|

लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकामा बन्द गर्नुपर्ने कानूनलाई अमेरिकी सिनेटले मंगलवार (अमेरिकाको समयअनुसार) अनुमोदन गरेको छ।

टिकटकमाथि प्रतिबन्ध लगाउने यो प्रस्ताव ९५ अर्ब डलरको विदेशी सहायता प्याकेजकै एउटा हिस्साका रुपमा कांग्रेसमा पेश गरिएको थियो। 

उक्त प्याकेजमा युक्रेन, इजराइल र ताइवानलाई सैन्य सहायताको प्रस्ताव थियो। प्रस्ताव कांग्रेसले अनुमोदन गरेपछि अब प्रमाणीकरणका लागि राष्ट्रपति जो बाइडेनको कार्यालयमा पुगेको छ।

अमेरिका र अन्य पश्चिमी अधिकारीहरूले युवामाझ टिकटकको लोकप्रियताप्रति चिन्ता व्यक्त गर्दै यसले चीनलाई तथ्यांक सङ्कलन गर्न र प्रयोगकर्ताहरूको जासुसी गर्ने अनुमति दिने आरोप लगाएका छन्।

अमेरिकामा मात्र टिकटक प्रयोगकर्ताको सङ्ख्या १७ करोड रहेको छ। 

आलोचकहरूले टिकटक चिनियाँ नियन्त्रणमा रहेको र गलत प्रचार फैलाउने एउटा सशक्त माध्यम भएको आरोप लगाएका छन्। चीन र टिकटकको माउ कम्पनी बाइटडान्सले त्यस्ता दावीको कडा खण्डन गरेका छन्। 

कुनै पनि कम्पनीलाई अमेरिकी बजारमा सञ्चालन गर्नबाट रोक लगाउनेजस्तो दुर्लभ कदम चाल्न सकिने उक्त विधेयक प्रतिनिधिसभाले बलियो दुईदलीय (डेमोक्रेट र रिपब्लिकन) समर्थनका साथ पारित गरेको ३ दिनपछि सिनेटले १८ का विरुद्ध ७९ मतले पारित गरेको थियो।

राष्ट्रपति बाइडेनले कानूनमा हस्ताक्षर गर्ने बताएका छन्। उनले यसै महिनाको प्रारम्भमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको टेलिफोन वार्तामा टिकटकबारे आफ्नो चिन्ता व्यक्त गरेका थिए।

शनिवार सदनमा मतदान भएपछि टिकटकले गुनासो गर्दै कानून निर्माताहरूले १७ करोड अमेरिकीहरुको स्वतन्त्र अभिव्यक्ति कुल्चिने, ७० लाख व्यवसाय ध्वस्त पार्ने र अमेरिकी अर्थतन्त्रमा वार्षिक २४ अर्ब डलरको योगदान गर्ने प्लेटफर्म बन्द गर्ने गरि टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक पारित गर्नु ‘दुर्भाग्यपूर्ण’ भएको प्रतिक्रिया दिएको छ। 

विधेयकअन्तर्गत बाइटडान्सले एक वर्षभित्र एप बिक्री गर्नु पर्नेछ वा अमेरिकामा एप्पल र गुगलको एप स्टोरबाट बाहिरिनु पर्नेछ।

पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमातहत अमेरिकाको अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका स्टिभन मेनुचिनले आफू टिकटकलाई अधिग्रहण गर्न इच्छुक रहेको भन्दै लगानीकर्ताहरूको समूह जम्मा पारेका छन्।

टिकटक वर्षौंदेखि अमेरिकी अधिकारीहरूको तारो बन्दै आएको छ। सरकारी अधिकारीहरूले उक्त प्लेटफर्मले चीनलाई अमेरिकामा यसका प्रयोगकर्ताहरूको जासुसी गर्न अनुमति दिएको आरोप लगाउँदै आएका छन्। तर बाइटडान्सले टिकटकमाथिको प्रतिबन्धविरुद्ध अदालतमा मुद्दा हाल्न सक्छ। 

कांग्रेसले पारित गरेको विधेयकले शत्रु मानिएको मुलुकद्वारा नियन्त्रित भएमा अमेरिकी राष्ट्रपतिलाई राष्ट्रिय सुरक्षामाथि खतराका रूपमा लिएर अन्य कदम चाल्ने अधिकार दिन्छ।

सामाजिक सञ्जाल एक्स (ट्विटर)का अर्बपति मालिक एलन मस्कले शुक्रवार टिकटकमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दै भनेका  थिए, “प्रतिबन्ध लगाउनु वाक र अभिव्यक्ति स्वतन्त्रताविपरीत हुनेछ।”

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.