|

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अहिलेको सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर सकिने दावी गरेका छन्। उनले यो सत्ता गठबन्धन स्थायी नहुने र धेरै नटिक्ने दावी पनि गरे।

मंगलवार काठमाडौँमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रियामा उनले सत्तारुढ गठबन्धन स्थायी नहुने भएकाले कांग्रेसलाई फेरि मुलुकले सत्तामा पुर्‍याउने जिकिरसमेत गरे। 

पर्खिएर बसेको खण्डमा कांग्रेसलाई यो देशले आफैँ फेरि सत्तामा पुर्‍याउने सांसद पौडेलको भनाइ थियो। उनले कांग्रेसका लागि सत्ता ठूलो नभएको भन्दै सत्तामा पुगेपछि देश र जनताको पक्षमा गर्ने कामको भने दृष्टिकोण बनाएर बस्नुपर्ने आवश्यकता औँल्याए।

​‘नेपाली कांग्रेसका लागि सत्ता ठूलो होइन। पर्खेर बसौँ–कांग्रेसलाई यो देशले आफैँ फेरि सत्तामा पुर्‍याउँछ। अहिले जुन गठबन्धन बनेको छ‚ त्यो चिरञ्जीवी हुँदैन। उहाँहरु आफैँमा झगडा गरेर यो गठबन्धन समाप्त हुनेछ‚’ सांसद पौडेलले भने,  ‘तर कांग्रेस सत्तामा जाँदैगर्दा किन जाने हो, के गर्न जाने हो, कुन कुन क्षेत्रमा कसरी काम गर्ने हो भन्ने प्रष्ट हुनुपर्छ। अहिले देखिएका बेथितिहरुको अन्त्य कसरी गर्ने हो? त्यसको फेहरिस्त हामीसँग हुनुपर्छ।’

सांसद पौडेलले लोकतन्त्रमाथि देखिएका बेथिति अन्त्यको नेतृत्व, मुलुकको समृद्धि यात्राको नेतृत्व नेपाली कांग्रेसले नै गर्ने दावीसमेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.