|

काठमाडौं : आगामी वैशाख दोस्रो हप्ता कतारका कतारका राजा शेख तामिम विन हमद अल थानी नेपाल भ्रमणमा आउने तय भएको छ। यस बीचमा कुनै परिवर्तन नभए (अप्रिल २५) मा उनी पहिलोपटक नेपाल आउने  लगभग निश्चित भइसकेको बताइएको छ।

कतार नेपालको नेपाली श्रमिकहरूको गन्तव्‍य मुलुकसमेत भएकाले त्यहाँका राजाबाटै हुन लागेको उच्चस्तरीय भ्रमणलाई महत्व दिइएको छ। भ्रमणका क्रममा केही सम्झौतामा हस्ताक्षरको तयारीसमेत छ।

कतारबाट पहिलोपटक नेपालमा हुन लागेको यस उच्चस्तरिय भ्रमणमा कतारले नेपालको स्वास्थ्य क्षेत्रको विकासको लागि पनि सहयोग गर्ने इच्छा देखाएको हुँदा सोही अनुरुपको तयारी अगाडि बढाइएको छ।

कतारले स्वास्थ्य क्षेत्रमा पनि विशेष गरी बाल स्वास्थ्यको  क्षेत्रमा उल्लेखनीय रूपमा (९ अर्ब बराबरको) सहयोग गर्न चाहेको र सोही अनुरुपको प्रस्ताव पेस गर्न अनुरोध गरेको बताइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले कतारलाई सरकारी सेवातर्फ  केन्द्रीय बाल अस्पतालको रुपमा रहेको नेपालकै पुरानो बाल अस्पताल  कान्ति बाल अस्पताललाई सुपरस्पेसियालिटीको बाल अस्पताल बनाउने नेपाल सरकारको प्रस्तावलाई सहयोग गर्न सहयोग गर्ने प्रस्ताव गरेको छ।

कान्ति अस्पतालाई सुपरस्पेसियालिटी सहितको सेवा विस्तार गर्ने स्वास्थ्य मन्त्रालयको पुरानो र महत्वाकांक्षी योजना भए पनि हालसम्म पर्याप्त बजेट नहुँदा यो योजना अघि बढ्न सकेको छैन।

तर, यही बेलामा कतार सरकारले बाल स्वास्थ्यको क्षेत्रमा प्रत्यक्ष रूपमा देखिने केही ठूलो योजना ल्याउन प्रस्ताव गरेपछि  मन्त्रालयले कान्तिको सुपरस्पेसियालिटी सेवा विस्तारमा  सहयोग गर्न प्रस्ताव गर्ने सहितको प्रस्ताव प्रधानमन्त्रीको कार्यलयमा पेस गरिसकेको छ।

स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण पौडेलले भने, ‘कतार सरकारले बाल स्वास्थ्यको क्षेत्रमा प्रत्यक्ष रुपमा देखिने केही ठूलो योजना ल्याउन प्रस्ताव गरे हामीले यसअघि नै अघि सारेको कान्ति अस्पतालको सुपरस्पेसियालिटी सेवा गर्ने योजनालाई सहयोग गर्ने प्रस्ताव सफारिस गरेका हौँ' उनले भने, 'सायद स्वास्थ्य क्षेत्रमा माग गरिएको यो नै सबैभन्दा ठूलो सहयोग प्रस्ताव हुन्छ होला किन की यो ९ अर्ब बराबरको सहयोग हो।’

यता, कतार सरकारले नेपालको बाल स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय रूपमा सहयोग गर्न इच्छा देखाएपछि वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला सहितको टिमले बूढानीलकण्ठमा बनाइरहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)ले व्यक्तिगत तवरमा उक्त प्रस्ताव आफ्नो पक्षमा पार्ने गरी भित्रभित्रै भेटघाट गरिरहेको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ।

मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘अहिले कान्तिमा पूर्वाधार र जनशक्ति कम भएका कारण धेरै बिरामीले सेवा पाइरहेका छैनन् यस्तो अवस्थामा अवसर आएको बेलामा कान्तिको विस्तारमा सहयोग पुग्ने खालको सहयोग गर्न कतार सरकारलाई प्रस्ताव गरेका हौँ तर भित्रभित्रै कान्तिले मात्रै बाल स्वास्थ्य क्षेत्रमा काम गर्न सक्दैन यो सहयोग हामीलाई पनि चाहिन्छ भन्दै छलफल अगाडि बढाइएको सूचना आइरहेको छ।'

कतार सरकारले बाल स्वास्थ्यको क्षेत्रमा ठूलो परियोजनामा ठूलो सहयोग गर्ने मनसाय देखाएसँगै किओचका अधिकारीहरू अर्थ, परराष्ट्र मन्त्रालयका साथै उच्च राजनीतिक नेतृत्वलाई भेटेर सरकारी अस्पतालले धान्न नसक्ने भन्दै परियोजनाको पक्षमा लबिइङ गरिदिन आग्रह गरिरहेका छन्।

यस विषयमा बुझ्न खोज्दा किओच प्रमुख डा. कोइरालासँग फोन सम्पर्क हुन सकेन। बाल स्वास्थ्यपछि कतार सरकारलाई टेलिमेडिसिन, अस्पतालहरूको पूर्वाधार विकास लगायतको क्षेत्रमा पनि सहयोग गर्ने प्रस्ताव अघि सारिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए।

'कान्तिको सेवा विस्तारपछि हामीले कतारमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सेवालाई ध्यान दिएर टेलिमेडिसिन सेवामा सहयोग गर्ने र यही रहेका अन्य अस्पतालहरुको पूर्वधार विकासमा सहयोग गर्ने प्रस्ताव पनि सिफारिस गरेका छौँ’ डा बुढाथोकीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.