|

बुटवल : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले अख्तियारले सातै प्रदेशमा प्रदेशस्तरीय कार्यालय सञ्चालन गरेर विकास निर्माण र जनप्रतिनिधिका काममा निगरानी राख्ने बताएका छन्। उनले स्थानीय तहदेखि नै निगरानी गर्न मातहतका कर्मचारीलाई निर्देशन पनि दिएका छन्। 

प्रदेश सरकार गठन भइरहँदा स्थानीयस्तरमा हुने विकास आयोजनामा अनियमितता हुन सक्ने भन्दै उनले कर्मचारीलाई चनाखो बन्न निर्देशन दिए। ‘अबको ध्यान प्रदेश र स्थानीय सरकारको कामकारबाहीमा हुनुपर्छ’, उनले भने।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै प्रमुख आयुक्त बस्न्यातले प्रशासन चलाउने प्रक्रिया सिक्दै गरेका जनप्रतिनिधिबाट हुन सक्ने गल्तीहरूमा निजामती कर्मचारीसँगै विशेषगरी आयोगका कर्मचारीहरू बढी सचेत हुनुपर्ने बताए। ‘अब गर्ने कामहरूको योजना अहिल्यै बनाएर ल्याउनुस्, भ्रष्टाचार घटाउँदै सदाचार ल्याउनु पहिलो दायित्व हो’, उनले भने।

प्रमुख आयुक्त बस्न्यातले भ्रष्टाचार नियन्त्रण गर्नमा अख्तियारको एक्लो भूमिकाले सम्भव नहुने भन्दै यसमा निजामती कर्मचारी र पत्रकारहरूको महत्त्वपूर्ण भूमिका हुनुपर्ने बताए। अख्तियारले संघीय संरचनाअनुरूप प्रादेशिक कार्यालयहरू पनि स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिए। हाल दशवटा क्षेत्रमा रहेका कार्यालयलाई निकट भविष्यमै सात प्रदेशमा ढालिने उनले बताए।

‘हामी प्रत्येक प्रदेशमा भवन निर्माण गरिराखेका छौँ, अब सातवटै प्रदेशमा आयोग आउनेछ’, उनले भने। आयोगको काम संघीय संरचनामा झन बढ्ने भन्दै उनले त्यसको हरेक प्रकारबाट तयारी भइरहेको जानकारी दिए। 

भवन उद्घाटन कार्यक्रममा बोल्दै अख्तियारका सचिव राजन खनालले देशको धेरै बजेट खर्च हुने स्थानीय सरकारको विकास निर्माणमा अख्तियारका कर्मचारीको ध्यान जानुपर्ने धारणा राखे।

कार्यक्रममा प्रदेश– ५ का प्रमुख सचिव शंकर पाठकले प्रदेश– ५ लाई भ्रष्टारमुक्त बनाउन आफ्नो महत्त्वपूर्ण काम हुने बताए। भाडाको घरमा बस्दै आएको अख्तियारले सडक विभाग परिसरमा दुईवटा भवन बनाएको हो। अख्तियार पोखरा कार्यालयका प्रमुख यदुप्रसाद पन्थीका अनुसार भवन पाँच करोड ८८ लाख रुपैयाँको लागतमा निर्माण भएको हो। अख्यियारले सातै प्रदेशमा नयाँ भवन निर्माण गरिरहेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.