शव परीक्षणमा १८ हप्ताको गर्भ रहेको पाइयो
शव परीक्षणमा १८ हप्ताको गर्भ रहेको पाइयो
बैतडी : आफ्नै भतिजीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बैतडीमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको पुचौँडी नगरपालिकाका ४ का ३० वर्षीय युवक रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।
१७ वर्षीया बालिकालाई हाडनाता करणी गरी हत्या गरेको आरोपमा उनलाई वैशाख ३ गते इलाका प्रहरी कार्यालय, पाटनका इन्सपेक्टर सरोजकुमार ठकुराठीको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। विवाहित बालिका चैत्र २६ गते हराएकी थिइन्। ती बालिकाले १ वर्ष अगाडि भागेर विहे गरेकी बताइएको छ।
बालिकाका माइती पक्षले बालिका हराएको जाहेरी दिएपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो। बालिकाको शव पुचौँडी नगरपालिका–४ स्थित रातोमाटी जंगलमा चैत्र २८ गते फेला परेको थियो।
मृतक बालिकाको शव परीक्षण गर्दा पेटमा अन्दाजी १८ हप्ताको गर्भ रहेको खुलेको बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आरोपितले बालिकालाई ललाइफकाइ र धम्की दिएर पटकपटक करणी गर्दै आएको र गर्भ रहेपछि गर्भ फाल्नसमेत समय पुगिसकेकाले बालिकालाई जंगलमा बोलाई ढुंगा प्रहार गरी हत्या गरेको बुझिएको छ।
मृतक बालिकाका श्रीमान २०८० साल साउन महिनादेखि भारतमा रोजगारीका लागि गएको बुझिएको छ। आरोपितलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।