|

विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले  'दुर्व्यसनविरुद्ध आमाहरु' कार्यक्रम शुरु गरेको छ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङ र बेलबारी नगरपालिकाकी उप–प्रमुख नितु थापा कोइरालाले आज (बुधवार)  दुर्व्यसनविरुद्ध आमाहरु कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरेका हुन्।

डीआईजी खापुङले शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै लागुऔषध दुर्व्यसन नियन्त्रणलाई लक्षित गरेर  “दुर्व्यसनविरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरेको बताए।

बालबालिकाहरुसँग आमाहरुले बढी समय दिनुका साथै उनीहरुको बानी व्यवहारसमेत जानकारी राख्ने भएको हुँदा आफ्नो छोराछोरी लागुऔषधको कुलतमा फसे नफसेको तथा बानी व्यहोरामा आएको परिवर्तन आमाहरुले सहजै महसुस गर्ने भएकोले आमाहरुलाई लक्षित गरी यो कार्यक्रमको थालनी गरिएको उनको भनाई थियो।

लागुऔषध दुर्व्यसनीबाट हुने अपराध न्यूनीकरणमा सहयोग पुग्ने र जनचेतनामा अभिवृद्धि भई सुरक्षित समाजको निर्माणमा टेवा पुग्ने उनले बताए।

बेलबारी नगरपालिकाकी उप–प्रमुख नितु थापा कोइरालाले नेपाल प्रहरीले युवाहरुलाई लागुऔषधको कुलतबाट जोगाउन  शुभारम्भ गरेको “दुर्व्यसनविरुद्ध आमाहरु” कार्यक्रममा स्थानीय तहको सदैव साथ र सहयोग रहने प्रतिबद्धता जनाए।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक सुनिल दाहालले लागुऔषध दुर्व्यसनीविरुद्धको सचेतनासम्वन्धी प्रस्तुतीकरण गरेका थिए।
यो अभियान आजैबाट कोशी प्रदेशका १४ वटै जिल्लाहरुमा लागु गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय स्कुल कलेजका विद्यार्थी, श्रमिक वर्गका बाहुल्यता भएको स्थान, यातायात क्षेत्रका श्रमिक भएका बस्तीका बासिन्दा, लागुऔषध सेवनकर्ता, अन्तरराष्ट्रिय सिमानासँग जोडिएका बस्तीका बासिन्दाहरु, लागुऔषध प्रभावित स्थानिय तहहरूमा नेपाल प्रहरीले स्थानीय निकायका विभिन्न संघ संस्थाहरुसँग समन्वय र सहकार्य गरी निरन्तर रुपमा संचालन गर्नेसमेत जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.