|

काठमाडौं : सरकारले आइतबार (वैशाख २) देखि देशभर नयाँ शैक्षिक सत्र २०८१ को लागि भर्ना अभियान शुरू गर्दै छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, अनुसन्धान तथा गुणस्तर सुधार शाखाका निर्देशक  गोविन्दराज पोख्रेलका अनुसार अभियानको पहिलो दिन वैशाख २ गते सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, मन्त्रालय लगायत निकायको सहभागिता र शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तरक्रिया गर्ने कार्यक्रम छ। 

वैशाख २ देखि २१ गतेसम्म रेडियोबाट अभियानबारे सन्देश प्रसारण गर्नेछ। वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम र वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन समाजका उदारमना सदस्यसँग आह्वान गर्नेलगायत कार्यक्रम निर्धारण भएको छ।

तर, कुनै वेला ‘अभिभावकत्व ग्रहण गर्ने होड’ चलेकोमा पछिल्लो समय भने यो अभियान सेलाउँदै गएको छ। कुन नेताले कसको अभिभावकत्व लिने भन्ने हालसम्म केही कार्यक्रम सार्वजनिक भएको पनि छैन। तयारी पनि देखिएन।

यद्यपि सरकारले भने अभिभावकत्व लिने कार्यक्रमलाई निरन्तरता दिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार भर्ना अभियानमा अभिभावकत्व लिने कार्यक्रम छ। तर, कसलाई लिने भन्नेमा जानकारी नभएको बताए। ‘अभिभावकत्व लिने कार्यक्रम छ। तर कसलाई लिने भन्नेमा शिक्षा मन्त्रालयले निर्णय गर्ला,’उनले भने। 

ओलीले अभिभावकत्व नलिने 

पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न समयमा शैक्षिक अभिभावकत्व लिँदै आएका थिए। तर, यो नयाँ शैक्षिक सत्रको बेला भने अभिभावकत्व ग्रहण गर्ने केही कार्यक्रम ओलीको नभएको उनका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए।

उनले भने,‘यो पटक अभिभावकत्व लिने भन्ने त्यस्तो केही जानकारी छैन,उहाँले लिनु हुन्न होला, किन भने यसअघि नै उहाँले २७,२८ जनाको अभिभावकत्व लिइसक्नु भएको छ,उहाँहरूलाई अहिले पढाउँदै आउनु भएको छ।’

भट्टराईले पनि अभिभावकत्व नलिने

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पनि भर्ना अभियानमा बालबालिकाको अभिभावकत्व लिने तयारी गरेका छैनन्। उनले चार वर्षअघि भने गोरखाका रोशन परियारको अभिभावकत्व लिएका थिए।

भट्टराईका प्रमुख स्वकीय सचिव रोशन पोखरेलले भने,‘यसपालि नयाँ विद्यार्थीको अभिभावकत्व लिने केही कार्यक्रम छैन,पहिला लिनु भएकोलाई राम्रोसँग पढाउने त्यसैलाई राम्रोसँग निरन्तरता दिने उहाँको सोच छ।’

प्रचण्डले गरेनन् खोजखबर

प्रधानमन्त्री प्रचण्डले यसअघि अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरूलाई भने कुनै खोजखबर नगरेको पाइएको छ। २०७५ वैशाखमै प्रचण्डले पश्चिम चितवनको मेघौलीमा अल्पसंख्यक समुदायका ९ वर्षीय अरूण मुसहर र साढे ४ वर्षीय पत्रुस माझीलाई स्थानीय साझापुर माध्यमिक विद्यालयमा भर्ना गराएर अभिभावकत्व प्रदान गरेका थिए।

तर उनीहरूलाई भर्ना गरेपछि प्रचण्डबाट केही सहयोग नमिलेको साझापुर माविका प्रधानाध्यापक डिल्लीराम सोडारीले जानकारी दिए। उनका अनुसार अहिले पढ्न भन्दा पनि भोको पेट भर्नै हम्मेहम्मे दुवैलाई छ।

‘प्रधानमन्त्रीज्यूले अरूणको घर चाहिँ बनाइदिनु भयो,अरू चाही केही सहयोग भएको देखिँदैन,’उनले भने, ‘त्यसैले यो एउटा चर्चा कमाउन मात्रै अभिभावकत्व लिएको देखियो। सकिँदैन भने यस्तो शैली अपनाउनु हुँदैन।’ उनका अनुसार  अरूण १४ र पत्रुस ९ वर्षका भए। पत्रुससँग जग्गा जमिन छ। उनलाई हेरचाह गर्ने मान्छे छन्। तर अरूण सुकुम्बासी हुन्। 

अहिले पत्रुस कक्षा ४ मा अध्ययन गरिरहेका छन् भने अरूण कक्षा ५ मा अध्ययन गर्दै आएका छन्। उनले भने,‘हामीले सक्ने जति सबै निःशुल्क गरेका छौँ तर आर्थिक अवस्था भने कमजोर छ।’ 

अन्य बालबालिकाको अवस्था के छ ?

