|

रुपन्देही : गत वर्ष पुसमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भयो, त्यसको एक वर्षपछि ज्यान लिने धम्की खेप्दै आएका युवा संघका कार्यकर्ता बसन्त पौडेलको हत्या भयो। यी दुई हत्याको प्रकृति, हत्याको जिम्मा लिने र त्रास फैलाउने व्यक्ति एउटै हुन्।

त्यतिमात्रै हैन, हत्यापछिका घटनाक्रम पनि उस्तै छन्। तिवारी हत्यामा प्रयोग भएको मोटरसाइकलको नम्बर नक्कली थियो भने पौडेल हत्यामा प्रयोग भएको मोटरसाइकल पनि नक्कली रुपमा प्रयोग भएको प्रहरीले बताएको छ। घटनाक्रममा समानता देखिएपछि प्रहरीमाथि अनुसन्धानका लागि ठूलो चुनौती खडा भएको छ। अघिल्लो घटनाको छिनोफानो नहुदै अर्को हत्याले प्रहरी अनुसन्धानमा अर्को दबाब थपेको छ। 

त्रास र आक्रोश उस्तै 

गत वर्ष दुर्गा तिवारीको हत्याको केही मिनेटभित्रै आफू मलेसियामा रहेको बताउने देवदहकै बासिन्दा मनोज पुनले टेलिफोन गरेर हत्या आफुले गरेको बताएका थिए। यही शैलीमा पौडेलको हत्यापछि पनि उनले फोन गरेर हत्याको जिम्मा लिएका छन्। 

देवदह र आसपासका क्षेत्रमा चन्दा आतंक मच्चाउँदै आएको पुनको समूहका कारण त्रास फैलिएको छ। स्थानीयले सुरक्षाका लागि प्रशासनलाई दबाब दिइरहे पनि ज्यान लिने धम्की र चन्दाको त्रास हटेको छैन। 

‘प्रहरीले दुर्गा तिवारीको हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन, त्यसपछि फेरि त्यही ठाउँमा त्यही शैलीमा बसन्त पौडेलको हत्या भएको छ', एमाले उपमहासचिव तथा रुपन्देही २ का सांसद विष्णु पौडेल भन्छन् ‘प्रहरीले घटनाबारे जसरी चासो दिनुपर्ने थियो, त्यसरी दिइरहेको छैन।’ 

अनुसन्धानका लागि सीआइबी र स्थानीय टोली

तिवारीको हत्यापछि व्यापक खोजतलास र अनुसन्धान गरेको बताएपनि प्रहरीले मुख्य योजनाकार र सुटरलाई पक्राउ गर्न सकेको छैन। प्रहरीले भने घटनाको सुक्ष्म ढंगले अध्ययन भइरहेको बताएको छ। रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवाली भन्छन् ‘हामीले सुक्ष्म ढंगले अनुसन्धान जारी राखेका छौं, प्रहरीले सबै हिसाबले प्राथमिकताका साथ अनुसन्धान गरिरहेको छ।’

अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय, भैरहवाले प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको छ। टोलीले नेटवर्किङ, सम्भावित सूचनाहरु, यसअघिका घटनाक्रमहरुलाई आधार मानेर अध्ययन थालेको जिल्ला प्रहरी प्रवक्ता डिल्लीनारायण पाण्डेले बताए।

प्रहरीले देवदह भलुही जंगलमा लु ४ प १४ नम्बरको मोटरसाइकल फेला पारेपनि नम्बर प्लेट नक्कली रुपमा प्रयोग गरेको पाइएको बताएको छ। सोही घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले एसएसपीको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ। सीआइबी प्रमुख डीआइजी पुष्कर कार्कीले घटनाको अध्ययन भइरहेको र ४ दिनभित्रमा केही रिपोर्ट ल्याउने बताए।

‘अनुसन्धानको काम हामीले अघि बढाइरहेका छौं, म काठमाडौंमै बसेर पनि त्यो घटनाको अध्ययन गरिरहेको छु', उनले भने 'स्थलगत रुपमा अर्को टोली खटाएको छु, हामीले कुनै हिसाबले पनि अनुसन्धानलाई बाँकी राखेका छैनौं।’

कनेक्सन खोज्दै प्रहरी

दुर्गा तिवारीको हत्या र बसन्त पौडेलको हत्याका घटनाक्रमहरुलाई पनि जोडेर अध्ययन गर्ने र त्यसको जिम्मा लिने व्यक्ति र त्यसबाहिरको पाटोलाई पनि सुक्ष्म ढंगले अध्ययन भइरहेको प्रमुख कार्कीले बताए। ‘हामीले देवदहको यसअघिको घटनामा पनि निरन्तर अनुसन्धान गरिरहेका छौं, केही व्यक्तिहरु पक्राउ पनि परेका छन् र केही बाँकी छन्' उनले भने 'अनुसन्धान भनेको सजिलै पूरा हुँदैन, कि शून्य हुन्छ कि त १०० हुन्छ, हामीले शुरु गरेका छौं, प्रारम्भिक रिर्पोट केही दिनभित्रमै आउँछ।’ 

