|

काठमाडौँ : जटिल प्रकारका नसर्ने रोगहरुले मानिसको मृत्यु हुने संख्या बढ्दै गएको अवस्थामा कुकुरले टोकेर पनि मानिसको ज्यान गइरहेको छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत कात्तिकदेखि चैत पहिलो हप्तासम्म १२ जनाले कुकुरको टोकाइपछि रेबिज संक्रमणले मृत्युवरण गरेका छन्। 

यसमा पनि फागुन पहिलो सातादेखि चैत पहिलो सातासम्ममा मात्रै ९ जनाले रेबिजकै कारण ज्यान गुमाएका टेकु अस्पतालका ओपीडी इन्चार्ज शंकर पाण्डेले बताए। उनीहरु सबै उपत्यका बाहिरबाट रिफर भएर आएका विरामी थिए।

टेकु अस्पतालका अनुसार अहिले दैनिक १५० देखि ३०० जनासम्म रेबिजविरुद्ध खोप लगाउन आउने गरेका छन्। केही वर्ष अघिसम्म हिउँदमा भन्दा गर्मी मौसममा कुकुरले टोकेर रेबिजविरुद्धको खोप  लगाउन आउने बिरामी संख्या धेरै हुन्थे।

पछिल्ला वर्षहरूमा हिउँदको समयमा पनि यो संख्या गर्मी मौसमको जस्तै कुकुर, स्याल जस्ता जनावरले टोकेको भन्दै एन्टिरेबिज भ्याक्सिन लगाउन आउने गरेको अस्पतालले जनाएको छ। 

पछिल्लो ९ महिनामा ४६ हजार जनाले टेकु अस्पतालमा पुगेर रेबिजविरुद्धको भ्याक्सिन लगाएको अस्पतालको विवरणमा उल्लेख गरिएको छ।

विशेष गरी बिहान मर्डिङ वाक् गर्दा, बिहान कलेज जाने विद्यार्थी तथा बाटोमा पैदलयात्रा गरेर आफ्नो गन्तव्यमा पुग्ने सर्वसाधरणहरु धेरै जसो कुकुरले आक्रमण गर्‍यो भन्दै एन्टिरेबिज भ्याक्सिनलगाउन आउने टेकु अस्पतालका इन्चार्ज पाण्डेको भनाइ छ। 

 ‘उपत्यका भित्रका बिरामीहरु प्राय कुकुरले आक्रमण गर्‍यो भन्दै सानो घाउ भए पनि भ्याक्सिन लगाउन आउनुहुन्छ तर उपत्यका बाहिरबाट रिफर भएर आउने विरामीमा रेबिजको जोखिम हुन्छ’, उनले भने।

सडकमा फोहोर उठाउन हिँडेका सरसफाइकर्मी, पुराना सामान संकलन गर्नेहरुमाथि छाडा कुकुरले झम्टिने गरेका छन्।

कुकुरका कारण सवारी दुर्घटनासमेत हुने गरेको छ तर सर्वसाधारण घर बाहिर निस्कदाँ कुकुरले टोक्ने डर कायमै रहँदा काठमाडौँ महानगरले भने छाडा कुकुर नै नभेटिएको बताएको छ। 

तीन/चार महिना घुम्दा पनि छाडा कुकुर कहिँ नभेटिएकाले बन्ध्याकरण अभियान नै रोकेको काठमाडौँ महानगरका कृषि तथा पशुपक्षी विभाग प्रमुख डा अवधेश झाको भनाइ छ। 

कुकुर बध्याकरण रोकेको काठमाडौँ महानगरले भने एकै वर्षमा छाडा कुकुर नियन्त्रण गर्न नसकिने उनको भनाइ छ। अन्य ठाउँबाट पनि छाडा कुकुर आइरहने भएकाले व्यवस्थापनमा समस्या भइरहेको महानगरका प्रमुख झाले बताए।

यसले गर्दा कुकुर, स्याल तथा सर्प जस्ता जनावरको टोकाइले गर्दा मानिसको स्वास्थ्य नै जोखिममा परिरहेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार गत आर्थिक वर्षमा मात्रै देशभर १२ लाख ८ हजार ५१२ जना कुकुर, स्याललगायतका जनावरले टोकेर बिरामी भएका छन्।

यसरी कुकुर लगायतका जनावरले टोकेमा समयमानै रेबिजविरुद्धको खोप नलगाइए मानिसको मृत्युसमेत हुने गरेको छ। 

