|

काठमाडौँ : राष्ट्रिय राजनीतिमा भीम रावल एउटा चिरपरिचित नाम हो। राष्ट्रिय हित प्रतिकूलका मुद्दामा खरो रुपमा उत्रिने छवि बनाएका उनी अहिले गुमनामजस्तै छन्। उपप्रधान तथा गृह र रक्षामन्त्रीसमेत भइसकेका रावल एमालेका पूर्वउपाध्यक्ष हुन्। 

चितवनको सौराहामा सम्पन्न पार्टीको १०औँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेर पराजित नेता रावल अहिले पनि एमालेमै छन् तर पार्टीले कुनै जिम्मेवारी नदिँदा उनी राष्ट्रिय राजनीतिको केन्द्रमा नभएर ओझेलमा परेका छन्। 

ओलीले असंवैधानिक रुपमा दुई पटक संसद् विघटन गरेपछि पार्टी विभाजन हुँदा उनी एमालेमै रहेका थिए। त्यसपछि महाधिवेशनमा सर्वसम्मत अध्यक्ष हुन चाहेका उनै ओलीलाई टक्कर दिएयता नेता रावल पार्टीको उपेक्षामा पर्दै आएका छन्। 

यो शिलशिला भर्खरै सम्पन्न एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पनि जारी रह्यो। ललितपुरको गोदावरीमा आइतवार सम्पन्न बैठकमा प्रतिनिधि कार्ड नै नदिइएपछि रावल सहभागी भएनन्। आफूलाई पार्टीले प्रतिनिधि कार्डसमेत नदिनुलाई उनले पूर्वाग्रहका साथ आफूमाथि गरिएको निषेधका रुपमा अर्थ्याएका छन्।

औपचारिक जानकारीसमेत नदिइएका रावल सार्वजनिक सूचनाका आधारमा बैठकमा सहभागी हुन खोजेका थिए तर आफूलाई प्रतिनिधि कार्डसमेत नदिइएपछि बैठकमा सहभागी नभएको उनको भनाइ छ।

नेता रावलले थाहाखबरसँग भने, ‘पहिलो कुरा त मलाई बैठकबारे कुनै औपचारिक जानकारी पनि दिइएन। सार्वजनिक सूचनाकै आधारमा जान खोज्दा त्यो वातावरण नबनेपछि म गइनँ।’  

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ भने नेता रावललाई एमालेले निषेध नगरेको जिकिर गर्छन्। बैठकका लागि रावलको कार्ड तयार भएको तर अज्ञात व्यक्तिले लगेर गुमनाम बनाइदिएको गुरुङको तर्क छ।  

‘उहाँलाई निषेध गरिएको होइन। उहाँको कार्ड बनेकै थियो तर कुनै मान्छेले उहाँको कार्ड लगेर गुमनाम बनाइदियो क्या!’, उनले भने, ‘उहाँ आउनुभएको भए कार्ड त बन्न सक्थ्यो तर उहाँ आफैँ आउनुभएन।’ 

करिब साढे दुई वर्षदेखि उपेक्षामा परे पनि रावलले एमाले छाडेका छैनन्। यसपटक पनि बैठकमै निषेध गरिएपछि भने अब कुनै निर्णयमा पुग्नैपर्ने आवश्यकता महसुस गरेको उनले बताए तर कुन बाटो तय गर्ने भन्ने निष्कर्षमा पुगिनसकेको उनको भनाइ छ। 

‘अब राजनीतिक रुपमा पार्टीले यस्तो व्यवहार गरेपछि के गर्ने कसो गर्ने भन्ने प्रश्न आएको छ तर मैले अहिलेसम्म यही भनेर कुनै निर्णय गरेको छैन’, उनले भने, ‘अब एमालेका पनि कार्यकर्ता र देशका देशभक्त नागरिकहरूको पनि के भनाइ छ त्यहीअनुसार अब के गर्ने सोच्नुपर्छ।’ 

‘पार्टीले बेवास्ता गरेको अहिले मात्रै त होइन तर पनि किन एमालेमै हुनुहुन्छ ?’ भन्ने प्रश्नमा नेता रावलले पार्टीलाई सही दिशामा हिँडाउने प्रयासकै लागि पार्टीमा रहेको बताए। 

