|

काठमाडौं : व्यवस्थापिका संसदको मंगलबारको बैठकमा सांसदहरुले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको सोमबार काठमाडौंमा भएको हत्याबारे छानबिन गर्न माग गरेका छन्। संसद बैठकमा बोल्दै सांसदहरुले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको भन्दै यस घटनाको छानबिन गर्न माग गरेका छन्।

उनीहरुले यो घटनाले चुनाव प्रभावित पार्न सक्ने भन्दै सजग हुन समेत सरकारको ध्यानाकर्षण गराएका छन्। कांग्रेस सांसद दीपक गिरीले यो घटनाको बारेमा गृहमन्त्रीले संसदमा जानकारी दिनुपर्ने बताए।

कांग्रेस सांसद रोमी गौचन थकालीले सरकारले गौचनको दाहसंस्कार गर्ने वातावरण पनि नबनाएको आरोप लगाए। परिवारका सदस्यले दोषी पहिचान नभएसम्म शव नउठाउने भन्दै गौचनको दाहसंस्कार पनि गरेका छैनन् । सांसद गौचनले सुरक्षा निकायका उच्च अधिकृतहरु नै भ्रष्टाचारको चंगुलमा परेको र धम्कदेखि डराएकाले घटनाको अनुसन्धान अघि बढ्न नसकेको आशंङ्का गरे। उनले राजनीतिक प्रभाव, धम्की के कारणले हो छानबिन अघि नबढेको भनी प्रश्न समेत गरे।

नेकपा एमालेका सांसद जनार्दन ढकालले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको आरोप लगाए। नेकपा माओवादी केन्द्रका सांसद रामनारायण विडारीले घटनाको छानबिन गर्न र शान्ति सुरक्षा कायम गर्न सरकारसँग माग गरे।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले घटनामा विदेशीको हात रहेको हुन सक्ने भन्दै छानबिन गर्न सरकारसँग माग गरे। सांसदहरु योगेन्द्र चौधरी, रुक्मिणी चौधरी लगायतले पनि गौचन हत्याको छानबिन गर्न माग गरेका छन्। सोमबार काठमाडौंको बानेश्वरमा नचिनेका मानिसको गोली लागेर निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.