मन्त्रालय अन्तर्गतकै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा वार्षिक १०० जना नेपालीको वर्षेनी रेबिजकै कारण मृत्यु हुने गरेको छ।

यता स्वास्थ्य मन्त्रालयको गत तीन वर्षको विवरण हेर्ने हो भने पछिल्ला वर्षहरूमा जनावरको टोकाइबाट पीडित हुने बिरामी बढ्दै गएका छन्। 

आव ७८/७९ मा ९४,८२९ जनामा जनावरले टोकेर जुनोटिक समस्या देखिएको थियो भने आव ७७/७८ मा ६७,३१६ जनामा यो समस्या देखिएको थियो। यसमा सबैभन्दा धेरै कुकुरकै टोकाइ रहेको उक्त विवरणमा उल्लेख गरिएको थियो।

सामान्य सावधानी अपनाएर जनावर तथा सर्पको टोकाइबाट हुने जटिलताबाट बच्न सकिने भए पनि हेलचेक्रयाइँ गर्दा जुनोटिक समस्या जनस्वास्थ्यको चुनौतीको रूपमा खडा हुँदै गएको सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाइ छ।

डा पुनले भने,  ‘केही वर्ष अघिभन्दा अहिले काठमाडौँलगायत धेरै ठाउँमा मानिसको जनघनत्व बढ्दै गएको छ, बढ्दो शहरीकरणले मानिसहरुको बाक्लो बसाइ छ भने हाम्रोमा पहिले भन्दा छाडा कुकुर तथा अन्य जनावरको संख्या पनि बढ्दै गएको छ, यसले जुनोटिक समस्या ठूलै चुनौतीको रूपमा बढ्दै गएको हो।'

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा कुकुर, बाँदर, स्याललगायतका जनावरको टोकाइका कारण रेबिज भई करिब ६० हजार मानिसको मृत्यु हुने गरेको छ। एक करोड मानिसलाई रेबिजको उपचार आवश्यक पर्ने गरेको छ।

स्वास्थ्य मन्त्रालयले २०७८ साल मंसिरदेखि रेबिजविरुद्ध दिइने एन्टीबडी सेवा सातै प्रदेशमा विस्तार गरिसकेको छ। कोशी प्रदेशमा कोशी अस्पताल, मधेश प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल र नारायणी अस्पतालबाट रेबिजविरुद्धको इम्युनोग्लोबुलिन पाइने गर्छ।

त्यसैगरी, बागमतीमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भरतपुर अस्पताल, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा लुम्बिनी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत अस्पताल, सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालबाट रेबिज विरुद्धको इम्युनोग्लोबुलिन निःशुल्क दिइने गरेको छ।

काठमाडौँ उपत्यकाबाहिर ९ वटा स्वास्थ्य संस्थामार्फत रेबिजविरुद्धको इम्युनोग्लोबुलिन एन्टीबडी नि:शुल्क लिन सकिन्छ। काठमाडौँमा भने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्र निःशुल्क प्रदान हुँदै आएको छ।

यदि कुकुरले टोकेको ४८ घन्टाभित्र एन्टिरेबिज भ्याक्सिन लगाइयो भने यो प्राणघातक संक्रमणबाट बच्न सकिन्छ।

के हो रेबिज?

रेबिज पशुबाट मानिसमा सर्ने रोग हो। प्राय: रेबिज कुकुरको टोकाइबाट मानिसमा सर्छ। यो रोग लागेको मानिस पानी देखेर डराउने हुनाले यो रोगलाई पानीबाट डराउने रोग वा हाइड्रोफोबिया पनि भनिन्छ।

रेबिज रोग लागेको कुकुरको चटाइबाट मात्र पनि यो रोग सर्न सक्छ। रोगी जनावरको र्‍यालद्वारा घाउमार्फत शरीरमा रेबिजका जीवाणु प्रवेश गर्छन् भनेर सन् १८०४ मा जर्मन वैज्ञानिकले पत्ता लगाएका थिए।

चिकित्सकका अनुसार रेबिजका लक्षणहरू ज्वरो आउने, घाउ भएको स्थानमा दुख्ने, झम्झमाउने, घोच्ने पोल्नेजस्तो हुने र पछि भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायु नसा सुन्निने हुन्छ। 

मान्छेको क्रियाकलाप र व्यवहार अत्यधिक उत्तेजित हुने, पानीदेखि डराउने, हावाको चालबाट तर्सिने र केही दिनपछि श्वासप्रश्वास र रक्तसञ्चारमा समस्या आई मृत्यु हुने सम्भावना रहन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.