काठमाडौँ : नेपाल पुलिस र एपिएफ क्लब सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन्।
४ टोली सहभागी प्रतियोगिताको लिगमा एपिएफ अपराजित रहँदै फाइनलमा पुगेको हो भने पुलिसले २ खेल जित्यो। लिगमा न्यु डायमण्ड तेस्रो र त्रिभुवन आर्मी चौथो स्थानमा रह्यो। अब यी दुईले तेस्रो स्थानका लागि प्रतिष्पर्धा गर्नेछन्। फाइनल र तेस्रो स्थानको खेल शनिवार नै हुनेछन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रवार सम्पन्न खेलमा पुलिसले आर्मीलाई ३–१ र एपिएफले न्यु डायमण्ड एकेडेमीलाई ३–२ ले हरायो। लिगको अन्तिम खेलमा पुलिसले आर्मीलाई ३–१ हराउँदै ३ खेलबाट ६ अंक बटुल्यो।
पुलिसले आर्मीको चुनौती २५–१९, १७–२५, २५–१५ र २५–१३ ले समाप्त पार्यो। पहिलो खेलमा एपिएफसँग हार बेहोरेको पुलिसले दोस्रो खेलमा न्यु डायमण्डलाई हराउँदै फाइनल पुग्ने सम्भावना कायमै राखेको थियो।
शुक्रवार लिगको तेस्रो खेल पनि जितेपछि पुलिस फाइनलमा पुगेको हो। लिगको अन्तिम खेलमा न्यु डायमण्ड एपिएफसँग ३–२ ले पराजित भएपछि फाइनलमा पुग्न असफल भयो।
३ खेलबाटै एपिएफले ७ अंक बटुल्दा न्यु डायमण्डले ४ अंक प्राप्त गर्यो। यससँगै एपिएफ लिग विजेता र पुलिस उपविजेताका रूपमा फाइनलमा पुगेका हुन्।
एपिएफले न्यु डायमण्डलाई २५–१६, २५–१८, १९–२५,१३–२५ र १५–११ ले हराउँदै अपराजित यात्रा कायमै राख्यो।
चारै टिमले नगद पुरस्कार पाउने छन्। विजेताले ४ लाख ९९ हजार र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार जित्नेछन्। तेस्रो हुने टोलीले १ लाख २५ हजार तथा चौथोले ६२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।