पूर्व प्रधानमन्त्री ओलीले अभिभावकत्व ग्रहण गरेकामध्ये ठिल्ले साङमु लामा र छेरिङ छोन्तोम लामा पनि हुन्। ओलीले २०७५ वैशाख १ गते ‘कर्णाली रारा पर्यटन वर्ष’मा मुगुम–कार्मारोङ गाउँपालिका-८ स्थित बुद्ध नमुना माध्यमिक विद्यालयमा भर्ना गरेर मुगुकी ठिल्लेको अभिभावकत्व ग्रहण गरेका थिए।

छेरिङलाई ओलीकी धर्मपत्नी राधिका शाक्यले सोही विद्यालयमा भर्ना गरेर अभिभावकत्व ग्रहण गरेकी थिइन्। बुद्ध नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक लग्नसिंह सेजुवालका अनुसार भर्ना गराएपछि ओलीले २०७५ भदौमा ठिल्ले र छेरिङका लागि १० हजारका दरले दुई जनालाई २० हजार रूपैयाँ उपलब्ध गराएका थिए।

त्यसयता ओलीले दुवै जनाको चासो लिएका थिएनन्। तर भर्ना गरेको पाँच वर्षपछि ओलीले दुवै जनालाई पुनः सहारा दिएका छन्। उनले दुवैलाई कीर्तिपुरस्थित ल्याबरोटरी बोर्डिङ स्कुलमा भर्ना गराएका छन्। ओलीका प्रेस संयोजक बजगाईँका अनुसार गत वर्ष नै उपत्यकामा ल्याएर त्यही स्कुलको होस्टलमा राखिएका छन्।

अन्य जिल्लाका विद्यार्थीलाई उपत्यकामै भर्ना गरी ओलीले पढाउँदै आएको उनको भनाइ छ। गाउँमा छिरिङ कक्षा-६ र ठिल्ले कक्षा-५ मा अध्ययनरत थिए। ल्याबरोटरी स्कुलले गत वर्षको भदौ ६ गते छेरिङ कक्षा-३ र ठिल्ले कक्षा-२ मा भर्ना भएको जानकारी दिएको दिएको थियो।

यस हिसाबले अहिले उनीहरू छेरिङ ४ र ठिल्ले कक्षा ३ मा पुगेका देखिन्छ। ‘अध्यक्ष ज्यूले उहाँ दुई जना लगायत सबैलाई हेर्दै आउनु भएको छ,समय समयमा पढाइ शुल्क तिरिदिनु भएको छ। केही समस्या छैन। कतिपय १२ पास गरेर जागिर खाइसके तर यस्तो कुरा प्रचार गर्न त्यति अध्यक्षज्यू रूचाउनु हुन्न’, प्रेस संयोजक बजगाईले भने।

त्यस्तै, २०७५ वैशाख ३ गते नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि सरकारको भर्ना अभियानलाई साथ दिँदै बूढानीलकण्ठ नगरपालिका–१३ की स्थानीय रशिका श्रेष्ठलाई भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका थिए।

उनले रशिकालाई बूढानीलकण्ठ नगरपालिकाको चुनिखेलस्थित जनउद्धार विद्यालयमा भर्ना गरेका थिए। तर,अहिले श्रेष्ठले त्यहाँको स्कुलबाट पढाइ छोडिसकेका छन्। उक्त विद्यालयका प्रधानाध्यापक हरिराम खत्रीले कक्षा ७ मा पढ्दै गर्दा पारिवारिक समस्या भएको भन्दै यही वर्ष पढाइ छाडिसकेको जानकारी दिए।

‘गगन थापाज्यूले यहाँ पढ्न छात्रवृत्तिको व्यवस्था गरिदिनु भएको थियो,तर पारिवारिक समस्या भन्दै यो स्कुलबाट पढाइ छोड्नु भयो। त्यसपछिको केही जानकारी छैन’, उनले भने। 

पूर्वप्रधानमन्त्री भट्टराईले चार वर्षअघि अभिभावकत्व लिएका गोरखाका रोशन परियारको भने पढाइ राम्रो रहेको जानकारी दिएका छन्। गोरखा पालुङटार नगरपालिका २ का परियार हाल ९ वर्षका भए। हाल त्यही वडास्थित शारदा माविमा कक्षा ४ मा पढ्दै आएको भट्टराईले जानकारी दिएका छन्।

केही समयअघि सामाजिक सञ्जालमा तस्विर शेयर गर्दै भनेका छन्, ‘४ वर्ष अघि सरकारले अघि सारेको सार्वजनिक विद्यालयका बालबालिकालाई शिक्षामा प्रोत्साहन गर्न सबैले १-१ विद्यार्थीलाई रेखदेख गर्ने नीति अन्तर्गत मैले रेखदेख गर्दै आएका यी बालक कक्षामा निरन्तर उत्कृष्ट रहँदै आएको पाउँदा गर्वको अनुभूति भएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.