|
प्रतीकात्मक तस्वीर

काठमाडौँ : अपरिचित व्यक्तिसँग एकैछिनको चिनजानका भरमा विश्वास गर्दा ठूलो आपत्‌मात्रै होइन आफू बेचिन र ठगिन पनि सकिन्छ भन्ने एक घटनाले देखाएको छ।

पोखरा जान लागेकी एक महिला त्यस्तै गिरोहका फन्दामा परेकी छिन्। साथी भेट्न पोखरा जाने बसमा चढेकी महिला सँगैको सिटमा बसेका पुरुषको कुरा पत्याई बाटोमै बस बदली बुटवल पुगिन्।

उनी भारत पुगेर पनि बेचिनबाट त जोगिइन् तर ठगीमा परिन्। लोभमा गिरोहसँग बिहे गर्न पुगिन्। नवलपुरको कावासोती घर भएका दुर्गाबहादुर पौडेल क्षेत्रीको विश्वासमा पर्दा ती महिला बेचबिखन तथा ठगीमा परेकी छिन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार ती महिला काठमाडौँबाट साथी भेट्न पोखरा जाँदै थिइन्। सँगै बसको सिटमा पौडेल भेटिएका थिए।

यात्राकै क्रममा उनीहरूबीच कुराकानी चल्दै गयो। उनले ती महिलालाई प्रलोभनमा पारे। उनले ती महिलासँग बिहे गरी बिक्रीको प्रयास गरेका पाइएको छ। पीडितकै ६ लाख रुपैयाँ समेत उनले ठगी गर्न सफल भएका छन्। ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार उनले सुरुमा आफू अविवाहित रहेको बताए। उनले ‘तिमी मलाई मन पर्‍यौ। म तिमीसँग बिहे गर्छु अनि म तिम्री बहिनीको उपचारका लागि पूरै सहयोग गर्छु, मिर्गौलाको उपचार गर्ने डाक्टर चिनेको छु’ भनी बुटवल पुर्‍याएर बिहे गरी बेचबिखन गरेको पाइएको हो।

उनले आफन्तहरूबाट सापट मागेर पीडितकी बहिनीको उपचारका लागि ७० लाख रुपैयाँभन्दा बढी पैसा जम्मा गरिदिएको छु, त्यो निकाल्न ६ पैसा लाग्छ भनी पीडितबाट ६ लाख रुपैयाँ लिएर ठगी गरेको पनि पाइएको मिश्रले जानकारी दिए। उनले मिर्गौलाको उपचार गर्ने डाक्टर चिनेको छु भनी बुटवल लगी आफ्नै साथीलाई देखाई डाक्टर भनी झुक्याएको पनि खुलासा भएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा उनले विभिन्न बहाना बनाई मानव बेचबिखन गर्ने उद्देश्यले पटकपटक नेपालको सीमा नजिक भारतको बजार पुर्‍याएकोमा चेलिबेटी बेचबिखनविरुद्ध संस्थामा कार्यरत महिलाले बेचबिखनमा पर्नसक्ने जानकारी गराएपछि महिला नेपाल फर्की आएकी थिइन्।

त्यसपछि ती पीडित महिलाले ब्युरोमा दिएको जाहेरीका आधारमा ब्युरोले पक्राउ गरी उनीविरुद्ध अहिले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरिरहेको मिश्रले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.