|

दैलेख : पश्चिम नेपालको पहाडी जिल्लामा बसोबास गर्दै आएका लोपोन्मुख राउटेहरुको बैंक खाता खोलिने भएको छ। उनीहरूले सरकारबाट पाउँदै आएको सामाजिक सुरक्षा भत्ता सहज तवरमा उपलब्ध गराउने भन्दै उनीहरुको बैंक खाता खोल्न लागिएको हो। 

राउटेलाई सामाजिक सुरक्षा भत्ता बुझ्न सहज बनाउन उनीहरूको बैंक खाता खोल्न लागिएको गुराँस गाउँपालिका दैलेखका अध्यक्ष टोपबहादुर बिसीले बताए। गुराँस गाउँपालिका–८ मा राउटेहरुको पनि बसोबास छ। 

बैंक खाता खोल्न संकलन भएका विवरणले उनीहरूको पहिचान गर्न सहज हुने अध्यक्ष बिसीको भनाई छ। 

‘राउटे जाति जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएको छ। उनीहरूलाई राज्यको मूल प्रवाहमा जोड्न बैंक खाता खोल्न लागिएको हो। बैंक खाता खोलेपछि उनीहरू सरेको ठाउँमा भत्ता वितरण गर्न जाँदा हुन राज्यको खर्चसमेत कम हुन्छ’, अध्यक्ष बिसीले भने।

बैंकमार्फत उनीहरूलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराए उनीहरूले गर्ने खर्चमा बचत हुने अपेक्षा गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत निदेश दाहालले बताए। खाता खोल्न हालसम्म १०७ जना राउटेको विवरण संकलन भइसकेको दाहालको भनाई छ।

‘राउटेको पहिलो पटक बैंक खाता खोल्ने प्रक्रिया शुरु गरेका छौँ। उनीहरू जहाँ गए पनि संघीय सरकारले राउटेको सामाजिक सुरक्षा भत्ता गुराँस गाउँपालिकामा पठाउने गरेको छ। 

जम्मा १३७ जना राउटेमध्ये बैंक खाता खोल्न १०७ जनाको विवरण संकलन भइसकेको छ। अन्यको विवरण संकलनमा लागेका छौँ’, निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले भने।

जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे हाल यहाँको चामुण्डाविन्द्रासैनी नगरपालिका–७ पादुकामा बस्दै आएका छन्। अहिले उनीहरूको जनसंख्या १३७ रहेकोमा पछिल्ला वर्ष जनसंख्या घट्दो छ।

बसोबास गर्दै आएको ठाउँमा कुनै सदस्यको मृत्यु भए तत्कालै उक्त ठाउँ छाड्नुपर्ने राउटेको चलन रहेको छ। 

आफैँले बनाएका काठका सामग्री बिक्री गरी जीवन गुजार्दै आएका राउटे पछिल्ला वर्षहरूमा मदिरालगायतको कुलतमा फस्दै गएका छन्। 

उनीहरूलाई राज्यको मूल प्रवाहमा जोड्न सरकारी निकासँगै विभिन्न सामाजिक संघ संस्थाहरूले काम गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.