|

काठमाडौँ : नेपाल सरकारले ‘हिमाल, मानव र जलवायु परिवर्तन’ विषयमा आयोजना गर्ने अन्तर्राष्ट्रिय संवादको तयारी सुरु गरेको छ। 

आगामी जेठ ९ र १० गते काठमाडौँमा सम्बन्धित विषयका विशेषज्ञहरुलाई आमन्त्रण गरेर अन्तर्राष्ट्रिय संवाद आयोजना गर्न लागेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

संवादको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने मन्त्रालयद्वारा आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। 
कार्यक्रममा वनमन्त्री नवलकिशोर साह सुडीले संवादमा सबैको सरोकारको विषय भएकाले सबैको सहयोगको अपेक्षा गरे। 

उनले पर्वतीय राष्ट्रहरुमा जलवायु परिवर्तनको समस्या समाधानका लागि जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सरकार, निजी क्षेत्र, नागरिक समाज र स्थानीय सरोकारवालाहरूले गरेका उल्लेखनीय कामको प्रस्तुतिका लागि महत्वपूर्ण हुने बताए।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा अरनिको पाण्डेले यस संवादले स्थानीय मुद्दाहरुलाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुग्ने बताए। 

प्रधानमन्त्री दाहालका जलवायु सल्लाहकार डा पपुलर जेन्टलले हिमालका मुद्दामा साझा धारणा तय गर्न संवाद गर्न लागेको बताउँदै यसमा हिमालका साथै सम्पूर्ण पारिस्थितिकीय प्रणालीका बारेमा समेत छलफल हुने उल्लेख गरे।

मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जलवायु परिवर्तनसम्बन्धी यो संवादको उद्देश्य जलवायु परिवर्तनको सन्दर्भमा पर्वतीय पारिस्थितिकीय प्रणालीमा आधारित जलवायु उत्थानशील कार्यहरुलाई सुदृढ, समन्वय र प्राथमिकता दिने रहेको बताए। 

पहिलो सत्रमा ‘जलवायु विज्ञान र पर्वतीय तथ्य र तथ्याङ्क’को विषयवस्तुमा जलवायु परिवर्तनको प्रभाव, सङ्कटसन्नता र जोखिम,  हिमाली क्षेत्रमा भइरहेको वातावरणीय सङ्कटको विषयमा आवश्यक प्रमाणहरू समेट्ने समावेश गरिने छ।

दोस्रो सत्रमा ‘पहाड र प्रकृतिमा आधारित भएर समाधानका उपायहरुमा’ केन्द्रित भएर छलफल गरिनेछ र तेस्रो सत्रमा पर्वतीय क्षेत्रको संरक्षणका लागि आवश्यक पर्ने सम्भावित स्रोत र अवसरहरूको खोजी गर्ने विषयहरु समावेश गरिएको छ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.