|

जनकपुरधाम : मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले वैशाख २० गतेदेखि २९ गतेसम्म शहीद कप अन्तरप्रदेश क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।

बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले जनकपुरधामस्थित निर्माणाधीन श्रीरामजानकी बहुउद्देश्यीय रंगशालामा क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिइएको छ।

मन्त्री सुरीता साहले देशभरका खेलाडी जनकपुरधाम आउन लागेको अवसरमा प्रतियोगितालाई सभ्य र भव्य बनाउन सबैलाई आ–आफ्नो ठाउँबाट पहल गर्न आग्रह गरिन्।

क्रिकेट प्रतियोगिताको समापन समारोहमा शहीद परिवारलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको बताउँदै मन्त्री साहले खेलकुद क्षेत्रमा देखिएका समस्या समाधानका लागि ऐन, कार्यविधि, बजेट जस्ता विषयप्रति गम्भीरतापूर्वक काम गरिरहेको दाबी गरिन्।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सचिव चूडामणि फुयालले प्रतियोगितामा ७ वटै प्रदेश टोली र जनकपुर–११ गरी कुल ८ वटा क्रिकेट टोलीले प्रतिस्पर्धा गर्ने  बताए।

शहीद कप क्रिकेट कमिटीको संयोजन तथा क्रिकेट एशोसिएशन नेपालको सहकार्यमा सञ्चालन हुने टी–२० क्रिकेट प्रतियोगितामा विजेता टोलीलाई रु. २ लाख ११ हजार र उपविजेतालाई १ लाख १ हजारका साथै ट्रफी प्रदान गरिनेछ।

म्यान अफ द सिरिजलाई १५ हजार र प्रत्येक खेलका म्यान अफ द म्याचलाई २ हजार ५ सयका साथमा ट्रफी प्रदान गरिने कमिटीका संयोजक रूपेशकुमार सिंहले बताए।

३७ देखि ४० लाख रुपैयाँ अनुमानित खर्च रहेको यो प्रतियोगिताका लागि मन्त्रालयले ३० लाख रुपैयाँ छुट्याएको छ। थप रकम व्यावसायिक प्रतिष्ठानबाट सहयोग लिन सकिने संयोजक सिंहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.