|

काठमाडौँ : अर्जुन कुमालले शतक प्रहार गरे पनि नेपाल ‘ए’ ले आइतवार आयरल्याण्ड ‘ए’ सँगको शृंखलाको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा पनि ६९ रनको फराकिलो पराजय बेहोरेको छ।

यससँगै पाहुना आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’लाई कीर्तिपुरमा ३ खेलको शृंखला ३–० क्लिन स्विप गर्‍यो। अर्जुनले १०२ रनको शतकीय इनिङ खेले पनि नेपालको पराजय टार्न पर्याप्त भएन।

आयरल्याण्ड ‘ए’ ले दिएको २८५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ३९ ओभर ४ बलमा २१५ रनमै अलआउट हुँदै पराजित भयो। 

ओपनरद्वय अर्जुन कुमाल र अर्जुन साउदबाहेक नेपालका कुनै पनि ब्याटर लामो समय क्रिजमा अडिन सकेनन्। अर्जुन साउदले ३६ रनको योगदान दिए। 

त्यसपछिका ब्याटरले लामो इनिङ खेल्न सकेनन्। अर्जुन कुमालले लामो इनिङ खेल्दै जितको सम्भावना जीवन्त राखेका थिए। तर कुल स्कोरमा ९ रन जोड्दा अर्जुनसहित घरेलु टोलीले ५ विकेट गुमाएसँगै नेपालले सहजै खेल नतिजा पाहुना टोलीलाई सुम्पियो। 

आयरल्याण्ड ‘ए’ का बेन ह्वाइटले ३५औँ ओभरमा अर्जुनलाई स्टिफन डोहनीबाट क्याच आउट गराए। अर्जुनले १२९ बलमा ८ चौका र २ छक्का प्रहार गरे। त्यसवेला ३४ ओभर ३ बलमा नेपाल ‘ए’ को स्को ५ विकेटको क्षतिमा २०४ रन थियो। 

तर अर्जुनको विकेट पतन भएसँगै नेपालको इनिङ धराशायी हुने क्रम शुरु भयो। रूपेश सिंहले १५ रन बनाउनुबाहेक बाँकी ब्याटर सस्तैमा आउट भए। देव खनालले ११ रन र नरेन भट्टले १५ रन बनाए।

तर मध्य क्रमका ब्याटर इनिङ अगाडि बढाउन असफल भए। आयरल्याण्ड ‘ए’ का स्पिनरसामु घरेलु ब्याटर टिक्नै सकेनन्। 

स्पिनरद्वय ह्वाइट र गेभिन होएले क्रमशः ५ र ४ विकेट लिँदै नेपालको इनिङ ध्वस्त पारे। म्याथ्युज फोस्टरले एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने आयरल्याण्डको निर्णय सही सावित भयो। आयरल्याण्ड ‘ए’ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रनको सुदृढ स्कोर बनायो।

ओपनर डोहनीले १०७ रनको शतकीय इनिङ खेले। रिजन ढकालले ४७औँ ओभरमा उनलाई आउट गरे। उनले १२९ बलमा ८ चौका र २ छक्का प्रहार गरे। 

पिटर मोरले ४४ रन जोड्दा म्याथ्युज हम्फ्रीले २३, मोर्गन टपिङले २१, फियोन ह्यान्डले २० रन र बेन ह्वाइट १९ रनमा नटआउट रहँदा पाहुना टोलीले चुनौतीपूर्ण लक्ष्य नेपाललाई दियो। 

नेपाल ‘ए’ का लागि रिजन ढकाल र रञ्जित कुमारले ३/३ विकेट लिँदा विकास आग्री र साहब आलमले १/१ विकेट लिए। 

नेपाल ‘ए’ यसअघि टी–२० शृंखलामा पनि पाहुना टोली आयरल्याण्ड ‘ए’ सँग २–१ बाट पराजित भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.