काठमाडौं : शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'पिँजडा ब्याक अगेन'को दुई दिने कलेक्सन सार्वजनिक भएको छ। वितरक गोपालकाजी कायस्थबाट प्राप्त विवरणअनुसार यो फिल्मले दुई दिनमा ६६ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको छ।
वितरक कायस्थका अनुसार फिल्मले राजधानीमा शुक्रबार १२ लाख र शनिबार २६ लाख रुपैयाँको व्यापार गरेको हो। यस्तै, यस फिल्मले मोफसलबाट दुई दिनमा २८ लाख रुपैयाँको व्यापार गरेको बताइएको छ। मोफसलमा बिहीबार रिलिज भएको यो फिल्मको बिहीबारको कलेक्सन भने जोडिएको छैन।
शनिबार राजधानीमा सिंगल स्क्रिन हाउसफुल बनेका थिए। दर्शक प्रतिक्रिया लिन हलमा पुग्दा अभिनेता निखिल उप्रेती र अभिनेत्री सारा शिर्पाली दर्शकबाट घेरिएका थिए। 'फिल्म हेर्ने दर्शकले दिएको प्रतिक्रियाबाट एकदमै उत्साहित छौँ', निखिलले भने, 'एउटा कलाकारको सफलता भनेको नै दर्शकको मन जित्नु हो।' त्यस्तै साराले पनि दर्शकबाट पाएको साथबाट आफू एकदमै उत्साहित भएको बताइन्।
माघ महिनाको चिसोका कारण पनि फिल्मको व्यापारमा कमी भएको निर्देशक हिमाल केसीको भनाइ छ। भन्छन्, 'चिसोकै कारण बिहानी शोमा दर्शकको उपस्थिति उल्लेख्य रहेन, तर दिउँसोको शोमा भने दर्शकबाट 'पिँजडा ब्याक अगेन'लाई साथ मिलेको छ। सन्तुष्ट छु।'
श्रीराम बरालको प्रस्तुतिमा तयार फिल्ममा गोविन्द गैरे र रोहित पुरीको लगानी छ। पारिवारिक कथामा निर्माण भएको फिल्ममा निखिल र सारासँगै ज्याक श्रेष्ठ, भोलाराज सापकोटा, प्रदीप दाहाल, पुकार भट्टराई, कुशाग्र भट्टराई, सुन्दर श्रेष्ठलगायतको अभिनय रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।