काठमाडौं: स्वास्थ्य मन्त्री गगन थापाले आफू स्वास्थ्य क्षेत्रमा रहेका वेथिती र अनियमितता सुधार गर्ने मिसन लिएर आएको बताएका छन्। बिहीबार स्वास्थ्य मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै थापाले आफू अनियमिता नगर्ने र कसैलाई गर्न पनि नदिने दावी गरे। 'स्वास्थ्य क्षेत्रको सुधार भनेको यहाँभित्र हुँदै आएको अनियमितता रोक्ने हो, त्यसैले मैले कुनै अनियमिता गर्दा पनि गर्दिन र गर्न पनि दिन्न' उनले भने।
स्वास्थ्य मन्त्री थापाले त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीसँग भएको सहमति अनुसार मनमोहन मेडिकल कलेजको भौतिक संरचना चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले किन्ने प्रक्रिया अगाडि बढेको जानकारी दिएका छन्। उनले भने 'डा. गोविन्द केसीसँग सरकारले गरेको सहमति अनुरुप मनमोहन कलेज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले किन्ने कुरा अघि बढि सकेको छ, भने अन्य मागहरु पनि पुरा गर्न आफूले सक्दो सहयोग गर्नेछु।'
मन्त्री थापाले आफूले १०० दिनभित्र जनताले स्वास्थ्य क्षेत्रको नीतिगत र कार्यगत रुपमा सुधार भएको महसुस हुने गरी काम गर्ने भन्दै स्वास्थ्य मन्त्रालयका सबै बिभागहरुलाई कार्य योजना पेश गर्न निर्देशन दिइसकेको बताए।
सरकारले निशुल्क वितरण गर्ने औषधीको देशभरीको मौज्दातको अवस्था बुझ्ने काम अघि बढाएको बताए। 'सरकारले जनतालाई दिने निशुल्क औषधीको अब कतै अभाव हुँदैन, त्यसका लागि हामी तत्कालै औषधीको मौज्दात बुझेर काम अगाडि बढाउछौं' उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।