|

अक्टोबर ७ को बिहान जब हमासले इजरायलमाथि आक्रमण गर्‍यो। तब इरानका सर्वोच्च नेताका सल्लाहकारले प्यालेस्टिनी लडाकुहरूलाई बधाई दिए।

सर्वोच्च नेता अयतोल्लाह खमेनीका सल्लाहकारले प्यालेस्टिनी लडाकुहरूलाई इजरायलमा सबैभन्दा ठूलो आक्रमण गरेकोमा बधाई दिँदै भनेका थिए, ‘हामी प्यालेस्टिनी लडाकुहरूलाई बधाई दिन्छौँ। हामी प्यालेस्टाइनजेरुसेलमको मुक्ति नभएसम्म प्यालेस्टिनी लडाकुहरूको साथमा उभिनेछौँ।’

यसको ठिक ६ महिनापछि अप्रिल ३ मा इरानले इजरायमाथि आक्रमण गरेको छ। इतिहासमा पहिलोपटक इरानले इजरायलमाथि आक्रमण गरेको हो।  

 सिरियामा इरानको दमास्कस दूतावासको कन्सुलर खण्डमा इजरायलले घातक हमला गरेको इरानको आरोप छ। अप्रिल १ मा भएको हमलामा दुई जनरलसहित इरानको रिभोल्युसनरी गार्डका कम्तीमा सात सदस्य मारिएका थिए।

उक्त आक्रमणपश्चात् लन्डन स्कुल अफ इकोनोमिक्सका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक फवाज गेर्गेसले भनेका थिए, ‘यो इरानमा मात्र होइन, रिभोलुसनरी गार्ड्स कोर्प्स फोर्सको शीर्ष नेतृत्वमाथि पनि आक्रमण थियो।'

वरिष्ठ इरानी अधिकारीहरूले आक्रमणको आलोचना गरे र इजरायलविरुद्ध बदला लिने धम्की दिएका थिए।

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले चेतावनी दिँदै भनेका थिए, ‘हामी उनीहरूलाई यो अपराध गरेको र त्यस्ता कदम चालेकोमा पश्चात्ताप गर्न बाध्य पार्नेछौँ।'

इरानी राष्ट्रपति इब्राहिम राइसीले आक्रमणलाई 'अमानवीय, आक्रामक र घृणित कार्य' भनेका छन् र यसको प्रतिकार गरिने बताएका थिए।

इरानले प्रतिशोध लिने वाचा गरेपछि इजरायलमाथि आक्रमणको संकेत देखिएको थियो।  लगत्तै अमेरिकाले नै शुक्रबार मध्यपूर्व क्षेत्रमा सैन्य सुदृढीकरण पठाउने निर्णय गरेको थियो।

इजरायलद्वारा हमला विफल पारिएको दाबी 

इरानले शनिबार राति इजरायलतर्फ तीन सयभन्दा धेरै ड्रोनमिसाइल प्रहार गर्दा १२ जना घाइते भएको इजरायली सेनाले बताएको छ।

यद्यपि सेनाले अमेरिका, जोर्डन, बेलायत र अन्य सहयोगीहरूको मद्दतमा करिब सबै ड्रोनमिसाइल इजरायली क्षेत्रमा पुग्नुभन्दा अघि नै रोकेको बताएको छ।

केही आक्रमण इराक र यमनबाट समेत भएको इजरायली सेनाका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्। सेनाले आक्रमणमा प्रयोग गरिएका ड्रोनक्षेप्यास्त्रमध्ये ९९ प्रतिशतलाई इजरायली प्रतिरक्षा प्रणालीले रोकेको जनाएको छ।

हगारीका अनुसार इजरायलतर्फ प्रहार गरिएका कुनै पनि ड्रोन र क्रुज क्षेप्यास्त्र आफ्नो क्षेत्रमा प्रवेश गरेका छैनन् र केही ब्यालेस्टिक क्षेप्यास्त्र मात्र इजरायलसम्म पुगेका छन्।

ब्यालेस्टिक क्षेप्यास्त्रमध्ये एउटाले सेनाको ‘नेभाटिम शिविर’ मा हल्का प्रभाव पारेको उल्लेख गर्दै उनले सैन्य परिसरमा ‘अझै पनि काम भइरहेको’ उल्लेख गरे।

रक्षामन्त्री योआभ ग्यालान्टले भने, ‘संयुक्त राज्य अमेरिका र थप साझेदारहरूसँग मिलेर हामीले इजरायली भूमिको रक्षा गर्न सफल भएका छौँ। आक्रमणको जोखिम अझै सकिएको छैन, हामी सतर्क रहनुपर्छ।’

