|

काठमाडौँ : एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको आज भएको सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले हारेको छ।

पराजित भएसँगै साविक विजेता नेपालको लगातार दोस्रो पटक एसीसी एशिया कपमा छनोट हुने सम्भावना पनि अन्त्य भएको छ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा शुक्रवार नेपालले दिएको १२० रनको सामान्य लक्ष्य यूएईले १७ ओभरमा २ बलमा ४ विकेटमात्र गुमाएर भेट्टायो।

यूएईका लागि अलिशान सराफुले ४१ बलमा ४ चौका र २ छक्काको मद्दतले अविजित ५५ रन बनाउँदै टिमलाई फाइनलमा पुर्‍याए। विष्णु सुकुमारनले २८ रन, सैयद हैदरले १४ रन र कप्तान मोहम्मद वासिमले ११ रन बनाए।

नेपालका लागि गुल्सन झाले २ तथा सोमपाल कामी र ललितनारायण राजवंशीले १/१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन मात्र बनाउन सक्यो।

नेपालका लागि सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे। अन्तरराष्ट्रिय टी-२० मा सन्दीपको यो तेस्रो अर्धशतक हो। 
गुल्सन झाले २० रन र करण केसीले १७ रन बनाउनबाहेक टप अर्डर र मध्यक्रमका बाँकी सबै ब्याटर असफल भएपछि नेपालले ठूलो स्कोर बनाउन सकेन।

यूएईका लागि जुनैद सिद्धिकी, बसिल हामिद र अली नासिरले २/२ विकेट तथा ओमिद सइफ रहमान, आयन अफ्जल खान र मोहम्मद फारुकले १/१ विकेट लिए।
नेपाल समूह ‘ए’ को विजेता र यूएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका थिए।

समूह चरणमा अपराजित रहेको नेपालले मलेशियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको थियो।

समूह चरणमा यूएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हराउँदा ओमानसँग ९ विकेटले पराजित भएको थियो।

यूएईले उपाधिका लागि ओमान र हङकङबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। पराजित हुने टोलीसँग नेपालले तेस्रो स्थानका लागि खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.