|

काठमाडौँ : विदेशी लगानी भित्र्याएर देशको विकासमा टेवा पुर्‍याउने उद्देश्यसहित नेपालले लगानी सम्मेलन आयोजना गर्दै आएको छ। सम्मेलनमा विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्दै लगानी भित्र्याउन तेस्रो लगानी सम्मेलनमा पनि सरकार अनि निजी क्षेत्रसमेतले भरपुर प्रयास गरे। 

अघिल्ला दुई सम्मेलन कुनै महायज्ञ जस्तै कर्मकाण्डीमात्र भएको भन्दै अर्थसँग सरोकार राख्ने एउटा पक्षले यस सम्मेलनबाट पनि खासै उपलब्धि हासिल नहुने आँकलन गरिहेका थिए भने अर्को पक्ष आशावादी देखिन्थे।

सरकारले लगानी सम्मेलनको ढोकैमा अध्यादेशमार्फत ऐन ल्याएर लगानी आकर्षित गर्ने प्रयास गर्‍यो तर छोटो समयमा हतारो गरेर लगानी सुरक्षित गर्ने प्रतिबद्धताबाट विदेशी लगानीकर्ता कत्तिको ढुक्क भए भन्ने कुरा आगामी दिनमा उनीहरूको लगानीले देखाउला। 

छ महिनादेखिको तयारीपछि निक्कै तामझामका साथ आयोजना गरिएको सम्मेलनमा अपेक्षाअनुसार सम्झौता हुन नसके पनि सरकार र निजी क्षेत्र उत्साहित देखिएको छ। 

छ वटा एमओयू

५५ भन्दा बढी देशबाट ८ सय विदेशीसहित करिब २५ सय जना सहभागी भएका सम्मेलनमा ६ वटा दुईपक्षीय सम्झौता (एमओयू) भएको छ। ​त्यस्तैगरी नेपाल उद्योग वाणिज्य महासंघले नेशनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री अफ मलेसिया (एनसीसीआईएम) सँग र फेडेरेशन अफ मलेसियन म्यानुफ्याक्चर्ससँग दुईवटा एमओयू गरेको छ। 

हङकङको लगानी रहने गरी नेपालको कपिलवस्तुमा झण्डै दुई अर्बको होटल खोल्ने विषयमा २२ विगाहा जग्गा समेत लिने तयारी छ। नेपालको शाख समूहले हङकङको बोर होटलसँग एमओयू गरेको हो। 

त्यस्तै नेप्लिज एसोसिएसन अफ पीपीपी (एनएपीपीपी) र वल्र्ड एसोशिएसन अफ पीपीपी यूनिट्स एन्ड पीपीपी प्रोफेस्नल (डब्ल्यूएकपीपीपी) बीच अर्को एमओयू भएको छ।

नेक्स्जन म्यानेजमेन्ट सोलुसन प्रालि र एमएबीसी इन्भेस्टमेन्ट ग्रुप, फेडेरेशन अफ नेप्लिज इन्डस्ट्रीज एन्ड कमर्स (एफएनआइसी) र चाइना डोङ्गुआन सिङ्ग लङ्ग लाईटिङ्ग प्रोडक्ट्सबीच एमओयू भएको लगानी बोर्डले जनाएको छ। 

सम्मेलन सफल भएको दाबी

यससँगै समग्रमा सम्मेलन उपलब्धिमूलक रहेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यय बताउँछन्। 

सम्मेलनमा सोकेस गरेका परियोजनाहरु, प्राथमिकतामा रहेका उर्जा, आईटी, कृषि, पर्यटनलगायतका क्षेत्रहरुमा देखिएको लगानीकर्ताको आकर्षणले उत्साह थपिदिएको भन्दै उनले चिनियाँ, भारतीयलगायत अन्य मुलुकबाट सहभागी लगानीकर्ताले आईटी क्षेत्रमा धेरै चासो देखाएको बताए। 

