|
Photo : reportersnepal.com

चिरञ्जिबी घिमिरे

दमक : झापाको माईपश्चिम क्षेत्रका चिया पसल तथा किराना पसलका सञ्चालकहरुले अन्तशुल्कको इजाजत नलिई मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री गर्ने गरेका छन्। 

करदाता सेवा कार्यालय दमकका अनुसार अन्तशुल्क इजाजत लिएर मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्ने व्यवसायीभन्दा इजाजत नलिई बिक्रीवितरण गर्ने व्यवासायीको संख्या बढी छ। करदाता सेवा कार्यालय दमकका प्रमुख पुष्कलराज प्रसाईका अनुसार अन्तशुल्क इजाजत लिएर १ हजार १६ व्यवसायीले मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री वितरण गरिरहेका छन्। यस्तै, करिब १५ सय व्यवसायीले अन्तशुल्क इजाजत नलिई मदिराजन्य पदार्थ बिक्री वितरण गरिरहेको कार्यालय प्रमुख प्रसाईले जानकारी दिएका छन्। उनले यस्ता पसलहरूलाई करको दायरामा ल्याउने काम भइरहेको बताए।

उनका अनुसार इजाजत लिएका मदिरा पसलहरुले धेरै जसो नियम विपरित मदिराजन्य पदार्थ बिक्रीवितरण गरिरहेका छन्। किराना पसलहरुले मदिराको बिक्री वितरण गर्दा मदिरा तथा सुर्तीजन्य पदार्थ र किरानाका सामग्री एकै ठाउँमा राख्न नमिल्ने, ठूला होटलहरु तथा मदिरा बिक्री हुने पसलमा बिहान १० बजेदेखि राती १० बजेसम्म मात्र मदिरा बेच्न पाउने लगायतका नियम भए पनि धेरै ब्यवसायीले नियमको पालना नगर्ने गरेको प्रसाईले बताए। 

कार्यालयले माईपश्चिमका ३ नगरपालिकासहित ९ वटा गाविस हेर्ने गर्छ। जसमध्ये ग्रामिण क्षेत्रका धेरै मदिरा बेच्ने पसलहरुले इजाजत नलिएको उनले बताए। ग्रामिण क्षेत्रमा चिया पसलदेखि किराना पसलसम्म मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री वितरण हुने भएकाले करको दायरामा ल्याउने मुस्किल भएको प्रसाईको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.