|

तीन खेलको टी-२० सिरिजअन्तर्गत सोमबार भएको पहिलो खेलमा आयोजक न्युजिल्याण्डले पाकिस्तानलाई ७ विकेटले हराएको छ। यसअघि टेस्ट र एकदिवसीय सिरिज कब्जा गरेको न्युजिल्याण्डले टी-२० क्रिकेटमा पनि विजयी सुरुवात गरेको हो।

पहिलो ब्याटिङ गरेको पाकिस्तान खराब प्रदर्शनको सिकार भयो। पाकिस्तानका लागि दुई खेलाडीले मात्र दोहोरो रनको स्कोर तयार गरेका थिए। १५ रन जोड्दा ३ विकेट गुमाएको पाकिस्तानका लागि बाबर अजामले ४१ रनको इनिङ खेल्दै पाकिस्तानलाई सम्हाल्ने कोशिस गरे। तर, अर्को छेउबाट निरन्तर विकेट पतन नरोकिएपछि पाकिस्तान १ सय ५ रन जोड्दा अलआट भयो।

अर्को दोहोरो रनको स्कोरका रूपमा हसन अलीको २३ रन महत्वपूर्ण रह्यो। अलीले १२ बलमा २३ रन प्रहार गरे, जहाँ उनको ३ छक्का सामेल थियो। यसअघि ४१ रन बनाएका अजामले ४१ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरेका थिए।

पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा सेथ रान्स र टिम साउथीले ३-३ विकेट लिए। कसिलो बलिङ गरेका साउथीले ४ ओभर बलिङ गर्दै १३ रन खर्चेर ३ विकेट लिए। त्यस्तै, रान्सले पनि समान ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर ३ विकेट नै लिए। त्यस्तै, मिचेल सेन्टनरले २ विकेट लिँदा कोलिन मुन्रो र अनरु किचेनका नाममा समान १-१ विकेट रह्यो।

१ सय ६ रनको झिनो लक्ष्य लिएर मैदानमा उत्रिएको न्युजिल्याण्डले २५ बलअगावै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। ओपनर मार्टिन गुप्तिल २ तथा ग्लेन फिलिप्स ३ रनमा आउट भए पनि अर्का ओपनर कोलिन मुन्रो र रोस टेलरले चौथो विकेटका लागि अविजित ४९ रनको साझेदारी गरे। मुन्रोले ४३ बलमा ३ चौका र २ छक्काको मद्दतमा ४९ रन बनाउँदा टेलर १३ बलमा ३ चौकाको मद्दतमा २२ रन बनाएर क्रिजमा रहे। त्यस्तै, टोम ब्रुसले २६ रनको योगदान दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.