उनले कति रकमको लगानी प्रतिबद्धता आयो भनि बताउन चाहेनन् तर अघिल्ला सम्मेलनमा जस्तो यस सम्मेलनले लगानीकर्ताको चासोलाई उपलब्धि मानेको र यसले आगामी दिनमा लगानी भित्रने विश्वास व्यक्त गरे।

‘लगानी सम्मेलन दुई दिनको इभेन्ट थियो, यसलाई यात्राको रुपमा लगानीको माहोल बनाउने गरी अगाडि बढेका छौँ', उनले भने, 'अब लगानीकर्तालाई थप आकर्षित गर्न जुट्छौँ।’

‘सम्मेलन एउटा महायज्ञ जस्तै हो, जहाँ दाताले यति चामल, यति पैसा, यति जग्गा दिन्छु भन्छन् तर त्यो कार्यान्वयन हुन्छ भनेमात्र उपलब्धि हो। कति पैसा आयो भन्दा पनि ठूला परियोजनाको विषय छ’, उनले थपे,  ‘निजगढ विमानस्थलको कुरा आएको छ। त्यसमा उनीहरूको रुचि देखियो भने त्यो खर्बौँ रुपैयाँको हुन्छ। त्यसैले रकममा भन्दा पनि सेक्टर र परियोजनाका हिसाबले प्रतिबद्धतालाई हेरेका छौँ।’

सरकारले यसपटक १५२ वटा परियोजना सोकेसमा राखेको थियो। सम्मेलनका क्रममा आशयपत्र मागिएका १९ र मार्केट साउन्डिङ (लगानीकर्ताको प्रतिक्रिया संकलन)का ९ सहित १५४ परियोजना प्रस्तुत गरिएको थियो। 

आशयपत्र पेस गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैरऊर्जा परियोजनाको हकमा ३५ दिनको समय दिइएको लगानी बोर्डले बताएको छ। 

कमजोर तयारी, सन्देश सकारात्मक

सम्मेलनलाई दुईदिनको उत्सव, घटना या जात्रा भन्दै अर्थविद् चन्द्रमणी अधिकारीले सम्मेलनको तयारी, सहभागिता, नेपालको प्रस्तावको दृष्टिकोणसँगै प्रस्तावित विषयका सन्दर्भमा लगानीकर्ताको आकर्षण, प्रतिबद्धता पेश भएका परियोजना र वैदेशिक लगानी भित्रन सुरु भएपछिमात्र वास्तविक नतिजाले सम्मेलनको सफलता आँकलन गर्न मिल्ने बताए। 

‘यद्यपि विगतको भन्दा अलि तयारी देखियो। विभिन्न माध्यमबाट भएको सहभागितासँगै देशको आर्थिक मुद्दामा सरकार, सरकारबाहिर रहेका राजनीतिक दल, निजी क्षेत्र, व्यवसायिक संगठनका प्रतिनिधि सबै एक ठाउँमा उभिएर बोलेको आवाज एउटै थियो, एक मत थियो जुन राम्रो कुरा भयो’, उनले भने,  ‘प्रधानमन्त्रीले उदार आर्थिक नीतिसँग प्रतिबद्ध रही निरन्तर सुधारको काम र  सहजीकरणसम्म गर्छौँ भन्नुले पनि विदेशी लगानीकर्तालाई केही हदसम्म ढुक्क बनाएको छ। ठूलो संख्यामा उपस्थित विदेशीहरूले दिने सकारात्मक सन्देशले पनि हामीलाई फाइदा नै गर्ला।’

भारतलगायत ठूला व्यवसायिक कम्पनीहरूलाई समयमै निम्तो नपुर्‍याएका कारण उनीहरूको प्रतिनिधित्व दोस्रो तहबाट हुनुले तयारीको कमी प्रदर्शन गरेको उनको टिप्पणी छ। 

