|
प्रतीकात्मक तस्विर

महेन्द्रनगर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ।

दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिए। उनले स्थानीय पुजन बरालसहित १५ स्थानीयको गहुँबालीमा आगलागी भएकोजानकारी दिए।

‘आगलागीबाट सात बिघा जमिनको गहुँबाली पूर्ण रूपमा क्षति भएको छ’, बस्नेतले भने, ‘स्थानीय, सुरक्षा निकाय, जनप्रतिनिधि र भीमदत्त र दोधारा चाँदनी नगरपालिकाको दमकलको सहायताले आगो निभाइएको थियो।’

यस्तै कैलालीको जोशीपुर गाउँपालिका र भजनी नगरपालिकामा आगलागीबाट किसानको घर भित्र्याउने बेलाको गहुँ खेतमै जलेको छ। जोशीपुरमा १३ कठ्ठा र भजनीमा आठ कठ्ठा जमिनमा लगाएको गहुँ नष्ट भएको हो।

आगलागीबाट जोशीपुर–४ खर्चुवाका किसान परशुराम चौधरीको काटेर थुपारेको र काट्न बाँकी रहेको गहुँ जलेको इलाका प्रहरी कार्यालय जोशीपुरले जानकारी दिएको छ । तेह्र कठ्ठा जमिनमा लगाएको बाली नष्ट भएपछि चौधरीको परिवार पीडामा छ।  

स्थानीयवासीका अनुसार बिजुलीको तार खेतमा लत्रिएका कारण आगलागी भएको हो। आगो स्थानीय बासिन्दा, प्रहरी र टीकापुरको दमकलको सहायतामा निभाइएको थियो । 

यसैगरी, भजनी नगरपालिका वडा नं ८ जनकपुरमा नारायणप्रसाद देवकोटाले आठ कठ्ठामा लागएको काट्ने वेला भएको गहुँमा आगो लागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.