|

पर्वत : नेकपा एमाले बागलुङ जिल्ला कमिटीको १० औँ जिल्ला अधिवेशन यही चैतको २९ र ३० गते बागलुङ बजारमा हुँदै छ। अधिवेशनको पूर्व सन्ध्यामा राजनीति गरमागरम अवस्थामा छ।

पार्टीका सङ्गठन त भइहाले चिया पसलदेखि चोकसम्म पनि जिल्लाको नेतृत्व कसले पाउला? सहमति भए कसरी होला? सर्वसम्मत हुन नसके उम्मेदवारहरूले  प्रतिनिधिहरूलाई कसरी रिजाउलान? भन्ने विषयमा कुराकानी भइरहेका सुनिन्छन्।

अधिवेशनले सदरमुकाम बागलुङमा नेता तथा कार्यकर्ताहरूको चहलपहल त हुने नै भयो। वडा तहसम्मका कमिटीहरू पनि अधिवेशनको रापमा छन्। सामान्यतः एमालेका उम्मेदवारहरू आफू नेतृत्वमा जान चाहेको कुरा पनि सुरुमा नै बाहिर ल्याउँदैनन्। उनीहरूको मनमा एक खालको योजना भए पनि आफूहरू पदका लागि दाबीमा नरहेको बताउँछन्।

उनीहरूले मुख नै फोरेर आफ्नो उम्मेदवारीको बारेमा नबताए पनि उनीहरू निकटका व्यक्तिहरूबाटै सम्भावनाको बारेमा कुरा बाहिर आउँछन्। यस्तै माहौलले तातिएको छ एमाले बागलुङको राजनीति पनि।

वर्तमान अध्यक्ष हिराबहादुर के.सी.ले केही दिनअघि नै अध्यक्षमा दोहोरिने सङ्केत गरिसकेका छन्। के.सी.को सङ्केतपछि इच्छुक अन्य उम्मेदवारहरू पनि खुल्दै गएका छन्। वर्तमान सचिव विष्णु भुसाल, पूर्व अध्यक्ष तथा बागलुङ नगरपालिकाका निवर्तमान मेयर जनक पौडेल र गण्डकी प्रदेशका पूर्व सदस्य तथा ढोरपाटन दैनिक राष्ट्रिय दैनिक प्रधान सम्पादक हरिनारायण गौतम समेत दाबेदार देखिएका छन्।

एमालेको संस्थापन र नेकपाको फुटको समयमा पनि अडिग भएर बसेका नेताहरूलाई नै नेतृत्वमा स्थापित गर्नुपर्नेमा एक थरी कार्यकर्ताको चाहना छ। फुटको बेलामा समेत फुटेको समूहतर्फ नलागेर एमालेमा नै बसिरहेकाहरूको नेतृत्वमा पार्टी हुनुपर्ने उनीहरूको तर्क छ।

पार्टीले डिल्लीराज गौतमको संयोजकत्वमा निर्वाचन समिति बनाएको छ। तर कार्यकर्ताहरूले उक्त समितिलाई तत्काल निर्वाचनका कार्यक्रम सार्वजनिक नगर्न सुझाएका छन्। बन्द सत्रमा सकेसम्म निर्विरोध बनाउने प्रयास गर्ने र त्यो नभएमा मात्रै निर्वाचन समितिले चुनावी कार्यक्रम ल्याउनुपर्छ भन्ने माग उनीहरूको छ। चुनावी कार्य तालिका ल्याउँदा कार्यकर्तामा समेत फुट देखिन सक्ने भएकोले सकेसम्म सर्वसम्मतिको प्रयास गरिनुपर्ने जिल्ला अधिवेशनका प्रतिनिधि कृष्ण गौतमले बताए। जिल्ला प्रतिनिधि बनेर आएकाहरूले चुनावभन्दा सर्वसम्मत खोजेको तर नेताहरूले भने चुनावमा जान खोजेको उनले टिप्पणी गरेका छन्।

जिल्ला भित्रका एमालेका केन्द्रीय सदस्यहरू सक्रिय भएर सर्वसम्मतको प्रयास गर्नुपर्ने अधिकांशको मत छ। केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा र सूर्य पाठकले सर्वसम्मतका लागि नै अधिकतम प्रयास गर्ने बताएका छन्। आकाङ्क्षी चार जनामध्ये पौडेल दुई पटक नेतृत्व गरिसकेका हुन्। के.सी दुई वर्ष नेतृत्वमा रहे। भुसाल हालका सचिव हुन् भने गौतम पूर्व प्रदेश सदस्य हुन्।

अधिवेशनका लागि खुला सदस्यका लागि पहिलो १५ जना बराबर एक जना अल्पसङ्ख्यक भए पाँच जना बराबर एक र दलित सदस्यका लागि सात बराबर एक जना प्रतिनिधिले भाग लिन पाउनेछन् । यीमध्ये ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको छ। जिल्लाभरबाट छ सय ३७ जना प्रतिनिधि छनोट भइसकेका छन्।

उनीहरूले जिल्ला नेतृत्व चयन गर्नेछन्। अधिवेशनले एक सय ५ सदस्य रहेको जिल्ला कमिटी चयन गर्नेछ। अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.