|

विराटनगर : ‘ओई तेरा पोस्टकार्ड कतिवटा भए ? अनि नयाँ वर्षमा पिकनिक कहाँ जाने ? पैसा कतिकति उठाउने ?’ 

विद्यार्थी जीवनको एउटा कालखण्डमा साथीले सोधेको प्रश्न थियो। त्यतिखेर यो केवल प्रश्न मात्रै थिएन। नयाँ वर्षको आगमनसँगै उत्साह बटुल्ने एउटा मिठो क्षण थियो।

साथीले पठाएको पोस्टकार्ड गन्दै शायरी पढ्दै एक्लै मुस्कुराउँदा ‘बहुलाइस् क्या हो?’ आमाको कर्कश आवाजले झस्काउँथ्यो।

जम्मा भएका पोस्टकार्ड सुत्नेकोठाका भित्तामा लस्कर टाँस्दा अहिले बजारमा पाइने महँगा सजावटका सामग्रीभन्दा कम लाग्दैनथ्यो। किनकि त्यहाँ भावना, प्रेम र सामीप्य मिश्रित हुन्थ्यो।

नयाँ वर्ष आउनु हप्ता दिनअघि नेपाली, हिन्दी चलचित्रका नायक–नायिकाको पोस्टकार्डमा मनका भावना शायरीमार्फत पोख्दै शुभकामना आदानप्रदान गर्ने एउटा माध्यम थियो।

एक रुपैयाँ गोटामा पाइने ती पोस्टकार्ड किन्ने पैसा पनि कहाँ सहज उपलब्ध हुन्थ्यो र? बाआमाले वेलामौकामा खाजा खान दिनुभएको पैसा जोहो गरेर आफूलाई मन परेको हिरो, हिरोनीको पोस्टकार्ड किन्दाको त्यो क्षण कति रमाइलो हुन्थ्यो।

साथीले पठाएको पोस्टकार्डमा लेखिएको शायरीको प्रतिउत्तरमा शब्द खोतल्न र फुराउन निकै दिमाग ख्याउनु पर्थ्यो। तैपनि कलम लिएर बस्न थालेपछि केही न केही शब्द लस्कर लाग्थे।

त्यो समय पैसा थोरै थियो, साथीहरू धेरै थिए। जीवन रंगिन पक्कै थिएन तर रंग भर्ने बाल्यकाल थियो। साथीभाइबीचको सामीप्य थियो। 

त्यसो त नयाँ वर्षको अघिल्लो दिन मिल्ने साथीभाइ मिलेर पैसा उठाएर पिकनिक जाने योजना बनाउँदाका ती क्षणहरू अहिले त कथा जस्तै लाग्न थालेको छ। 

घरैबाट चामल, दाल, आलु, थाल, भाँडा भेला गरेर अघिल्लो रात कहिले बिहान हुन्छ भन्दै कुर्दाका ती अनिदा रात सम्झनाका क्यानभासमा सुन्दर चित्रझैँ कोरिएका छन्।

त्यो वेला टेन्ट हाउस थिएन। ग्यास थिएन, भनेजस्तो कुनै सुविधा थिएन तर सामूहिक काम गर्ने हौसला र ऊर्जा थियो। ढुंगे चुल्होमा घरैबाट लगेको दाउरा बालेर सबै मिलेर पकाएको खाना र मासुको स्वाद कुनै टेन्ट हाउसको सेफले पकाएको भन्दा कम स्वादिलो हुँदैन थियो।

नाच्न ठूला–ठूला साउण्ड सिस्टम नभए पनि मिठो धुनमा बाँसुरी र मादल बजाउने सीपालु कलाकार थिए। 
‘सम्झना–बिर्सना सललल–ल 
झन्‌झन् बढ्यो तिर्सना, सललल–ल
मायाको डोरीले तिमीलाई बाँधुला।’

यस्तै यस्तै गीतको लय, सुर र ताल बिगार्दै भए पनि नाच्दै गाउँदै रमाइलो गर्दा अहिले बज्ने ठूलाठूला साउण्ड सिस्टमभन्दा कम लाग्दैन थियो।

समयसँगै जीवनशैली फेरियो। प्रविधिको विकाससँगै अहिले शुभकामना आदानप्रदान पनि डिजिटलमय भएको छ। फेसबुक मेसेन्जरमार्फत शुभकामना आइरहेकै हुन्छन्। यस्तो लाग्छ, निकट मित्रता जीवन्त छ, सामीप्य जीवित छैन। प्रविधिको विकाससँगै नकारात्मक एउटा पाटो होला तर सकारात्मक पनि छ। 

हिजो छुटेको पुराना साथीहरू फेसबुकमार्फत भेट्ने अवसर मिलेको छ। हिजो आफैँ पकाएर बनाएर खाँदा रमाइलो गर्ने केही समय छुट्दै गर्दा अहिले टेन्ट हाउसको सुविधाले रमाइलो गर्ने समय बचेको छ। यति मात्रै नभएर टेन्ट हाउस सञ्चालन गर्दैगर्दा आर्थिक क्षेत्रमा पनि राम्रो टेवा पुगेको छ भने स्वरोजगारीको अवसर समेत मिलेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.