मध्यपूर्वमा संकटबढेकोहेर्न चाहँदैन अमेरिका

इजरायलले इरानको ठूलो मात्रामा मिसाइलड्रोन आक्रमणलाई विफल बनाएपछि अमेरिकाले मध्यपूर्वमा संकट बढेको हेर्न नचाहेको ह्वाइट हाउसका एक शीर्ष अधिकारीले आइतबार बताएका छन्।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले एनबिसीको ‘मिट द प्रेस’ मा भने, ‘हामी यो संकट बढ्दै गएको हेर्न चाहन्नौँ, हामीले इरानसँग व्यापक युद्धको अपेक्षा गरेका छैनौँ।’

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका लागि वासिङ्टनको ‘बलियो’ समर्थनको पुष्टि गरे।  बाइडेनले इजरायलमाथि आक्रमण गरे अमेरिका इजरायलको प्रतिरक्षामा उत्रिने चेतावनीसमेत दिएका थिए।

‘हामी इजरायलको सुरक्षाका लागि प्रतिबद्ध छौँ, इजरायलको साथ दिन्छौँ, इजरायलको सुरक्षा गर्छौँ। इरान सफल हुन पाउनेछैन’, बाइडेनले सन्देशमा भनेका छन्।

आक्रमणपश्चात् के भन्छन् इरान र इजरायल?

इजरायलको च्यानल १२ टिभीले एक इजरायली अधिकारीलाई उद्धृत गर्दै यस आक्रमणको 'उचित जवाफ' दिइने बताएको छ।

इजरायल र यसका छिमेकीहरूमाथिको हवाई क्षेत्र अब फेरि खोलिएको छ। रक्षामन्त्री याभ गालान्टले इरानसँगको द्वन्द्व अझै नसकिएको बताएका छन्।

यसैबीच इरानले इजरायललाई चेतावनी दिएको छ। इरानको सशस्त्र बलका प्रमुख मेजर जनरल मोहम्मद बगेरीले भने, ‘यदि इजरायलले इरानसँग बदला लिन्छ भने यसपटक उसको सैन्य कारबाहीको दायरा अझ व्यापक हुनेछ।'

यदि अमेरिकाले इजरायललाई जवाफी कारबाहीमा सहयोग गरेमा उसको निशानामा पनि आक्रमण हुने उनले बताए।

आइआरजीसीका कमाण्डर होसेन सलामीले तेहरानले आफ्नो हित, अधिकारी वा नागरिकहरूलाई हानि पुर्‍याउने कुनै पनि इजरायली आक्रमणको जवाफ दिने बताएका छन्।

इजरायलमाथिको आक्रमणप्रति कसले के भने?

इरानले शनिबार राति इजरायलमाथि गरेको आक्रमणको विश्वका विभिन्न देशले निन्दा गर्दै उक्त आक्रमणले मध्यपूर्वलाई थप अस्थिर बनाउने चिन्ता प्रकट गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले उच्च सुरक्षा अधिकारीहरूसँगको आपतकालीन बैठकपछि इजरायललाई ‘आइरनक्लाड’ समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्। ‘इरानले इजरायलविरुद्ध गरेको आक्रमणबारे जानकारी लिन मैले आफ्नो राष्ट्रिय सुरक्षा टोलीलाई भेटेको छु। इरान र उसका सहयोगीहरूको खतराविरुद्ध इजरायलको सुरक्षाप्रतिको हाम्रो चट्टानी प्रतिबद्धता छ,’ ह्वाइट हाउसमा भएको बैठकको तस्वीर पोस्ट गर्दै बाइडनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले एक वक्तव्य जारी गर्दै ‘लापरबाहीपूर्ण’ आक्रमणको निन्दा गर्दै यसले तनाव बढाउने र यस क्षेत्रलाई अस्थिर बनाउने खतरा रहेको बताएका छन्। इरानले फेरि एकपटक आफ्नो घरआँगनमा अराजकता छर्न खोजेको देखाएको उनले बताए।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इस्लामिक गणतन्त्र इरानले इजरायलमाथि गरेको व्यापक आक्रमणको निन्दा गर्दै यसले गम्भीर तनाव निम्त्याएको बताए।

उनले भने, ‘म यस क्षेत्रव्यापी तनावको वास्तविक खतराबारे निकै चिन्तित छु। मध्यपूर्वमा विभिन्न मोर्चामा ठूलो सैन्य मुठभेड निम्त्याउन सक्ने कुनै पनि कार्यबाट जोगिन सबै पक्षलाई आह्वान गर्दछु।'

