|

धनुषा : धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पानीको अभाव भएपछि दमकलबाट पानी वितरण गर्न थालिएको छ। अत्यधिक गर्मीका कारण पानीको स्रोतको रुपमा रहेका चापाकल र अन्य पानीका स्रोत सुकेपछि दमकलले पानी वितरण गर्न थालिएको प्रमुख सुखदेव यादवले जानकारी दिए।

प्रमुख यादवले नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने वडा नं ७ को हरिहरपुर, दुर्गाटोल र वडा नं ८ को दिगम्बरपुर गाउँमा पानी स्रोत सुकेको बताए। ती दुवै गाउँमा रहेका चापाकल सुकेर पानीको अभाव भएको छ। 

चापाकलमा पानी आउन बन्द भएका गाउँका बासिन्दालाई एक सातादेखि बारुणयन्त्रको मद्दतले खानेपानी उपलब्ध गराइरहेको जानकारी उनले दिए।

नगरपालिकासँग खानेपानी ट्याङ्कर नभएकाले पानी वितरणका लागि बारुणयन्त्रलाई उपयोगमा ल्याइएको बताउँदै प्रमुख यादवले साँझ, विहान र आवश्यकताअनुसार पानी उपलब्ध गराइरहेको बताए। उनले पानीको दीर्घकालीन समस्या समाधानमा समेत नगरपालिका जुटेको सुनाए।

“हरिहपुर दुर्गाटोलस्थित महादेव मन्दिरनजिक बिग्रेको डिप ट्युबवेल सञ्चालनमा ल्याउन मर्मतसम्भारको काम भइरहेको छ‚’ प्रमुख यादवले भने, ‘त्यसलगायत सोही बस्तीमा २० लाखको लागतमा एक थान नयाँ डिप ट्युबवेल र तीनवटा इनार खन्ने योजना बनाएर काम भइरहेको छ।”

दिगम्बरपुरमा पनि खानेपानीको समस्या समाधान गर्न त्यहाँ रहेको खानेपानी योजना सञ्चालनमा ल्याउने काम भइरहेको प्रमुख यादवको भनाइ छ। 

दिगम्बरपुरमा पनि २० लाख रुपैयाँको लागतमा नयाँ डिप ट्युबवेल र चार वटा नयाँ इनार खन्न बजेट विनियोजन गरिएको उनले बताए। हरिहरपुरका युवा विनोद यादवले जमिनमुनि पानीको जलस्तर घट्दै गएकाले पानीका स्रोत सुकेको बताए। 

उनले विगत केही वर्षदेखि सुख्खायाम शुरु भएसँगै यस क्षेत्रमा पानीका स्रोत सुक्ने गरेको बताउँदै पानीको दीर्घकालीन उपायको खोजीमा जुट्न यस क्षेत्रबाट निर्वाचित स्थानीय जनप्रतिनिधि, प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यलाई आग्रह गरे।

धनुषाको उत्तरी क्षेत्र क्षीरेश्वरनाथ, बटेश्वर, मिथिला, धनुषाधाम र गणेशमान चारनाथ नगरपालिकामा नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकललगायत पानीका स्रोत सुक्न थालेपछि पानीको सङ्कट बढ्न थालेको स्थानीयको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.