेला पर्वतको पैयुँ गाउँपालिका पनि त्यसबाट चोखो हुने त कुरै भएन।

बाँदरले बाली सखाप पारेर उत्पादनयोग्य भूमि नै बाँझो छोड्न बाध्य भएपछि गाउँपालिकावासीले पटक पटक जनप्रतिनिधिहरूलाई बाँदर नियन्त्रणका लागि केही न केही उपाय लगाइदिन दबाब दिँदै आइरहेका छन्। गाउँपालिकाले बाँदर नियन्त्रणको लागि केही न केही गर्ने निर्णय गरेमा आफूहरू पनि सहकार्यका लागि तयार रहेको भन्दै गाउँपालिकाबासीहरुले निरन्तर दबाब दिएपछि जिल्लाको पैयुँ गाउँपालिकाले सात लाख लगानी गर्न तयार भएको छ।

गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीका अनुसार सोमबार भएको गाउँपालिकाको १३ औँ गाउँ सभाबाट प्रस्ताव पारित गरिएको छ। पहिलो चरणमा सात लाख रुपैयाँ बजेट विनियोजन भएको र यसले अपुग भएमा बैठकबाट रकम थप गरेर सकेसम्म कृषकहरूलाई राहत दिलाउन गाउँपालिका तयार रहेको उनको भनाइ छ।

यो योजना अन्तर्गत सुरुमा प्रत्येक वडामा पाँच÷पाँच जनाका दरले सात वटा वडामा ३५ जनालाई बाँदर लखेट्ने हेरालोका रूपमा राख्न लागिएको छ। उनीहरूले आफ्नो वडामा आउने बाँदरलाई लखेटेर सकेसम्म टाढा पुर्‍याएर सकेसम्म फर्केर पुनः गाउँमा नआउने वा आए पनि लामो समय लाग्ने गरी लखेट्न लागिएको अध्यक्ष मल्लको भनाइ छ।

‘हेर्दा बाँदर लखेट्न हेरालो राखेको कुरा सुन्दा रमाइलो र अनौठो पनि लाग्न सक्ला तर यही पनि काम नगर्ने हो भने अरू के काम गर्ने? बर्षदिनभर खाने गरी लगाएको अन्न बाँदरको हुलले केही बेरमा सखाप पारिदिएको छ’, अध्यक्ष ठकुरीले भने, ‘स्थानीय सरकारले स्थानीय रूपमा आएका समस्याको समाधान गर्ने हो। चुनावमा जाने बेलामा पनि नागरिकले बाँदरको नियन्त्रणका लागि केही न केही गरिदिनका लागि अनुरोध गरेर जिताउनुभएको हो।’

कार्यपालिका सदस्य तथा वडा नं.५ का वडाध्यक्ष निर्भीक नारायण भुर्तेलले बाँदरको सबैभन्दा बढी समस्या स्थानीय खोलाको वारी र पारीको क्षेत्रमा रहेको जानकारी दिँदै सकेसम्म त्यही क्षेत्रबाट बाँदर लखेट्ने अभियान सुरु गरिने बताए।

‘कृषकहरूले बरु हामी पनि यसमा सहकार्य गर्छौँ जनप्रतिनिधिहरूले केही न केही गरिदिनुपर्‍यो भन्नुभएको थियो। हामी पनि खाली भएको अवस्थामा पालिकाले सामान्य खर्च गरिदिएमा हामी खटेर बाँदर लखेट्छौँ भन्नुभएको थियो’, उनले भने, ‘खोला वारी र खोला पारी सबैभन्दा बढी समस्या छ। सबै वडाका प्रत्येक टोलमा एकै पटक त बाँदरको हुल जाँदैन। यहाँ बाँदरको दुई वटा जस्तो समूह देखिन्छ। जसमा करिब तीन सय भन्दा बढी छन्।’

सकेसम्म यसमा खटिने हेरालाहरुले फरक–फरक ठाउँबाट थोरै परसम्म बाँदर लखेट्ने भन्दा पनि धेरै हेरालाहरुको सङ्ख्याले बाँदरको हुललाई धेरै टाढासम्म पुर्‍याएर फर्किने गरी गाउँपालिकाले योजना बनाएको छ। थोरै दूरीसम्म लखेट्दा पुनः फर्केर आउने र सताउने क्रम नरोकिने भएकाले टाढैसम्म लखेट्ने गरी गाउँपालिकाले योजना बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.