|

काठमाडौँ : निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र ‘माइतीघर’ का अभिनेता सिपी लोहनीको ८६ वर्षको उमेरमा आज दिउँसो काठमाडौँमा निधन भएको छ। सोमवार दिउँसो अन्नपूर्ण न्यूरो अस्पतालमा उनको निधन भएको हो। 

पार्किन्सन तथा अल्जाइमर्स रोगपीडित लोहनी केही दिनअगाडि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय भने निमोनिया संक्रमण भएपछि उनी अस्पतालमै उपचारका क्रममा सोमवार दिउँसो निधन भएको उनको उपचारमा संलग्न डा प्रतीक पौडेलले बताए।

'उहाँमा लामो समयदेखि पार्किन्सन तथा अल्जाइमर्सको समस्या थियो तर पछिल्लो समय निमोनिया संक्रमण भएपछि हामीले भर्ना नै गरेर उपचार गरेका थियौँ तर आज उपचारकै क्रममा उहाँको निधन भयो‚' उनको उपचारमा संलग्न डा पौडेलले भने। 

सीपी लोहनीको नामले चर्चित उनको पूरा नाम चिदम्बरम प्रसाद हो। अभिनेतासँगै गायकसमेत रहेका सिपीको 'माइतीघर' फिल्ममा काम गर्दैगर्दा आफ्नो समयकी चर्चित एवं सफल बलिउड अभिनेत्री माला सिन्हासँग प्रेम बसेपछि विवाह गरेका थिए। 

गीत सङ्गीतमा विशेष रुचि राख्ने लोहनीले सरकारी सेवाअन्तर्गत अर्थ र उद्योग मन्त्रालयमा समेत काम गरेका थिए। उद्योग मन्त्रालयमा रहँदा विराटनगर जुटमिल र रघुपति जुटमिलमा निर्देशकको जिम्मेवारीसमेत सम्हालेका थिए।

'माइतीघर' सन् १९६६ मा रिलिज भएको थियो। ८६ वर्षका लोहनी झ्याउरे गीतबारे विशेष दखल राख्थे।

लोहनीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने परिवारले जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.