सीआइबीले दुर्गा तिवारी हत्यामा संलग्न भएको आरोपमा समिरमान सिंह बस्न्यातलाई पक्राउ गरेको छ। सिआइबीले मंसिर १६ गते काठमाडौं महानगरपालिका १३ स्थायी घर भएर विदेशमा बस्दै आएका उनलाई चितवनबाट पक्राउ गरेको थियो। बस्न्यातलाई तिवारी हत्याकाण्डको मुख्य योजनाकार भएको सीआइबीको रिर्पोटमा उल्लेख छ। रिर्पोट भन्छ 'दुर्गा तिवारीलाई गोली प्रहार गर्ने लोप्साङ लामा थिए र समिरमान सिंह बस्न्यातका मुख्य सहयोगी हुन्।’ 

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा समेत जोडिएकामध्ये मनोज पुन, लोप्साङ लामा लगायतका व्यक्ति तिवारी हत्यामा संलग्न रहेको सीआइबीको रिपोर्टमा उल्लेख छ। तिवारी र गौचन हत्याको कनेक्सनसँगै जोडिन आएको पौडेल हत्याबारे सीआइबी प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ भन्छन् 'घटनालाई सबै ढंगले, सबै कोणबाट अनुसन्धान भइरहेको छ।’ 

हत्यारा पक्राउ गर्न माग

भैरहवामा क्रियाशील राजनीतिक दल, उद्योगी–व्यवसायिक संघसंस्था, समाजिक संघसंस्था र पेशागत संघसंस्थाले व्यवसायी बसन्त पौडेलको हत्यारालाई पक्राउ गरी कडाभन्दा कडा कारबाहीको माग गरेका छन्। भैरहवामा शनिबार सर्वपक्षीय बैठकको आयोजना गरी उनीहरुले अज्ञात समूहद्वारा शुक्रबार देवदहमा हत्या गरिएका व्यवसायी बसन्त पौडेल परिवारप्रति समवेदना प्रकट गर्दै हत्यारा पत्ता लगाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह समेत गरेका छन्।

बैठकपछि राजनीतिक दल, संघसंस्था र पेशागत संस्थामा आवद्ध ११ वटा संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै पौडेल हत्याको भत्र्सना गरेका हुन्। विज्ञप्तिमा भनिएको छ ‘व्यवसायी पौडेलेको हत्या अपराधिक, जघन्य, निन्दनीय हत्या हो, यसको हामी जति भत्र्सना गरे पनि हुँदैन। यद्यपी अपराधीलाई प्रहरी प्रशासनले छिटोभन्दा छिटो कानुनी कठघरामा ल्याओस्।’

यी संघसंस्थाहरुले हत्यारालाई कारबाहीको दायरामा नल्याउँदासम्म शान्तिपूर्ण आन्दोलन गर्ने, प्रशासनलाई दबाब दिने, अन्य दबाबमूलक कार्यक्रम गर्ने जनाएका छन्। विज्ञप्तिमा कांग्रेसका जिल्ला कोषाध्यक्ष दीपक क्षेत्री न्यौपाने, एमाले सिद्धार्थनगर अध्यक्ष रामबहादुर श्रेष्ठ, माओवादी केन्द्रका नगर अध्यक्ष चोपलाल आचार्य, संघीय समाजवादी फोरम नेपालका नगर अध्यक्ष अर्जुन जैसवाल, राप्रपा प्रजातान्त्रिकका अजयकुमार गुप्ता, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारी, गैसस महासंघ रुपन्देहीका अध्यक्ष गोविन्दप्रसाद रेग्मी, प्याब्सनका केन्द्रीय सदस्य विष्णु पन्थी, नेपाल बार एसोसिएसनका शेषनारायण भण्डारी, सिद्धार्थ एसोसिएसन अफ ट्राभल्स एजेण्ट (साट्टा) का अध्यक्ष चन्द्रबहादुर थापा र सिद्धार्थ उद्योग वाणिज्य संघकोतर्फबाट विजय पाण्डेले हस्ताक्षर गरेका छन्। 

सर्वपक्षीय छलफलमा हितराज पन्थी, जीवलाल अर्याल, विश्वास बराल, हरिप्रसाद अधिकारी, राजेन्द्रप्रसाद पन्थी, भरतकुमार पोखरेल, उमा काफ्ले, तारापति भण्डारी, मुरारीलाल अग्रवाल, रामबहादुर बस्नेत, घनश्याम विश्वकर्मा, सूर्यकान्त घिमिरे लगायतको उपस्थिति रहेको थियो।

हत्याको विरोधमा बन्द, रोकिएन आन्दोलन

पौडेल हत्याको विरोधमा युवा संघ रुपन्देहीले आन्दोलन जारी राखेको छ। युवा संघको आह्वानमा भएको रुपन्देही बन्दका कारण जनजीवन प्रभावित भएको छ। हत्यामा संलग्नलाई पक्राउ नगरेसम्म आन्दोलन जारी रहने युवा संघ रुपन्देहीका अध्यक्ष नकुल शाहीले बताए। ‘आइतबार पनि बन्द कायमै रहन्छ', उनले भने 'प्रशासनले हत्याराको खोजी र अनुसन्धानलाई तीब्र बनाउनुपर्‍यो र पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्‍यो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.