|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा अझै पत्ता लगाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

सोमवार ललितपुरको गोदावरीथित सनराईज हलमा नेकपा एमालेद्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सव समारोहमा बोल्दै उनले मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वप्रति प्रश्न समेत गरे।

कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा पत्ता लगाउन अहिलेसम्म नसकेको सभापति देउवाको भनाइ थियो। उनले मदन भण्डारी आफूहरूको पनि नेता भएको उल्लेख गर्दै तर उनको हत्यारा पत्ता लगाउने काम किन गरिएन ? भन्ने मदन भण्डारीकी धर्मपत्नी समेत रहेकी विद्या भण्डारीलाई पनि प्रश्न गरे। दुई पटक राष्ट्रपति हुँदा र एमालेको नेतृत्वमा पटक पटक सरकार बन्दा पनि सो हत्याकाण्डको रहस्य पत्ता लगाउने काम नभएको उल्लेख गर्दै सभापति देउवाले त्यसमा कांग्रेसले कुनै व्यवधान खडा नगरेको पनि बताए। उनले कांग्रेसलाई गाली गर्नेहरूले मदन भण्डारीको हत्यारा पत्ता लगाउनुपर्ने बताए।

सभापति देउवाले भने, ‘कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन। हुँदाहुँदा उहाँको ड्राइभर पनि मारियो। त्योसम्म अहिलेसम्म पत्ता लगाउन सकेको छैन।  भण्डारी हाम्रो नेता हो, त्यसमा दुईमत छैन। तर मार्नेको पत्ता किन लागेन ? त्यसकारण कांग्रेसको विरोध गर्न सजिलो होला। गर्नुस् केही छैन। तर आफ्नो पनि भन्नु पर्यो‍ नि। ’

सभापति देउवाले नेपाली कांग्रेस सधैँभर देशको महत्वपूर्ण मुद्दामा विद्यमान राजनीतिक दलहरूबीच संवाद, सहमति र सहकार्यको नीति लिँदै आएको र त्यसको निरन्तरताको पक्षमा रहेको पनि बताए। उनले संसदमा प्रतिपक्षले उठाएका विषयलाई गम्भिरतापूर्वक लिन पनि सरकार र सत्तारुढ दलहरूलाई आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.