पुरानै गहनाबाट व्यवहार टार्दै उपभोक्ता

|

काठमाडौं‌ : वैशाख महिना, विवाहको लगन, अनि सुनचाँदी आकासिएको मूल्य। यतिखेर नेपाली समाजमा परम्परागत रीतिरिवाज, चलनअनुसार विवाहको सिजनमा गरगहनालाई चासोका रूपमा लिइने गरिन्छ।

विवाह भन्नेबित्तिकै सुनचाँदी जोडिहाल्ने हाम्रो चलन छ तर अहिलेको भाउले विवाहमा शरीर धपक्कै बल्नेगरी पहेँलो धातु सुन लगाउने र लगाइदिनेहरूको रहर योजना खल्लो बनाइदिएको छ। 

विशेषगरी अन्तर्राष्ट्रियस्तरमा देखापर्ने वित्तीय एवं राजनीतिक संकटका कारण प्रभावित हुने गरेको सुनलाई व्यवसायीहरूले सुरक्षित लगानीका रूपमा लिने गरेका छन्। तर, सामान्य आर्थिक अवस्था भएकाका लागि छुनै नसक्नेगरी बढेको भाउले सुनमा लगानी गर्नेहरूलाई पनि असर गरेको छ। 

माग घट्यो

नेपालमा विशेषगरी विवाहको सिजनमा सुनचाँदीको माग बढ्ने गरेको छ। तर, तुलनात्मक रूपमा अघिल्ला वर्षहरुमा भन्दा अहिले विवाहको सिजनमा पनि माग बढ्न सकेको छैन। 

‘भाउ बढ्दा माग घटनु स्वाभाविक हो। त्यसमा पनि देशको आर्थिक अवस्था, मन्दीको नकारात्मक असर सुनचाँदी बजारमा परेको छ। मूल्य नबढ्दा सामान्य अवस्थामा दैनिक ३५-४० किलोको माग आउँथ्यो तर अहिले २५ केजीसम्म खपत भइरहेको छ’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले भने, यद्धपि विवाहजस्ता कार्यका लागि आवश्यकता भएको मान्छेले महँगो भए पनि किन्न छाडेका छैनन् तर पहिले १० तोलाको गहना बनाउनेले अहिले घटाएर ८ तोलाको गरगहना बनाइरहेका देखिन्छ।’

पुरानै गहना बेच्ने बढे

यस्तैगरी महँगोमा नयाँ बनाउन गाह्रो हुने भएपछि पुरानो गहनाबाट पनि व्यवहार टार्नेहरु बढेका छन्। नयाँ गहना किन्न गाह्रो हुँदा पुरानो सामानलाई बेचेर नयाँ डिजाइनको गहना बनाउनेहरु बढेका छन्।

शाक्यले भने, 'नयाँ सुन किन्ने र पुरानै गहनालाई बेचेर नयाँ डिजाइन बनाउनेहरुको संख्या बराबर अर्थात् ५०/५० प्रतिशत जस्तै छन्। यसलाई हेर्दा पनि माग कम भएकै हो भन्न सकिन्छ। खपत पनि ५० प्रतिशत घटेको छ। अघिल्लो वर्ष ३६ अर्बको सुन आयात भएको थियो भने चालु आर्थिक वर्षको चैतसम्म करिब १६ अर्बको मात्र सुन आयात भएको छ। मात्र आयात भएको छ।’

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिनामा १५ अर्ब २३ करोड ४१ लाख रुपैयाँको सुन आयात भएको छ। 

विगतका वर्षहरूमा भन्दा माग घटे पनि सुन किनेर सञ्चित गर्नेहरुको कमी छैन। ‘आगामी दिनमा भाउ झन् बढ्न सक्ने भन्दै अहिलेकै अवस्थामा सुन किनेर पछिलाई राख्नुपर्छ भन्दै धेरै ग्राहकहरू पनि आइरहेका छन्–शाक्यले भने, अन्तर्राष्ट्रिय बजारको प्रभाव नेपाली बजारमा पनि सुन अझै बढ्नसक्छ।'

त्यसो त उपभोक्ताहरु सुनका गरगहना बनाउँदा सुनचाँदी व्यवसायी महासंघले हरेक दिन तोकेको मूल्यभन्दा बढी तिर्नुपर्दा मर्कामा पर्छन्। १० देखि १५ प्रतिशतसम्म ज्याला र जर्ती जोडेर व्यवसायीले पैसा लिन्छन्। महासंघ अध्यक्ष शाक्यका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८३० र तेजाबी सुन १ लाख १८ हजार २७० तर तर एक तोलाको सामान्य किसिमको गहना बनाउँदा उपभोक्ताले १ लाख ५१/५२ हजार रुपैयाँ तिर्नुपर्छ। 

किन बढिरहेको छ सुनको मूल्‍य?

