वैशाख दोस्रो हप्ताबाट पठनपाठन

|

काठमाडौं : सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ को लागि ५० जिल्लामा पाठ्यपुस्तक पुर्‍याएकाे छ।  जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले अहिले धमाधम बाँकी जिल्लाहरूमा पुस्तक पुर्‍याइरहेको जनाएको हो। 

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले चैत १५ गतेदेखि नै नयाँ पाठ्यपुस्तक विक्री वितरणको काम थालेको थियो। आज पनि पोखरा, स्याङजा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), झापालगायत क्षेत्रमा वितरण भइरहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी रवीन्द्रकुमार शर्माले जानकारी दिए।

‘तराई क्षेत्रमा पनि विक्री वितरणको काम भइरहेको छ, हालसम्म ५० जिल्लाहरूमा पुस्तक पुगिसकेको छ,’ उनले भने। उनका अनुसार सबै विकट जिल्लाहरूमा भने पाठ्यपुस्तक पुगिसकेको छ। बाँकी जिल्लाहरूमा पठनपाठन सुरू हुनुभन्दा अगावै पुग्ने उनको भनाइ छ। 

जनक शिक्षाका अनुसार २०८१ को शैक्षिक सत्रका लागि १ करोड ७४ लाख थान नयाँ पुस्तक छापिएका छन्। कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी जनक शिक्षाले पाएको थियो भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखानालाई छपाइ तथा वितरणको जिम्मेवारी दिएको थियो।

यी सबै पुस्तक छपाइको काम सकिएको जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी शर्माले जानकारी दिए। उनले भने, ‘बाँकी केही छिटपुट विषयहरूको भने छपाइ भइरहेको छ।’ 

जनक शिक्षाका अनुसार अहिले छापिएका पुस्तक जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, प्रदेश १ कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय जनकपुर, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखरामा पठाइएको छ।

यसैगरी कर्णाली प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जमा पुस्तक पठाइएको छ र यी स्थानबाट वितरण भइरहेको छ।  

स्थानीय तहले बजेट निकासा नगर्दा समस्या

जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी शर्माका अनुसार जनक शिक्षाले पुस्तक लिन आउनु भनेर आग्रह गर्दा पनि कतिपय स्थानीय तहहरूले भने बजेट निकासा नगरेकाले लिन नआउँदा समस्या भएको छ।

‘पाठ्यपुस्तक लिन आउनु भन्दा केही स्थानीय तहले बजेट निकासा भएको छैन, बजेटको व्यवस्था गरेपछि मात्रै लिन आउँछौँ भनेका छन्,’ उनले भने, ‘यसो हुँदा हामीले जसरी तीव्रता दिइरहेका थियौँँ, त्यसरी भने काम भएको छैन, बजेट निकासा नभएकाले समस्या भएको छ।’ 

स्थानीय तहका कारण पछि जनक शिक्षामाथि दोष थुप्रिने भन्दै ती स्थानीय तहहरूलाई तत्काल बजेट निकासा गरेर सम्बन्धित ठाउँमा पाठ्यपुस्तक लिन जान उनको आग्रह छ।

‘पठनपाठन सुरू हुनुभन्दा अगावै सबै ठाउँमा पुस्तक पुर्‍याउने हाम्रो लक्ष्य छ तर स्थानीय तहका कारण समस्या हुने देखियो,’ उनले भने, ‘पछि समयमा सबै ठाउँमा पुस्तक पुगेन भने त जनक शिक्षाको पो बदनाम हुन्छ, त्यसैले छिटो बजेट निकासा गरि पुस्तक लिन आउन हाम्रो आग्रह छ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०८१ को नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक खरिद गर्न मंसिर महिनामै ३ अर्ब ५७ करोड ९८ लाख ९० हजार विनियोजन गरी सबै स्थानीय तहलाई हस्तान्तरण गरिसकेको थियो।

वैशाख दोस्रो हप्ताबाट पठनपाठन सुरू हुने 

सरकारले नयाँ शैक्षिक सत्रको लागि वैशाख पहिलो हप्ता विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम सञ्चालन गरेर वैशाख दोस्रो हप्तादेखि नियमित पठनपाठन थाल्न निर्देशन दिइएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशीले सार्वजनिक सूचना नै जारी गरेर सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई उक्त निर्देशन दिएको जानकारी दिए।

उनका अनुसार  वैशाख २ गतेदेखि वैशाख पहिलो हप्तासम्म विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम सञ्चालन गर्नुपर्ने र दोस्रो हप्तादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठनका साथै घरदैलो लगायतका कार्यक्रम सञ्चालन गरी विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका सबै बालबालिका विद्यालयमा भर्ना गर्न आग्रह गरिएको छ। 

सरकारले नयाँ शैक्षिक सत्रको लागि ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारा राखेको छ।

उनले चालु शैक्षिक सत्रजस्तो आगामी नयाँ शैक्षिक सत्रमा पनि समयमै पाठ्यपुस्तक सम्बन्धित ठाउँमा पुग्ने दावी गरे। ‘चैत १५ गतेदेखि नै पाठ्यपुस्तक विक्री वितरण सुरू भइसकेको छ, वैशाखको पहिलो हप्ताभित्र सबै ठाउँमा पाठ्यपुस्तक पुग्छ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.