काठमाडौँ : नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले राजनीतिक दलका नेतृत्व मठाधीश बनेका कारण लोकतान्त्रिक प्रणालीमाथि टीकाटिप्पणी हुने गरेको बताएका छन्।
मंगलवार काठमाडौँमा आयोजित लोकतान्त्रिक प्रणालीमा नीति, नेतृत्व र नैतिकता विषयक संवाद कार्यक्रममा बोल्दै सांसद पौडेलले दलका नेतृत्वहरू मठाधीश बनेका कारण लोकतन्त्रमाथि प्रश्न उठ्न थालेको बताएका हुन्। उनले अहिलेको लोकतन्त्रमा नीति, नेतृत्व र नैतिकता नै नभएको टिप्पणी गरे। उनले लोकतन्त्रको विकल्प अर्को कुनै शासन प्रणाली नहुने स्पष्ट पार्दै संविधान कार्यान्वयन गर्न नसक्दा लोकतन्त्र कमजोर हुने बताए।
उनले संविधानले कुनै पनि मठाधीश, निरंकुश शासक र सामन्तीको परिकल्पना नगरे पनि नेतृत्वको व्यवहार निरंकुश शासक र सामन्तीको भन्दा फरक नभएको बताए। उनले राजनीतिक दलहरूले आन्तरिक लोकतन्त्र सम्पूर्ण रूपमा प्रयोग नगरेसम्म दलीय व्यवस्था सुदृढ हुन नसक्ने बताए।
पौडेलले भने,‘संविधान कार्यान्वयन गर्ने शैलीमा समस्या भयो भने लोकतन्त्र कमजोर हुँदोरहेछ। संविधानले कुनै पनि मठाधीश र निरंकुश शासकको परिकल्पना गरेको छैन। दलहरूलाई मठाधीशहरूले चलाएका कारण समस्या उत्पन्न भयो।’
उनले लोकतन्त्रलाई विधिको शासनको रूपमा महसुस गराउन र कानूनी राज्य भएको स्थिति निर्माण गर्न दलभित्र व्यापक सुधारको आवश्यकता रहेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।