|

इजराइलले इरानको ठूलो मात्रामा मिसाइल र ड्रोन आक्रमणलाई विफल बनाएपछि अमेरिकाले मध्यपूर्वमा संकट बढेको हेर्न नचाहेको प्रतिक्रिया दिएको छ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले एनबिसीको मिट द प्रेसमा यो संकट बढ्दै गएको हेर्न नचाहेको  बताए।

इरानको आक्रमणपछि व्यापक द्वन्द्वको आशंकाहरूबीच इजराइल आइतबार उच्च सतर्क अवस्थामा थियो। अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा तेहरानको वाणिज्य दूतावासमा भएको इजराइली हमलाको जवाफमा इरानले शनिबार राति इजराइली क्षेत्रमा पहिलो पटक प्रत्यक्ष आक्रमण गरेको थियो । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजराइलका लागि वासिङ्टनको ‘बलियो’ समर्थनको पुष्टि गर्नुभए पनि आफ्नो कट्टर सहयोगी इजराइललाई सैन्य प्रतिक्रियाबाट टाढा राख्न मार्गदर्शन गरिरहेका छन्।

समाचार आउटलेट एक्सियोसका अनुसार राष्ट्रपति बाइडेनले इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग इरानविरुद्ध इजराइलको जवाफी आक्रमणको विरोध गर्ने बताएका थिए भने नेतन्याहुले ‘जित हासिल गर्नुपर्ने बताएका थिए। 

अमेरिकी सैनिकहरूका लागि कुनै पनि इरानी खतराप्रति अमेरिका ‘सतर्क’ रहेको किर्बीले अन्तरवार्तामा बताए। ‘हामी के गर्नेछौँ र आफ्ना कर्मचारीका लागि कुनै पनि सम्भावित खतरालाई कति गम्भीरतापूर्वक लिन्छौँ भनेर हामीले इरानसहित सबै पक्षलाई स्पष्ट गरेका छौँ’, उनले भने।

इरानले शनिबार राति इजराइलतर्फ तीन सयभन्दा धेरै ड्रोन र मिसाइल प्रहार गर्दा १२ जना घाइते भएको इजराइली सेनाले बताएको छ । यद्यपि सेनाले अमेरिका, जोर्डन, बेलायत र अन्य सहयोगीहरूको मद्दतमा करिब सबै ड्रोन र मिसाइल इजराइली क्षेत्रमा पुग्नुभन्दा अघि नै रोकेको बताएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.