युरोपेली संघका विदेश मामिला प्रमुख जोसेप बोरेलले एक्समा जारी गरेको सन्देशमा आक्रमणलाई ‘अकल्पनीय जोखिम वृद्धि र क्षेत्रीय सुरक्षाका लागि गम्भीर खतरा’ भन्दै निन्दा गरेका छन्।

चीनको विदेश मन्त्रालयले आक्रमणलाई ‘गाजा द्वन्द्वको पछिल्लो बाछिटाको रूपमा चित्रण गर्दै संयमित हुन आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले गाजामा युद्धविरामको माग गर्दै हालै पारित गरेको प्रस्तावको कार्यान्वयनको लागि चीनले आह्वान गरेको छ।

‘अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी प्रभाव भएका देशहरूलाई यस क्षेत्रको शान्ति र स्थिरताका लागि रचनात्मक भूमिका निर्वाह गर्न चीन आह्वान गर्दछ,’ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सबै पक्षलाई संयमता अपनाउन, हिंसाबाट जोगिन र कूटनीतिक वार्तामा फर्कन आग्रह गर्दै तत्काल तनाव कम गर्न आह्वान गरेको छ।

फ्रान्सका विदेशमन्त्री स्टेफन सेजोर्नले भने, ‘यो अभूतपूर्व कदम चाल्ने निर्णय गरेर इरान आफ्नो अस्थिरताको कार्यहरूमा नयाँ स्तरमा पुगेको छ र सैन्य वृद्धिको जोखिम उठाइरहेको छ।’

बर्लिनका उच्च कूटनीतिज्ञले पनि आक्रमणले अस्थिरता निम्त्याउने चेतावनी दिँदै तेहरानलाई आक्रमण रोक्न आग्रह गरेका छन्।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ओटावामा पत्रकारसँग कुरा गर्दै क्यानडाले इरानले इजरायलमाथि गरेको हवाई आक्रमणको निन्दा गर्दै आफू र आफ्नो देश इजरायलको साथमा रहेको बताएका छन्।

‘अक्टोबर ७ मा हमासको नृशंस आक्रमणलाई समर्थन गरेको इरानको पछिल्लो कदमले यस क्षेत्रलाई थप अस्थिर बनाउनेछ र स्थायी शान्तिलाई थप कठिन बनाउनेछ,’ उनले भने।

कायरोको विदेश मन्त्रालयले शत्रुता बढ्दै गएकोमा गहिरो चिन्ता व्यक्त गर्दै अधिकतम संयम अपनाउन आग्रह गरेको छ। मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘द्वन्द्वको क्षेत्रीय विस्तारको जोखिम’बारे पनि चेतावनी दिइएको छ र इजिप्टले ‘स्थितिलाई नियन्त्रण गर्न द्वन्द्वका सबै पक्षहरूसँग प्रत्यक्ष सम्पर्कमा रहनेछ।’

साउदी अरबको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी ‘सैन्य गतिविधि वृद्धि’ प्रति चिन्ता व्यक्त गरेको छ।  साउदी अरबले सबै पक्षलाई पूर्ण संयम अपनाउन र यस क्षेत्र र त्यहाँका जनतालाई युद्धको खतराबाट जोगाउन’ आह्वान गरेको छ। उसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने दिशामा आफ्नो जिम्मेवारी वहन गर्न’ आग्रह गरेको छ।

अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेइको कार्यालयले एक विज्ञप्ति जारी गर्दै आक्रमणको सामना गर्न इजरायली पक्षसँग आफ्नो ‘ऐक्यबद्धता’ व्यक्त गरेको छ।

इरानले इजरायलको अस्तित्व स्वीकार्दैन

सन् १९७९ मा इरानको इस्लामिक क्रान्तिले पश्चिमलाई सत्तामा आउन चुनौती थपिएको थियो। त्यसबेलादेखि इरानी नेताहरूले इजरायलको विनाशको कुरा गरिरहेका छन्।

इरानले इजरायलको अस्तित्वलाई स्वीकार गर्दैन र इजरायलले मुस्लिमहरूको भूमि अवैध रूपमा कब्जा गरेको बताउँछ। अर्कोतर्फ इजरायलले पनि इरानलाई खतराको रूपमा हेरेको छ। इजरायलले पनि सधैँ इरानसँग आणविक हतियार हुनुहुँदैन भन्ने पक्षमा उभिँदै आएको छ।

इरान र इजरायलले एकअर्कासँग सिमाना साझा गर्दैनन्। तर इजरायलका छिमेकी देश लेबनान, सिरिया र प्यालेस्टाइनमा इरानको प्रभाव प्रष्ट देखिन्छ।

एजेन्सीको सहयोगमा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.