|

दैलेख : दैलेखका जंगलहरूमा आगलागीको अवस्था भयावह रहेको छ। सुक्खा मौसमसँगै नागरिक स्तरबाट हुने हेलचक्र्याइँका कारण यहाँका ११ वटा स्थानीय तहका विभिन्न जंगलमा आगलागीको अवस्था भयावह रहेको हो।

दैलेखमा पर्ने ७७ हजार ४७५ हेक्टर जंगलक्षेत्रमध्ये ४५० हेक्टर जंगलक्षेत्रमा आगलागी भएको डिभिजन वन कार्यालय दैलेखले जनाएको छ। दैलेखको कुल क्षेत्रफलको ५२ प्रतिशत जमिन जंगलले ओगटेको छ।

आगलागीका कारण वातावरणमा परेको प्रभावले नागरिक त्यसको प्रत्यक्ष मारमा परेका छन्। आगलागी नियन्त्रणमा सम्बन्धित निकायको चासो देखिदैन। आगलागी नियन्त्रण गर्ने भन्दै डिभिजन वन कार्यालय दैलेखले खरिद गरेको नियन्त्रण सामग्री प्रयोगमा नआई थन्काइएको छ।

केही समयअघि मात्र आगलागी नियन्त्रण सामग्री खरिद गरिएकोे डिभिजन वन कार्यालय दैलेखका सूचना अधिकारी वेदप्रकाश ढकालले बताए। प्रशासनले माग गर्दा उपलब्ध गराउने गरी आगलागी नियन्त्रण सामग्री कार्यालयमा राखिएको ढकालको भनाइ छ।

उनले आगलागी भइसकेपछि नियन्त्रणतर्फ लाग्नुभन्दा आगलागी हुन नदिन सबै सचेत हुनुपर्ने बताए। ‘आगलागी हुन नदिन आमनागरिक सचेत रहनुपर्छ। कार्यालयले विभिन्न सचेतनाका कार्यक्रम गर्दै आएको छ’, सूचना अधिकारी ढकालले भने। 
यहाँको ४५० हेक्टर जंगलमा आगलागी भइसक्दा समेत स्थानीय सरकारले नियन्त्रणतर्फ खासै चासो देखाएका छैनन्। दैलेखका ११ वटा स्थानीय सरकारमध्ये १० वटासँग आगलागी नियन्त्रणका लागि आवश्यक पर्ने दमकल समेत छैन।

विकासका नाममा सडक आतंक मचाएका स्थानीय सरकारहरू विपद् पूर्वतयारीमा योजनाविहीन छन्। यहाँको नारायण नगरपालिकाले मात्र आगलागी जस्ता विपद्मा दमकलको प्रयोग गर्ने गरेको छ। दुल्लु नगरपालिकाले आगलागी नियन्त्रणका लागि एक मेसिनको प्रयोग गर्दै आएको नगरप्रमुख भरतप्रसाद रिजालले बताए।

यहाँका अन्य आठबीस नगरपालिका, ठाटिकाँध गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका,भैरवी गाउँपालिका, महाबु गाउँपालिका, नौमूले गाउँपालिका, भगवतीमाई गाउँपालिका, डुंगेश्वर गाउँपालिका र गुराँस गाउँपालिकाले दमकलको व्यवस्थापन गरेका छैनन्। 

यसैगरी जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार अघिल्लो वर्ष जिल्लामा १८ वटा आगलागीका घटना भएका थिए। अघिल्लो वर्ष ९ घर र ३ गोठमा आगलागी हुँदा ३ जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए।

गतवर्ष आगलागीमा परी ३ जना पुरुष, ६ जना महिला, १ जना बालक र १ जना बालिका घाइते भएका दैलेख प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गतवर्ष मात्र आगलागीमा परी १६ पशु चौपाया मरेका थिए भने २१ लाखभन्दा बढीको आर्थिक क्षति भएको थियो।

यस वर्षको हालसम्म दैलेखका १३ ठाउँमा आगलागीका घटना भएका छन्। आगलागीमा १५ लाखभन्दा बढीको आर्थिक क्षति हुनुका साथै ३ पशु चौपाया मरेका प्रहरीको विवरणमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.