‘दल भनेको कुनै व्यक्ति विशेषको हुँदैन। यो ठूलो संगठनमा केही देशभक्त मान्छे पनि छन्। यो देशका लागि उपयोगी हुन्छ कि, कार्यकर्ताले पनि महसुस गर्छन् कि, उनीहरू पनि ठिक बाटोमा जान्छन् कि भन्ने अपेक्षाका साथ राजनीतिक, सैद्धान्तिक र राष्ट्रिय हिततर्फ ध्यान आकृष्ट गर्न कार्यकर्तालाई पनि र नेतृत्वलाई पनि झक्झकाउने काम गर्ने प्रयत्न गरेको हुँ’, उनले भने, ‘तर अहिले स्थिति हेर्दा सत्ताको चरम स्वार्थ र यति आहालमा दलहरूले डुबुल्की मार्न थाले त्यसमा सिद्धान्त, आदर्श र गन्तव्य छैन।’  

१०औँ महाधिवेशनबाट अध्यक्षमा पराजित रावललाई एमालेले पछि केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाएको थियो तर आफूलाई नसोधी उक्त पदमा टीका लगाइदिएको भन्दै उनले त्यसलाई अस्वीकार गरेका थिए। 

पार्टीको सक्रिय भूमिकामा नरहेका रावलसँग वार्ता गर्ने भन्दै एमालेले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा १८ चैत ०७९ मा तीन सदस्यीय वार्ता समितिसमेत बनाएको थियो। स्वयं एमाले अध्यक्ष ओलीले पनि रावलसँग छलफल गरेका थिए। 

तर एमालेले त्यसरी वार्ता समिति बनाउनु र अध्यक्ष ओलीसँगको वार्ता नाटक मात्रै रहेको पुष्टि अहिले भएको नेता रावलको टिप्पणी छ।

‘एउटा टोली बन्यो। स्वयं अध्यक्षले पनि कुरा गर्नुभएको हो मसँग’, उनी भन्छन्, ‘तर अहिलेको यो घटनाक्रमबाट के निष्कर्ष निकाल्नुपर्ने बाध्यत्मक स्थिति आएको छ भने ती सबै नाटक थिए।’ 

आफूमाथि भएको नराम्रो व्यवहारलाई लिएर कार्यकर्ताले आलोचना गर्न थालेपछि त्यसलाई रोक्नका लागि मात्रै देखावटी वार्ता समिति बनाइएको रावलको बुझाइ छ।

‘एउटा व्यक्ति देशको पक्षमा, सिद्धान्तको पक्षमा र जनताको बहुदलीय जनवादलाई साँच्चिकै अर्थमा कार्यान्वयन गरौँ भनेर बोल्दा नराम्रो व्यवहार ममाथि गरियो भन्ने कार्यकर्तामाझ पनि चर्चा र आलोचनाको विषय बन्दै गएको थियो’, उनले भने, ‘त्यसैलाई चुप लगाउनका लागि हामी गर्दैछौँ भनेर देखाउन ती सबै एउटा नाटकमात्रै थियो भनेर भन्ने कुरा अहिले परिषद् बैठकमा गरेको व्यवहारले देखाएको छ।’ 

एमाले महासचिव गुरुङ नेता रावलको अहंकारकै कारण पार्टीमा मिलेर अघि बढ्ने वातावरण नबनेको बताउँछन्। उनलाई संगठनमा ल्याउनकै लागि वार्ता समिति बनाइएको भए पनि उनका अफ्ठ्यारा शर्तका कारण अहिलेसम्म सम्भव नभएको गुरुङको दावी छ। 

‘उहाँलाई संगठनमा ल्याउनकै लागि वार्ता समिति बनेकै हो’, उनले भने, ‘तर उहाँका आफ्नै आग्रह र आफ्नै अफ्ठ्यारा कुराहरू छन्। त्यसकारण पार्टीले अझै म्यानेज गर्न सकेको छैन। खासगरी उहाँले अहंकार पाल्नुभएन।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.