डलरको भाउ, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकको नीति, अन्तर्राष्ट्रिय द्वन्द्व लगायतका विभिन्न कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको असर नेपाली बजारमा समेत परेको छ।

अमेरिकी रिजर्भ बैंकले ब्याजदर घटाउने हल्ला चलेसँगै त्रसित लगानीकर्ताहरु आफ्नो लगानी सुरक्षित गर्न सुनतर्फ आकर्षित भएका देखिन्छ। अमेरिकाले डलरको आपूर्ति बढाउँदा संसारभरका केन्द्रीय बैंकहरू सुनको सञ्चिति बढाउन तल्लीन हुँदा सुनको माग वृद्धि भई मूल्यसमेत बढेको व्यवसायीको भनाइ छ। 

संसारभरका केन्द्रीय बैंकहरूले आफ्नो मुद्राको सुरक्षा प्रत्याभूतिका लागि मुख्य सम्पत्तिका रूपमा सुनको मौज्दात बढाउने गर्छन्। सन् २०२२ मा केन्द्रीय बैंकहरूले ऐतिहासिक रूपमा धेरै सुनको खरिद गरेका थिए।

नेपालमा पनि घरजग्गाको मूल्य उच्च बिन्दुमा पुगिसकेको र सेयर बजारमा देखिएको अनिश्चितताका कारण लगानीकर्ताहरु सुरक्षित र आकिर्षत प्रतिफल दिने सुनमा लगानी बढाउन चाहन्छन्। 

सुनमा राष्ट्र बैंकले तोक्छ कोटा

नेपालमा व्यवसायीले खपत धान्न सक्नेगरी सुन पाउँदैनन्। नेपाल राष्ट्र बैंकले कोटाअनुसार, दैनिक २० केजी सुन दिइरहेको छ। गत असोज १८ गतेदेखि मात्र राष्ट्र बैंकले २० केजी सुन दिन थालेको हो।

त्यसअघि १० केजी मात्र सुन दिँदा खपत नधान्ने भएकाले बढाउन व्यवासयीले पहल गरिरहेको थिए। तर, दैनिक २० केजी सुनले पनि बजारको माग धान्न सक्ने अवस्था छैन।

महासंघ अध्यक्ष शाक्यका अनुसार दुई तीन दिनदेखि बजारमा सुनको अभाव छ। ‘सिजनको समयमा व्यवसायीले आफूसँग भएको स्टकबाट सामान बनाइरहेका छन्। तर यसले पुगिरहेको छैन’ शाक्यले भने। 

यस्तो छ मूल्यको इतिहास

सन् १८०० तिर अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस करिब २० अमेरिकी डलरको हाराहारीमा रहेको सुन सन् १९७२ तिर पुग्दा ६४ डलर हुँदै१९७३ तिर प्रतिऔंस १ सय डलर नाघ्यो र त्यसको अन्त्यसम्ममा प्रतिऔंस ५९० अमेरिकी डलर भयो।

पछिल्ला दुई दशकमा सुनको भाउ ह्वात्तै बढेको छ। सन् २०१३ तिर प्रतिऔंस १ हजार २०० डलर रहेकोमा अहिले २ हजार १३५ डलर नजिक पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य २ हजार ५५.८८ अमेरिकी डलर रहेको छ।  नेपाली बजारमा बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३७ हजार प्रतितोला थियो। त्यस्तै,  चाँदी १ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो।

यता, शुक्रबार सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ। आज सुन प्रतितोला ७०० ले बढेर हालसम्मकै उच्च मूल्य अर्थात् छापावाला सुनको प्रतितोला १ लाख ३९ हजार ३०० र तेजाबी सुनको भाउ प्रतितोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ पुगेको छ।

यस्तै, शुक्रबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १ हजार ७२० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

महासंघका अनुसार, मंगलबार र बुधबारको मूल्य अहिलेसम्मकै उच्च थियो। यी दुई दिन छापावाल सुन १ लाख ३९ हजार २०० र तेजावी सुन १ लाख ३८ हजार ५५० रुपैँयामा किनबेच भए। 

गत वर्षको तथ्यांक हेर्दा अधिकतम १ लाख ३८ हजार ३५० र न्यूनतम मूल्य १ लाख ६ हजार रुपैयाँ प्रतितोला रह्यो। सुनको मूल्य २०७९ मा ९९ हजार ९०० देखि १ लाख, २०७८ मा ९९ हजार ८८ देखि १ लाख, २०७७ मा ९९ हजार ९०० देखि १ लाख ९०० सम्ममा कारोबार भएको थियो।

२०७६ सालभरको तथ्यांक हेर्दा सुनको मूल्य सबैभन्दा कम ५८ हजार ७०० रुपैयाँ थियो भने त्यही वर्ष २३ हजार ७०० रुपैयाँ वृद्धि भयो र प्रतितोला अधिकतम ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यसवर्ष चाँदीको भाउ ६८०बाट बढेर एक तोलाको ९४० पुगेको थियो।

पाँच/छ वर्षमा सुनको मूल्य ८२ हजारभन्दा धेरै बढिसकेको छ। २०७५ साल साउन ३० गते छापावाल सुन ५५ हजार ६०० र तेजाबी सुन ५५ हजार ३ सय प्रतितोला किनबेच भएको थियो भने चाँदी ७१५ रुपैयाँ थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.