इलाम : आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि राजनीतिक दलको प्राथमिकतामा महिला उम्मेदवार परेका छैनन्।
२० उम्मेदवारले मनोनयन दर्ता गराउँदा महिला एकैजना पनि छैनन्। १२ दल र आठ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयन गर्दा महिलाको संख्या शून्य भएको हो।
नेपाली कांग्रसले २ जना र नेकपा एमालेले एक जना महिला उम्मेदवार सिफारिस गरेका थिए। एमालेबाट रिपल राई र नेपाली कांग्रेसले चन्द्रमाया राई र शान्तिकला राईको नाम केन्द्रमा सिफारिस गरेको थियो।
तर पार्टीको उम्मेदवारको रुपमा महत्व पाएनन्। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्बाङलाई मैदान ल्याएका छन्। सुहाङलाई नेपाल कम्युनिस्ट पार्टीले समेत समर्थन गरेको छ।
नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्काले उम्मेदवारी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ। पहिचान पक्षधरतर्फबाट डकेन्द्रसिंह थेगिमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) समाजवादीबाट जितबहादुर राई उम्मेदवार बनेका छन्। राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराए। स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, केशवकुमार चापागाईं, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।