|

काठमाडौँ : नेपालको लगानी सम्मेलन अघि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई सुनौलो अवसरका रुपमा लिनुपर्नेमा जोड दिइएको छ। 

कतारका अमिर (राजा) थानी पहिलोपटक मंगलवार नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदै छन्। कतारका अमिर (राजा) थानीको भ्रमणबाट नेपालले कतारको लगानी, हमासमा बेपत्ता विपिन जोशीको उद्धार र श्रम सम्झौतासम्मका विषयमा लाभ लिन सक्नुपर्ने परराष्ट्रका जानकारहरुको भनाइ छ। 

उनीहरुले नेपाल सरकारले कतारका अमिर (राजा)को भ्रमणबाट धेरै फाइदा लिनसक्ने अवसर रहेको बताएका छन्। उनीहरुले नेपालको जलविद्युत, टेक्नोलोजी ट्रान्सफरलगायतमा लगानी ल्याउन सक्ने वातावरण रहेको औँल्याए।

कतारमा व्यवसाय गर्दै आएका गैरआवासीय नेपाली संघका प्रतिनिधि राजेन्द्रकुमार शर्माले कतारी राजाको नेपाल भ्रमण नेपालका लागि सुनौलो अवसर भएको बताए। उनले नेपालको लगानी सम्मेलन अगाडि हुन लागेको यो भ्रमणले गल्फ क्षेत्रका लगानीकर्ताहरुलाई विश्वास दिलाउन सक्ने उल्लेख गरे।

उनले कतार विश्वका धेरै देशमा लगानी गरेर सफल भएको देश भएकाले नेपालमा त्यस क्षेत्रको लगानी आवश्यक रहेको बताए। अध्यक्ष शर्माले नेपालमा जलविद्युतको ठूलो सम्भावना रहेकाले जलविद्युतमा पनि कतारको लगानी ल्याउन सक्नुपर्ने बताए। 

कतारले पछिल्लो दशकमा प्रविधिको क्षेत्रमा गरेको विकाशको मोडल नेपालमा लागू गर्न सके धेरै फाइदा हुने उनको भनाइ थियो। उनले कतारसँग नेपालमा ३ लाख ५० हजारभन्दा बढी घरघुरी जोडिएकाले नेपाल अनुकुल श्रम सम्झौता गर्न आवश्यक रहेको सुझाव दिए।

उनले भने, ‘ भोलि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँको नेपाल भ्रमण नेपालको लागि सुनौलो अवसर हो । कतार पछिल्लो दुई दशकमा जुन किसिमले विश्व सामु विश्व कप फुटबल गर्न सफल भयो । कतारमा विगत २० वर्षदेखि विकासमा सहकार्य गरिरहेको हुँदा कतारसँग नेपालका पाँच लाख घरधुरीसँग जोडिएको थियो । अहिले ३ लाख ५० हजार बढी परिवारसँग जोडिएको छ । कतारका उद्योगमा काम गर्न दक्ष कामदार पठाउन सकेको भए अझ राम्रो रेमिट्यान्स आउन सक्ने थियो । नेपालीहरुको आर्थिक अवस्था अझ माथि उकासिन सक्ने थियो ।'

उनले थपे,  'सरकारले कतार सरकारसँग इगर्भरमेन्टमार्फत काम गरिरहेकाले टेक्नोलोजी ट्रान्सफरको सहयोग लिनसक्छ । विश्वका धेरै देशमा लगानी लगाएर सफल भएको देश हो ।  कतारलाई कुकिङ ग्यासको उत्पादनको लागि लगानी लगाउन आग्रह गर्नुपर्छ । आगामी वैशाख १६ र १७ गते गर्न लागेको नेपालको लगानी सम्मेलन अगाडि हुन लागेको यो भ्रमणले गल्फ क्षेत्रका लगानीकर्ताहरुलाई विश्वास दिलाउन सक्छ ।’

परराष्ट्र मामिलाका जानकार, परराष्ट्रविद् जयराज आचार्यले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणमा राष्ट्रपतिदेखि मन्त्रीसम्मले विपिन जोशीको उद्धारको माग प्रमुख प्राथमिकता राख्नुपर्ने बताए। उनले कतारका प्यालेस्टाइन र हमाससँग राम्रो सम्बन्ध भएकाले कतारका राजाले भन्दा उद्धार हुनसक्ने बताए। 

उनले सरकारले एक लाख जनता र एक जना आफ्नो नागरिकलाई त्यति नै महत्व दिन आवश्यक रहेको बताए। कतारी अमिर एशियाली मुलुकको औपचारिक भ्रमणमा फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्न लागेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.