‘सरकारले विगत दुईवटा लगानी सम्मेलनमा प्रतिबद्धता गरेका अवरोधहरु ज्यूँका त्यूँ रहेका छन्। त्यसलाई हटाउने सन्दर्भमा अध्यादेश ल्याइयो तर समयमै संसद्‍बाट ऐन पारित गरेको भए राम्रो सन्देश जान्थ्यो’, अधिकारी अगाडि थप्छन्, ‘नेपालमा लगानी गर्नेहरूले राम्रो नाफा कमाएका छन् तर यो सन्देश हामीले दिन सकेका छैनौँ।’ 

यसअघि भएका दुईवटा सम्मेलनबाट करिब ३० खर्बको विदेशी लगानीको प्रतिबद्धता आएको थियो तर त्यसको १० प्रतिशत पनि लगानी भित्रिएको छैन। 

हिजोको अनुभव हेर्दा यसलाई कर्मकाण्ड भन्नु स्वभाविक हो तर समग्रमा लगानी सम्मेलनलाई ठिकै मान्नुपर्नेमा अर्थविद्‌हरू बताउँछन्। 

सरकारले अब योजनाको प्रकृति हेरेर लगानीकर्ताहरूसँग निरन्तर सम्पर्क गर्ने, विगतमा लगानी कम भित्रिनुका पछाडि रहेका कारण र कमजोरीको समाधान खोज्ने र पछिल्लो अध्यादेशलाई संसद्‌मा पेश गरेर ऐनमा रुपान्तरण गर्ने काम गरे प्रगति देखिने अर्थविद् अधिकारीले उल्लेख गरे।

अपेक्षाकृत नभए पनि सम्मेलनबाट सरकारसँगै निजी क्षेत्र पनि उत्साहित देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अघिल्ला सम्मेलनको तुलनामा यस सम्मेलनले नेपालमा लगानीको वातावरण बनेको भनेर स्पष्ट सन्देश दिन सफल भएको बताए। 

सरकार मुलुकमा लगानी प्रवर्द्धनका लागि पूर्णरुपमा प्रतिबद्ध देखिनुका साथै र सरकारबाहिर रहेका राजनीतिक दलका नेताहरु आर्थिक मुद्दामा एकजुट भएकाले पनि विदेशी लगानीकर्तामा सकारात्मक सन्देश गएको उनको ठम्याइ छ। 

छिमेकी मुलुकहरू भारत, चीनसँगै अमेरिका बेलायतबाट आएका प्रतिनिधि, डोनर एजेन्सीहरूका प्रतिनिधिको सहभागिताले पनि सम्भावना बढाएको स्मरण गर्दै उनले भने, 'विश्वव्यापी रुपमा नेपालमा लगानी गर्ने वातावरण बनेको सन्देश दिएको छ। यो नै सबैभन्दा ठूलो सफलता हो।’ 

नेपालमा २०७३ फागुन १९ र २० मा भएको पहिलो लगानी सम्मेलनमा १३ अर्ब ७० करोड डलरको लगानी प्रतिबद्धता आएको थियो। उक्त सम्मेलनमा लगानीकर्ताहरूले तमोर, पश्चिम सेती, निजगढ विमानस्थल, मोनोरेल, भेइकल एसेम्ब्ली प्लान्ट र औद्योगिक पार्कलगायतका आयोजनामा प्रतिबद्धता जनाएका थिए। 

उक्त लगानी सम्मेलनमा प्रतिबद्धता आएका होङ्सी र हुवासिन सिमेन्ट उद्योग सञ्चालनमा आएका छन् भने अरुण तेस्रो र अप्पर मस्र्याङ्दी जलविद्युत् आयोजनाको निर्माण अगाडि बढेको छ।

२०७५ साल चैत १५ र १६ मा भएको दोस्रो लगानी सम्मेलनमा ४० देशका लगानीकर्ताहरू सहभागी भएका थिए। उक्त सम्मेलनमा १७ वटा परियोजनामा लगानी प्रतिबद्धता र १६ वटा सम्झौता भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.