|

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले दलको विधान परिमार्जनसहित पारित गरेको छ। सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले एक तिहाई महिलाको प्रतिनिधित्व हुने गरी २४ सदस्यीय संसदीय दल कार्य समिति बनाउने निर्णय गरेको छ।

दलले पारित गरेको सो विधान अनुमोदनको लागि पार्टी केन्द्रीय कार्य समितिमा पठाइने सांसद डा. मिनेन्द्रप्रसाद रिजालले जानकारी दिए। डा. रिजालको संयोजकत्वमा गठित ३ सदस्यीय मस्यौदा समितिले दलको नेताले कार्य समितिमा ५ जना मनोनित गर्ने अधिकार दिएको छ।

संसदीय दल कार्य समितिमा १ जना दलको नेता, प्रत्येक प्रदेशबाट १ जनाको दरले ७ जना, एक तिहाई महिलासहित समानुापतिक आधारमा निर्वाचित ११ जना सदस्य र दलको नेताले मनोनित ५ जना सदस्य रहने व्यवस्था विधानले गरेको छ। संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतक, सचिव, कोषाध्यक्ष र प्रवक्ताको चयन भने दलका नेताले गर्ने छन्।

विधानमा प्रतिनिधिसभाको सदस्य जो दलको नेतामा निर्वाचित हुन्छ उसैले राष्ट्रियसभाका लागि संसदीय दलको सदस्यबाट दलको नेता मनोनित गर्ने प्रावधान राखिएको छ।

मतदानमा राष्ट्रियसभा सदस्यले मतदान गर्न नपाउने

विधानमा संसदीय दल वा कार्य समितिको निर्वाचन गर्दा सर्वसम्मतले नेतृत्व चयन गर्न नसकेर मतदान प्रकृया अपनाउनु परेमा राष्ट्रियसभाका सदस्यले मतदानमा भाग लिन नपाउने व्यवस्था गरिएको छ। यसअघि कांग्रेस संसदीय दलको विधानमा एक सदनात्मक संसद रहेकोले १ जना मात्र संसदीय दलको नेता हुने व्यवस्था थियो।

राष्ट्रपति भण्डारीको कदम असंवैधानिक

राष्ट्रपति विद्या भण्डारीले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्य मनोनयनका लागि गरेको कार्यान्वयन नगर्नुलाई कांग्रेस संसदीय दलले असंवैधानिक कदम भएको ठहर गरेको छ।

बैठकपछि सञ्चारकर्मीसँग सांसद डा. रिजालले भने ‘संविधान बमोजिम मन्त्रिपरिषद्ले गरेका निर्णय र सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यान्वयन नगर्नु असंवैधानिक कदम हो। त्यसको कांग्रेसले घोर आपत्ति जनाएको छ।' 

मन्त्रिपरिषदद्वारा ३ जनालाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष पेश गरेकोमा त्यसलाई फिर्ता गरी केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ नाम सिफारिस गर्नासाथ राष्ट्रपतिले अनुमोदन गर्नु पूर्वाग्रही व्यवहार भएको कांग्रेसले ठहर गरेको छ। त्यस्तो सरकारको सिफारिस गर्ने निर्णय सच्याउने गरी सर्वोच्च अदालतबाट न्याय  सम्पादन हुने विश्वास कांग्रेसले गरेको डा. रिजालले बताए।  

बैठकले प्रदेश २ मा स्थानीय तहमा र प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन मुलुकभर गराउन सफल भएकोमा शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विषेश धन्यवाद दिने निर्णय गरेको छ। कांग्रेस संसदीय दलको बैठक शनिबार विहान ९ बजे र दिउँसो ३ बजे गरी २ पटक बसेको थियो। बैठकमा प्रतिनिधिसभाको निर्वाचनमा पराजित नेता रामचन्द्र पौडेल भने दलको बिहानको बैठकमा उपस्थित थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.